१० मंसिर २०८३, बिहिबार| Thursday, November 26, 2026
अमेरिका

अति धनाढ्य अमेरिकीहरूमाथिको कर लेखापरीक्षण ४२ प्रतिशतले घट्यो, ठूला कर्पोरेट र साझेदारी संस्थामा कडाइ

आर्थिक वर्ष २०२६ मा अति धनाढ्य अमेरिकीहरूको नयाँ कर अडिट ४२ प्रतिशतले घटेर २,१५३ मा झरेको छ। तर, २५ करोड डलरभन्दा बढी सम्पत्ति भएका ठूला कर्पोरेट संस्थाको अडिट भने ४४ प्रतिशतले बढेको छ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Kelly Sikkema/Unsplash

अमेरिकाको आन्तरिक राजस्व सेवाले गत एक वर्षमा उच्च आम्दानी गर्ने धनाढ्य व्यक्तिहरूमाथि गर्ने नयाँ कर लेखापरीक्षणमा उल्लेख्य कटौती गरेको छ। कम सङ्ख्यामा तर जटिल र बढी राजस्व उठ्न सक्ने मुद्दाहरूमा ध्यान केन्द्रित गरेका कारण व्यक्तिगत अडिटमा कमी आएको आईआरएसले जनाएको छ।

आईआरएसको वार्षिक वित्तीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२६ मा १ करोड डलर वा सोभन्दा बढी सकारात्मक आम्दानी भएका व्यक्तिहरूमाथि २ हजार १५३ वटा मात्र नयाँ अडिट सुरु गरिएका छन्। यो अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशतले कम हो भने निकायले राखेको लक्ष्यभन्दा पनि थोरै हो। सन् २०२३ मा यस्तो अडिटको सङ्ख्या ४ हजार ३२६ पुगेको थियो, जुन हालको तुलनामा झन्डै दोब्बर हो। यद्यपि, पछिल्लो तथ्याङ्क सन् २०२१ को स्तरकै हाराहारीमा रहेको छ।

प्रतिवेदनमा आईआरएसले कर अनुपालनमा सुधार ल्याउन बढी प्रतिफल दिने र जटिल प्रकृतिका परीक्षण” लाई प्राथमिकता दिएकाले उच्च आम्दानी गर्ने व्यक्तिहरूको अडिट घटेको उल्लेख गरेको छ।

बाइडेन प्रशासनको पालामा आईआरएसको अनुगमन क्षमता बढाउन कोष वृद्धि गरिए पनि कङ्ग्रेसले पछि उक्त बजेटको ठूलो हिस्सा कटौती गरेको थियो। ट्रेजरीको निगरानी निकायका अनुसार आर्थिक वर्ष २०२४ मा करिब १५ हजार ३०० रहेको आईआरएसको लेखापरीक्षण कर्मचारी सङ्ख्या जनवरी २०२६ सम्म आइपुग्दा घटेर करिब १० हजार ५०० मा झरेको छ।

विज्ञहरूका अनुसार उच्च आम्दानी गर्ने व्यक्तिहरूको अडिट घट्नुको अर्थ आईआरएसले धनाढ्यहरूमाथि निगरानी कम गरेको भन्ने होइन। गत एक वर्षमा ठूला कर्पोरेट संस्था र साझेदारी  व्यवसायहरूमाथिको नयाँ अडिट बढेको छ, जसमा धनाढ्य व्यक्तिहरूकै आम्दानी जोडिएको हुन्छ।

प्रतिवेदनअनुसार कम्तीमा २५ करोड डलर सम्पत्ति भएका ठूला कर्पोरेट संस्थाहरूमाथिको नयाँ अडिट ४४ प्रतिशतले बढेर २ हजार १४० पुगेको छ, जुन पछिल्लो पाँच वर्षयताकै उच्च हो। त्यस्तै, साझेदारी व्यवसायहरूको नयाँ अडिट अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढेको छ।

साझेदारी संस्थामाथिको अनुगमन र धनाढ्य व्यक्तिमाथिको अनुगमनलाई छुट्याएर हेर्न कठिन छ,” नर्थ क्यारोलिना विश्वविद्यालयका लेखा प्राध्यापक जेफ हुप्सले भने, एउटा साझेदारी संस्थाको अडिटले धेरै उच्च आय भएका व्यक्तिहरूलाई असर गर्न सक्छ।

कार्नेगी मेलन विश्वविद्यालयको टेपर स्कुल अफ बिजनेसका सहायक प्राध्यापक म्याक्स रिसले जटिल अडिटतर्फको यो मोड प्रतिवेदनको तथ्याङ्कसँग मेल खाने बताए। यस्ता अडिटहरू कठिन हुन्छन्, समय र स्रोतसाधन पनि बढी लाग्छ, तर यिनबाट प्राप्त हुने प्रतिफल ठूलो हुन सक्छ,उनले भने।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

प्राध्यापक हुप्सले कम अडिट हुनुको अर्थ कमजोर कार्यान्वयन नहुने बताउँदै अतिरिक्त कर राजस्व उठाउन जहाँ लागत कम पर्छ, आईआरएसले त्यहीँ अडिट गर्नुपर्ने तर्क गरे।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२६ मा आईआरएसको कुल कार्यान्वयन राजस्व अघिल्लो वर्षको ९३ अर्ब ८० करोड डलरबाट बढेर ९६ अर्ब ८० करोड डलर पुगेको छ। उच्च जोखिमयुक्त मुद्दाहरू पहिचान गर्न र स्रोतसाधनको प्राथमिकीकरण गर्न उन्नत विश्लेषण प्रविधिको प्रयोग विस्तार गरिएको आईआरएसले जनाएको छ।

यो राजस्वमध्ये कति हिस्सा प्रत्यक्ष रूपमा अडिटबाट मात्र उठेको हो भन्ने प्रतिवेदनमा स्पष्ट छैन। ट्रेजरी इन्सपेक्टर जनरल फर ट्याक्स एडमिनिस्ट्रेसनका अनुसार आर्थिक वर्ष २०२५ मा कुल कार्यान्वयन राजस्वको करिब ७ प्रतिशत मात्र अडिटबाट आएको थियो भने बाँकी हिस्सा नियमित बक्यौता असुली प्रयासबाट सङ्कलन भएको थियो।

बजेट दस्तावेजअनुसार ठूला कर्पोरेट अडिटहरू पूरा हुन कैयौँ वर्ष लाग्न सक्ने भएकाले यस वर्ष सुरु गरिएका कति अडिट सम्पन्न भए र तिनबाट कति रकम उठ्यो भन्ने स्पष्ट भइसकेको छैन।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →