गंगामाया न्यायको लागी एउटी तड्पिरहेकी छन्


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

युद्धमा असंलग्न छोरो मारियो । जायजेथा हरण गरियो । सँगै शैय्यामा सुतेका श्रीमान् निचेष्ट भए । अर्को छोरो बेपत्ता भयो । पुत्र वियोग संसारको सबैभन्दा ठूलो वियोग हो । एउटी आमा तड्पिरहेकी छन् १४ वर्षदेखि । उनको दैनिकी नियाल्दा पनि अनुभूत गर्न सकिन्छ– पुत्र शोकको जलन कत्तिको हुन्छ ।
वियोगान्त चलचित्रमा समेत विरलै देख्न पाइने यो दृश्य एउटी आमाले दश वर्षकै अन्तरालमा भोगिन्, बेहोरिन् ।
तैपनि थाकेकी छैनन् र न्याय पाउने आशमा हल न चल भएर अस्पतालको शैय्यामा कष्टपूर्वक सास फेरिरहेकी छन् ।

वीर अस्पतालको आईसीयू वार्ड । शैय्या नम्बर ७ । गोरखा फुजेलकी गंगामाया अधिकारीले आमरण अनशन सुरू गरेको ६ वर्ष भइसकेको छ । ६ वर्षको अन्तरालमा अधिकारी परिवार देश–विदेशका समाचारका हेडलाइन बने । मानव अधिकारवादी संघसंस्थाको छलफलको अजेन्डा बने तर उनीहरूको माग ज्युँका त्युँ रह्यो । बरु बल्झँदै दुखिरह्यो ।
“यहाँ त मानिस आउन–जान छाडिसकेका थिए, तपाईंहरूचाहिँ किन आउनुभएको नि ?,” हामी पुग्नेबित्तिकै सोधपुछ कक्षकी परिचारिकाले प्रश्न हुत्याइन् र आश्चर्यभावले आँखा फिँजाइन् ।
भित्र दुईजना महिला प्रहरीहरू स्याहारमा जुटेका थिए । नागरिककै पोशाकमा रहेकी एकजनाले हातमा आगन्तुक पुस्तिका लिएकी थिइन् । अर्की युवतीचाहिँ हातमा मोबाइल खेलाउँदै थिइन् ।

मानिसको बाक्लो आउजाउ हुँदो हो त सोधपुछ गर्दै दिन बित्थ्यो । आउने–जाने नहुँदा उनीहरूको दिन पनि मोबाइलको स्क्रिनमा औँला दौडाउँदै र गंगामायाको स्याहारमै बित्छ ।
“अचेल मानिसहरूको आउजाउ कम भएको छ,” हातमा आगन्तुक पुस्तिका लिएकी युवतीले पनि हामीलाई यसै भनिन् ।
फेरिइछन् गंगामाया । अनुहार ढक्क फुलेछ । शरीर पनि कुँजिदै गएको रहेछ । केही समयअघि उनको अवस्था नाजुक थियो, अहिले उठेर बस्नसम्म सक्दिरहिछन् ।
“दुई महिनाअघि खुट्टाको अप्रेसन गर्दिए, किन गर्दिए थाहा छैन, कतिबेला फुत्त सास जान्छ, यसै भन्न सक्दिनँ,” कुराकानीको सुरूमै पीडा पोखिन् । अनुहारको उज्यालो क्रमशः ओझेल पर्दै गयो ।
“अचेल कसैसँग मुख उघारौँझैँ लाग्दैन, कति सुनाउनु सन्तान वियोगको बेदना, कसले सुन्न बाँकी छ र यो पीडा ? वायुसरह फैलिएर कुन सहरमा मात्र पुगेको छैन होला ?,” उनले नाक खुम्च्याइन् र बोल्न आनाकानी गर्न थालिन् ।

पीडादायी ६ वर्ष
२०६१ जेठ ६ गते हो उनको कान्छो छोरा मारिएको, तत्कालीन विद्रोही पक्षबाट । युद्धप्रति बैरभाव थिएन, बरु बेमतलव थियो । युद्धरत पक्षसँग आग्रह, पूर्वाग्रह पनि थिएन । कहिलेकाहीँ विद्रोही पक्ष आउँथ्यो, भात खान्थ्यो, बाटो लाग्थ्यो ।
अचानक छोरो मारियो– सेनामा भर्ती भएको निहुँमा ।
“१७ वर्षको छोरो सेनामा भर्ती भएको थिएन,” गंगामाया बर्बराउँछिन्, “अनाहकमै मारियो !”
उनको बर्बराहट यतिमै सकिँदैन, “बम बारुद खेलाउन गएको भए चित्त बुझ्थ्यो । युद्धमा असंलग्न मानिसलाई रिस उठेकै भरमा मारिदिन पाइन्छ ?” भक्कानिन्छ उनको मन ।
आशा थियो– छोरो मारियो, कानुनको त हत्या भएको छैन नि ! पक्कै न्याय पाइन्छ ।
तर, त्यही आशाले जीवन क्रमशः उजाडिँदै गयो ।
०६१ को गृष्मयाममा पुत्र वियोगले विह्वल बनिन् । कोख उजाडियो उनको ।
त्यसको ठीक दश वर्षपछि ०७१ असोज ६ गते सिन्दूरसमेत उजाडियो ।
न्याय माग्न ६ वर्षअघि प्रधानमन्त्री निवास पुगेका थिए । तर न्यायको सट्टा पति नन्दप्रसाद अधिकारी र गंगामायाको हातमा हतकडी ठोकियो र प्रहरी वृत्त कमलपोखरी पुर्याइयो । ३९ दिन जेलको चिसो सिँढीमा कैदीसरह तड्पाएपछि उनीहरूले भोक हड्ताल सुरू गरेका हुन् ।
वीर अस्पतालको आकस्मिक कक्षमा राखेर अनशन तोडाउने प्रयत्न पटकपटक नभएको होइन, तर पुत्रवियोगले विह्वल मातृपितृ हठका अघिल्तिर सरकार निरीह भयो ।
परिणामस्वरूप अनशन बसेको ३३४ दिनमा उनका पति निष्प्राण बने । पतिको शव ३ वर्षदेखि शिक्षण अस्पताल महाराजगञ्जमा छ, दाहसंस्कारसमेत हुन सकेको छैन ।
“न्याय नपाई शव जलाउन दिन्नँ, को आउँदो रहेछ आओस् ! यहाँ नभए अन्तर्राष्ट्र जान्छु, न्यायको ढोका ढकढक्याउन,” उनको अठोट छ ।
मातृहठको पराकाष्ठा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एउटी महिलाले गुमाउने कति कुरा हुन्छ ? शायद त्यसको हिसाबकिताब गर्न मुस्किल हुन्छ । यौवन रित्याएर पुष्ट बनाएको कोख विद्रोही पक्षले निमोठ्यो । सिन्दूर राज्यले उजाडिदियो ।
जेठो छोरो नुरप्रसाद अधिकारी गत चैतदेखि बेपत्ता छन् । कोख, साथ, गाँस उजाडिएर बगरतुल्य बनेकी गंगामाया नितान्त एक्ली छिन् । आफ्नो भन्नु २ जना सरकारी रखवारी मात्रै हुन् ।
अन्नपानीको शरीर । एक दिन खान नपाए हायलकायल हुन्छ ज्यान । सङ्घर्ष खानकै लागि हो भन्नेहरू पनि छन् । आफैँलाई निर्मम यातना कत्तिञ्जेल त ?
“एउटी आमा भएर सोच्दा आफूबाहेक गुमाउन बाँकी केही पनि छैन मेरो । निख्रिन बाँकी यही झिनो सासमात्रै हो, त्यही पनि सरकारलाई नै बुझाइदिन चाहन्छु,” भित्तामा टाँसेको छोरो कृष्णप्रसादको फोटोतिर आँखा पुर्याउँदै मसिनो आवाजले बोलिन् उनले ।
हरेक रात ऐंठन हुन्छ । सपनामा त्यही छोरो आउँछ । किशोरवयको छोरो काखमा लुटपुटिन्छ र हरपल न्यायको याचना गरिरहन्छ ।
यही स्वप्न–दुःस्वप्नले हो उनलाई सरकारसँग सिँगौरी खेल्न बाध्य बनाएको । भोकै, प्यासै तड्पाएको ! अनशनको शैय्यामा थल्याएको ।
“घर, कोख, सिउँदो सबै उजाडियो, अनशन बस्न कतै जग्गा बाँकी छैन, कतिले ठान्दा हुन्– अस्पतालमा अनशन किन बसेको होला, भोक हड्ताल बस्न अन्त त ठाउँ पनि छैन,” मनले भनिरहन्छ उनको ।

नन्दप्रसादको दाहसंस्कार
नन्दप्रसादको शव शिक्षण अस्पतालको मुर्दाघरमा थन्किएको छ । “नन्दप्रसादको शव न्याय नपाई खरानी हुँदैन, सरकारमा बस्नेहरू अन्तर्राष्ट्रिय अदालत धाउनुपर्ने हुन्छ, सजिलै जल्दैनन् मेरा पति,” उनी अड्डी कस्छिन् ।
न्याय पाउने आश त छैन तर उनको एउटै इच्छा छ– “पतिको शवसँग आफूलाई पनि जलाइयोस् । थाहा पाऊन् दुनियाँले, पुत्र वियोगको पीडा कस्तो हुँदो रहेछ । भोलिका दिनमा न्याय नपाएर हाम्रो परिवारको जस्तो दुःखान्त कसैको नहोस् । सबैले चेतून्, पाठ सिकून् ।”
आफूले न्याय नपाएको गुनासो गर्न छाडिसकेकी छिन् गंगामाया । “भोलिका दिनमा न्याय नपाएर म जसरी अरू आमा तड्पिन नपरोस् । मैलेझैँ अरू पत्नीहरूले पती गुमाउन नपरोस् । घरबार नउजाडियोस् । मेरो जसरी सिन्दुर नखोसियोस् । जति गुमाउनू परोस्, मैले नै परोस्,” यत्ति हो उनको इच्छा ।
“कानुनी राज्य र विधिको शासनको वकालत गर्ने ९ प्रधानमन्त्री र दुई राष्ट्रपति फटाइकेकी छु । दुनियाँले सुन्नेगरी भन्न चाहन्छु– न्याय दिन नसक्ने निरीह अनुहार लिएर मेरो अनशन बिथोल्न कोही नआउनू, इतिहासमा हाँडीको श्रीपेच लाउनुपर्ला !,” तन सुके पनि मातृत्व सुकेको छैन उनको ।
सरकारको निरीहता

६ वर्षअघि उनको माग सामान्य थियो– युद्धमा असंलग्न छोराको हत्यारालाई कानुनी कारवाही गरियोस् र कब्जा गरेको सम्पत्ति फिर्ता होस् !
“न्यायको याचना गर्दागर्दै पति अनशनमै दिवंगत भए । छोरो वेपत्ता भयो । यसको पुर्ताल कसले गरिदिन्छ ? हुँदाखाँदाको परिवार उजाडियो, सर्वश्व हरणको पूर्ति कसरी हुन्छ ? मानसिक आघातको औषधि कसले गरिदिन्छ ?” उत्तरहरू उनीसँगै कोमामा छन् । बौरिनै नसक्नेगरी ।
तथापि भन्छिन्, “सासले नपाए लासले लिन्छ न्याय बाबु !”
“छोराको हत्यारालाई कारबाही गर भन्दा तत्कालीन सरकारले ‘मानसिक सन्तुलन गुमेका दम्पत्ति’ भनेर अस्पताल पुर्यायो । हत्यारालाई पक्रिद्याओन भन्दा यी बूढा नारीमा हतकडी ठोक्यो ! प्रहरीले लछारपछार पारे ! के मात्र अत्याचार भोग्न बाँकी छ र हामीले,” शोकाकूल बनिन् र शैय्याको बारमा बाँधेको राष्ट्रिय झन्डामा आँखा पुर्याइन् ।
तर, यी सबैमा मारिएको छोराले न्याय पाओस् भन्दा बढ्ता चाहना छैन । सन्तानप्रतिको माया भन्दा बढी केही छैन । कसैलाई नियोजित हिसाबले फसाउने दुःचेष्ट पनि छैन उनको । न त सशस्त्र संघर्षसँग पूर्वाग्रह नै छ ।

युद्धकालमा मारिने कृष्णप्रसाद एक्ला हुन् र ?
गंगामायाको नाम सुन्नेबित्तिकै अधिकांशको मनमा यही प्रश्न उब्जिन्छ– युद्धकालमा मारिने कृष्णप्रसाद एक्ला हुन् र ?
“व्यक्तिगत रिसरागले मारिएको हो मेरो छोरो । युद्धमा संलग्न भएर मारिएको भए जीवनसँग खेलवाड गर्दै दुनियाँलाई रमिता देखाउन अनशन बस्दिनथेँ, आमाले सन्तानको न्याय खोज्दा यसमा के स्वार्थ हुन्छ ?,” प्रश्न गर्छिन् उनी ।
“युद्धमा अनाहकमा मारिने अरू पनि होलान् । अरूका पीडामा खाटा बसे होलान् । अरू चुप लागे भनेर मैले न्याय माग्नुहुँदैन भन्ने छ र ?,” उनी उद्वेलित हुँदै गइन् ।
‘उक्साहटमा अनसन बसेकी होइनँ’
पेटमा ठोस पदार्थ नपरेको ६ वर्ष भइसक्यो । तरल पदार्थले धानेको छ प्राण । पति गुमाएयता दिनको एकपटक च्याउको सुप खान्छिन् । कहिले त्यो पनि नपिउन हठ गर्छिन् ।
हप्तामा तीनदिन चेत हुन्छिन् बाँकी दिन अचेतै हुन्छिन् ।
मुद्दा एनजीओकरण भयो । सशस्त्र संघर्षलाई कलुषित बनाउन चाहनेहरूले खेले । गंगामायाको आवरणमा शान्ति प्रक्रिया विथोल्न खोज्ने सक्रिय भए– नेपथ्यका यी आवाज उनको कानमा पनि परेको छ ।

“त्यो किमार्थ होइन, एउटी आमालाई न्याय माग्न कसैले सिकाउनुपर्दैन । सन्तानको पीडा आमालाई जति अरूलाई हुँदैन पनि । प्रशव पीडा सहेर जन्माएको सन्तानको माया आमालाई जति अरूलाई कहाँ हुन्छ ? कसैले अनशन बस भन्दा अनशन बस्ने म बच्चा पनि होइन,” प्रतिवाद गर्छिन् उनी ।
‘डलरवादी’ले उक्साए भन्नेलाई अगाडि आउन चुनौती दिन्छिन् र आफूले भोगेका दुःखद घटनाको मिहीन अध्ययन गरेर निष्कर्षमा पुग्न सुझाव दिन्छिन् ।
अनशन कतिञ्जेल ?

“छोराको न्यायको आश गर्दा राज्यले पतिको लाश थमाइदियो, बाँचुञ्जेल न्याय पाउँला भन्ने आश त छैन तर पनि हिम्मत हारेकी छैन, सहनै कठिन हुने प्रशव वेदना सहेर जन्माएको छोरो हो, मारिहालेँ भनेर खुलेआम हिँडेका अपराधीलाई उम्कन दिन्नँ, मेरो सासले नपाए लासले पक्कै न्याय पाउँछ ! मेरो पतिको जिउँदो शरीरलाई लासमा बदल्ने प्रधानमन्त्री, मन्त्रीलाई चैनले सुत्न दिन्नँ !,” अन्तिममा आक्रोश पोेखिन् उनले ।-यो खबर बाह्रखरीमा अक्षर काकाले लेखेका हुन्।

Meri Aama

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com