इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने संभावना बढ्यो , हमासको प्रस्ताव छिट्टै स्वीकार गर्न अमेरिकी बिदेशमन्त्रीको आग्रह


प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार

इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । ६ महिनाको युद्धपछि युद्धविरामको संभावना बढेको हो । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ ।

इजिप्ट, कतार र अमेरिका मिलेर हमास र इजरायलबीच युद्धविराम गराउने प्रयास गरिरहेका छन् । उक्त प्रस्तावमाथि छलफल गर्न तीन देशले गत शुक्रबार इजरायलमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएका थिए । अब दुई देशबीच युद्धविरामको विषयमा कायरोमा वार्ता हुनेछ ।

हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ ।

अर्कोतर्फ अमेरिकी विदेशमन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताउनु भएकोछ । एन्टोनी ब्लिन्केन वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन साउदी अरेबिया पुग्नु भएको थियो । त्यहाँ उहाँले हमास र प्यालेस्टाइनको विषयमा कुरा गर्नुभएको छ ।

हमास र इजरायल बीचको युद्धविराम सम्झौता र बन्धकहरूको रिहाइसँग सम्बन्धित विवरणहरू खुलाइएको छैन। यद्यपि, केही मिडिया रिपोर्टहरूका अनुसार यसले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्ने कुरा गरेको छ । बदलामा इजरायलले जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ ।

६ महिनाको युद्धमा इजरायलले रफाह बाहेक सम्पूर्ण गाजा कब्जा गरेको छ । रफाहमा आक्रमण गर्नुअघि इजरायलले हमासलाई सम्झौताको अन्तिम मौका दिएको थियो ।

हमासले सम्झौता स्वीकार नगरे इजरायलले रफाहमा ठूलो हमला गर्ने बताएको थियो । हाल रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् । एजेन्सीहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com