उडान भर्ने तयारीमा रहेका अमेरिकन एयरलाइन्सका दुई विमान आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन विमानस्थलमा उडान भर्ने क्रममा दुई विमान ठोक्किँदा यात्रुहरू त्रसित बने पनि मानवीय क्षति टरेको छ। सोही विमानस्थलमा सन् २०२५ मा भएको भयानक हवाई दुर्घटनापछि पुनः यो घटना दोहोरिएपछि यात्रुहरूले सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन्।
Photo: Forsaken Films / Unsplash
वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल एयरपोर्टमा उडान भर्ने तयारीमा रहेका अमेरिकन एयरलाइन्सका दुईवटा विमान आपसमा ठोक्किएका छन्।
संघीय उड्डयन प्रशासनका अनुसार शुक्रबार साँझ करिब ५:१० बजे धावनमार्गतर्फ गुड्ने क्रममा एउटा विमानको पखेटाले अर्को विमानको पखेटामा ठक्कर दिएको हो। अमेरिकन एयरलाइन्सको उडान ६३८ ले उडान २१५२ को पखेटामा ठक्कर दिएको एफएएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दुवै बोइङ ७३७–८०० विमानका पखेटाका छेउ आपसमा ठोक्किएको एयरलाइन्सले पुष्टि गरेको छ।
घटनामा कोही पनि घाइते नभएको र एफएएले यसबारे छानबिन गर्ने जनाएको छ। ठक्कर लगत्तै हवाई ट्राफिक नियन्त्रकले आपतकालीन उद्धार तथा अग्निनियन्त्रक टोलीलाई परिचालन गर्दै दुवै विमानलाई गेटमा फर्किन निर्देशन दिएका थिए। दुवै विमानबाट यात्रुहरूलाई सुरक्षित रूपमा ओरालिएको छ भने प्राविधिक टोलीले विमानको जाँच गरिरहेको एयरलाइन्सले जनाएको छ। प्रभावित यात्रुहरूलाई जतिसक्दो छिटो गन्तव्यमा पठाउने व्यवस्था मिलाइएको छ।
सिकागोको ओहेयर विमानस्थलका लागि उड्न लागेको उडान २१५२ का एक यात्रुले विमान गुडिरहँदा दाहिनेतर्फ ठूलो झट्का महसुस भएको बताए। डलास-फोर्ट वर्थ विमानस्थलका लागि उड्न लागेको अर्को विमानसँग ठोक्किँदा विमान निकै जोडले हल्लिएको र यात्रुहरू आत्तिएको उनले सुनाए। झ्यालबाट बाहिर हेर्दा अर्को विमानको पखेटाले आफू चढेको विमानको पखेटा खप्टिएको र भाँचिएको पखेटाको टुक्रा भुइँमा खसेको देखिएको ती यात्रुको भनाइ छ।
सोही विमानस्थलमा सन् २०२५ को जनवरीमा यात्रुवाहक विमान र सैनिक हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो। सोही विमानस्थलमा पुनः दुर्घटना दोहोरिनु निकै डरलाग्दो भएको यात्रुहरूले प्रतिक्रिया दिएका छन्।





