बागलुङ : निसिखोलामा फालिएको प्लाष्टिक झोलाको पोको खोल्दा प्रहरी को होसउड्यो
प्रकाशित मिति : पुस ९, २०७४ आईतबार
बागलुङ : निसिखोला गाउँपालिकाको १ हर्पेमा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा नवजात शिशुको शव भेटिएको छ। हर्पे गाउँको केही तल बाटो छेउमा प्लाष्टिक भित्र बेरेर फालिएको छ। उक्त भ्रुण हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
बिहीबार साँझ बाटो हिड्ने क्रममा रगतले लतपतिएको प्लाष्टिक देखेपछि त्यस भित्र हेर्ने क्रममा भ्रुण भेटिएपछि प्रहरीलाई खबर गरिएको निसीखोला गाउँपालिका १ का अध्यक्ष इन्द्र मल्लले बताए। प्रहरीले उक्त शव जिल्लाको बुर्तिबाङ अस्पतालमा ल्याएर पोस्टमार्टम गरेको छ।
पोस्टमार्टमका क्रममा करिब साढे २ महिना सेरोफेरोको भु्रर्ण हत्या गरी फालेको पाइएको बुर्तिबाङ अस्पतालका डा.विजय श्रेष्ठले बताए। भ्रुणको लिङ्ग समेत पहिचान नभएको अवस्थामा फालिएको उनले जानकारी दिए।प्लाष्टिक भित्र सेनेटरी प्याडसँगै फालेको थियो। अबैध सम्बन्धपछि अबैध रुपमै गर्भपतन गराएको हुन सक्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए। ‘यसबारेमा आवश्यक अनुसन्धान सुरु गरिएको छ’, रानाले भने।





