भेनेजुएलाका तेल ट्याङ्करमाथि अमेरिकाद्वारा नाकाबन्दी


प्रकाशित मिति : पुस १, २०८२ बुधबार

अमेरिकाले भेनेजुएलातर्फ आउने र जाने तेल ट्याङ्करहरूमाथि कडा नाकाबन्दी लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सामुद्रिक मार्गमा तेल ढुवानी रोक्न नाकाबन्दीको आदेश दिएको घोषणा गरेका हुन्।

यो कदमले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको शासनमाथि दबाब बढाउने र उक्त क्षेत्रमा अमेरिकी सैन्य अभियानको रणनीतिक उद्देश्यलाई बल पुर्‍याउने संकेत गरेको छ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ पोस्टमार्फत उक्त क्षेत्रमा ठूलो मात्रामा अमेरिकी सैन्य शक्ति तैनाथ गरिएको र आवश्यकता परे थप फौज पठाइने बताएका छन्। उनले मादुरो शासनलाई लक्षित गर्दै भेनेजुएलाले अमेरिकाबाट ‘चोरेको’ भनिएको भूमि, तेल र सम्पत्ति फिर्ता गर्नुपर्ने दाबीसमेत गरेका छन्।

“भेनेजुएला दक्षिण अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो नौसैनिक फौजद्वारा पूर्ण रूपमा घेरिएको छ। यो घेराबन्दी अझ सशक्त हुँदै जानेछ र उनीहरूले अहिलेसम्म भोग्दै नभोगेको झड्का महसुस गर्नेछन्,” ट्रम्पले दाबी गरेका छन्। उनले अगाडि भनेका छन्, “अमेरिकाबाट पहिले चोरी गरिएका सबै तेल, भूमि र अन्य सम्पत्ति फिर्ता नगर्दासम्म यो दबाब अभियान जारी रहनेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस वर्ष लगाइएका नयाँ प्रतिबन्धहरू र गत साता भेनेजुएलाको तेल बोकेको एक ट्याङ्कर जफत गरिएपछि त्यहाँको तेल क्षेत्र पहिले नै कमजोर अवस्थामा थियो। भेनेजुएला सरकारले भने ट्रम्पको यस घोषणालाई “लापरबाहीपूर्ण र गम्भीर खतरा” भन्दै कडा आलोचना गरेको छ।

ट्रम्पको यो घोषणाले उनको ध्यान भेनेजुएलाको तेल स्रोततर्फ केन्द्रित रहेको स्पष्ट पारेको छ। उनले मादुरो सत्ताबाट हटेपछि अमेरिकाले भेनेजुएलाको तेलमा पहुँच पाउनुपर्ने तर्क गर्दै आएका छन्।

सन् १९७० को दशकमा भेनेजुएलाले तेल क्षेत्रलाई राष्ट्रियकरण गर्नुअघि त्यहाँ अमेरिकी कम्पनीहरूको ठूलो उपस्थिति थियो। ट्रम्पले अमेरिका पुनः भेनेजुएलाको तेल उद्योगमा फर्कन चाहेको कुरा खुला रूपमै व्यक्त गर्दै आएका छन्।

भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार छ। तर, अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण यसको उत्पादन क्षमता निकै कम छ। हाल देशको अधिकांश तेल चीनतर्फ निर्यात हुने गरेको छ। अमेरिकी सरकारले सन् २००५ देखि नै भेनेजुएलामाथि विभिन्न चरणमा प्रतिबन्धहरू लगाउँदै आएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com