१० मंसिर २०८३, बिहिबार| Thursday, November 26, 2026
अमेरिका

ट्रम्प समर्थित सरकारी विज्ञापनमाथिको प्रतिबन्ध लम्ब्याउन न्यायाधीशद्वारा अस्वीकार

मध्यावधि निर्वाचन सकिइसकेको भन्दै अमेरिकी संघीय न्यायाधीश लोरेन अलीखानले करदाताको रकमबाट बनेका ट्रम्प समर्थित सरकारी विज्ञापनमाथिको अस्थायी प्रतिबन्ध लम्ब्याउन अस्वीकार गरेकी छिन् । यद्यपि, सार्वजनिक कोषको यस्तो प्रयोगले कानुनको उल्लंघन गरेको भन्ने डेमोक्रेटिक पार्टीको दाबी भने बलियो रहेको उनले उल्लेख गरेकी छिन् ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

फोटो : एपी/रासस

मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्प र दलीय सन्देशको प्रचार गर्ने गरी संघीय सरकारको करदाताको रकमबाट प्रसारण गरिएका विज्ञापनहरूमाथिको अस्थायी प्रतिबन्ध लम्ब्याउन एक अमेरिकी संघीय न्यायाधीशले बुधबार अस्वीकार गरेकी छिन् । डेमोक्रेटिक नेशनल कमिटीको विपक्षमा फैसला सुनाउँदै उनले यस्तो निर्णय गरेकी हुन् ।

डीएनसीले नोभेम्बरको मध्यावधि निर्वाचनको केही साताअघि राष्ट्रपतिको चुनावी सन्देश प्रचार गर्ने उद्देश्यले सरकारी खर्चमा गैरकानूनी रूपमा यस्ता टेलिभिजन विज्ञापनहरू प्रसारण गरिएको तर्क गरेको थियो । अमेरिकी जिल्ला न्यायाधीश लोरेन अलीखानको यो फैसला न्युयोर्कको यस्तै एक मुद्दामा अर्का न्यायाधीशले पनि ती विज्ञापनहरूमाथि दीर्घकालीन प्रतिबन्ध लगाउन अस्वीकार गरेपछि आएको हो ।

न्यायाधीश अलीखानले निर्वाचन आउन एक साताभन्दा कम समय बाँकी छँदा विज्ञापनहरूविरुद्ध अस्थायी रोक आदेश जारी गरिएको स्मरण गराएकी छिन् । तर सन् २०२६ को नोभेम्बर मध्यावधि निर्वाचन सम्पन्न भइसकेको छ, उनले आफ्नो आदेशमा लेखेकी छिन् । डीएनसीले अब डिसेम्बरमा हुने कंग्रेसको दोस्रो चरणको निर्वाचन वा सन् २०२८ को राष्ट्रपतीय चुनावी चक्र सुरु भइसकेकाले ती विज्ञापनबाट पार्टीलाई क्षति पुग्न सक्ने दाबी गरेको उनले उल्लेख गरिन् ।

चुनावी अभियानको स्थायी प्रकृतिका कारण विज्ञापनमाथि निषेधाज्ञा जारी गर्नुपर्ने डीएनसीको तर्कप्रति न्यायाधीश अलीखानले असहमति जनाइन् । उनले लेखेकी छिन्, यस्तो तर्कलाई तार्किक निष्कर्षमा पुर्‍याउने हो भने डीएनसीले देशको कुनै न कुनै कुनामा सधैं कुनै निर्वाचन भइरहने बहाना देखाएर अनन्तकालसम्म प्रारम्भिक राहत मागिरहने बाटो खुल्नेछ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको २ करोड डलरको ठेक्काबाट आंशिक रूपमा खर्च व्यहोरिएका विज्ञापनहरू प्रसारण हुन थालेपछि डेमोक्रेटहरूले अक्टोबरमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए । अदालती कागजातमा डीएनसीले टेलिभिजनमा प्रसारित वा ट्रम्प प्रशासनका सामाजिक सञ्जालमा देखिएका कम्तीमा ११ वटा सरकारी विज्ञापनहरूलाई चुनौती दिएको थियो ।

तीमध्ये केही विज्ञापनमा आकर्षक भाषणका दृश्यहरूमार्फत राष्ट्रपतिको प्रशंसा गरिएको थियो भने कर कटौतीको प्रचार र कानुन कार्यान्वयन निकायप्रतिको समर्थनमा जोड दिइएको थियो । एउटा विज्ञापनमा ट्रम्पको सन् २०२४ को राष्ट्रपतीय अभियानमा प्रयोग गरिएको क्लिपलाई पुनः प्रयोग गरिएको थियो, जसमा उनी करिडोरमा हिँडिरहेको देखिन्छ र पृष्ठभूमिमा विश्वव्यापीकरणका पक्षधर र युद्धपिपासु विरुद्धको अन्तिम लडाइँबारे चेतावनी दिइरहेको उनको आवाज सुनिन्छ ।

डीएनसीका प्रवक्ता एन्जेलो फर्नान्डेज हर्नान्डेजले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशको निर्णयबाट संस्था निराश भएको बताएका छन् । उनले हाम्रो लोकतन्त्रलाई कमजोर बनाउने ट्रम्प प्रशासनको प्रयास अन्त्य गर्न डीएनसीले आफ्नो लडाइँ जारी राख्ने थपेका छन् ।

यस विषयमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

न्यायाधीश अलीखानले यसअघिको अस्थायी रोक आदेशमा नोभेम्बर २५ सम्म ट्रम्प प्रशासनलाई विवादित केही विज्ञापनहरू निर्माण, प्रसारण वा वितरण गर्न रोक लगाएकी थिइन् । न्युयोर्कको छुट्टै मुद्दामा भने न्यायाधीशले अझ धेरै विज्ञापनहरूमाथि रोक लगाउँदै सरकारी वेबसाइट र सामाजिक सञ्जालबाट तीनवटा विज्ञापन हटाउन सरकारलाई आदेश दिएका थिए ।

विज्ञापनमाथिको प्रतिबन्ध लम्ब्याउन अस्वीकार गरे पनि न्यायाधीश अलीखानले सार्वजनिक रकमको यस्तो प्रयोगले कानुनको उल्लंघन गरेको भन्ने डीएनसीको दाबी सफल हुने सम्भावना भने बलियो रहेको उल्लेख गरेकी छिन् ।

ह्वाइट हाउसले विगतका प्रशासनहरूले विभिन्न नीतिहरूको प्रचार गर्न जारी गर्ने जनहितका सन्देशहरू जस्तै यी विज्ञापनहरू भएको भन्दै बचाउ गरेको छ । तर निवेदकहरूले भने विगतका जनहितका सन्देशहरूले निश्चित सरकारी कार्यक्रमबाट लाभ लिन सर्वसाधारणलाई मद्दत गर्ने गरेकोमा हालका विज्ञापनहरू त्यसभन्दा फरक रहेको तर्क गरेका छन् ।

फैसला आउनुअघि जस्टिस डिपार्टमेन्टले अदालती कागजातमा सरकारले विज्ञापन प्रसारण गर्न सार्वजनिक कोषको प्रयोग बन्द गरिसकेको र मध्यावधि निर्वाचनसमेत सकिइसकेकाले अब कुनै क्षतिको जोखिम नरहेको जिकिर गरेको थियो ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →