हालसम्मकै महँगो थ्याङ्क्सगिभिङ: इरान युद्धका कारण अमेरिकीहरूलाई इन्धनमै ९८ करोड डलर अतिरिक्त भार
हालै पेट्रोलको मूल्यमा केही गिरावट आए पनि अमेरिकामा यसपटकको थ्याङ्क्सगिभिङ हालसम्मकै महँगो बन्ने देखिएको छ। इरान द्वन्द्व पुनः चर्किएमा आगामी महिना तेलको मूल्यमा अझै ठूलो उछाल आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
Photo: Karl Callwood/ Unsplash
इरान युद्धको प्रभावका कारण अमेरिकामा यस वर्षको ‘थ्याङ्क्सगिभिङ’ बिदामा यात्रा गर्ने अमेरिकीहरूले इन्धनमा भारी मूल्य चुकाउनु पर्ने भएको छ। इन्धनको मूल्यमा हालै केही गिरावट आए पनि समग्र मूल्य अझै उच्च रहेकाले पोहोरको तुलनामा यसपटक सवारी चालकहरूले करिब ९८ करोड अमेरिकी डलर बढी खर्च गर्नुपर्ने अनुमान गरिएको छ।
इन्धन मूल्य विश्लेषण गर्ने संस्था ‘ग्यासबडी’ले उपलब्ध गराएको तथ्याङ्कअनुसार बुधबारदेखि सुरु भएको पाँचदिने बिदाको यात्रा अवधिमा इन्धनमा यति ठूलो रकम अतिरिक्त खर्च हुन लागेको हो। यो वर्षको थ्याङ्क्सगिभिङ इन्धन मूल्यको हिसाबले पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालको कीर्तिमानलाई चुनौती दिँदै हालसम्मकै सबैभन्दा महँगो थ्याङ्क्सगिभिङ बन्ने देखिएको छ।
अमेरिकन अटोमोबाइल एसोसिएसनका अनुसार मङ्गलबार नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रतिग्यालन ३.६२ डलर कायम भएको छ। यो सन् २०२५ को थ्याङ्क्सगिभिङको तुलनामा निकै महँगो हो। गतवर्ष थ्याङ्क्सगिभिङमा प्रतिग्यालन पेट्रोलको मूल्य ३.०३ डलर थियो। चार वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरेपछिको थ्याङ्क्सगिभिङमा प्रतिग्यालन ३.५९ डलर पुगेर कीर्तिमान बनेको थियो, जसलाई यसपटकको मूल्यले उछिनेको छ।
समग्रमा महँगो भए पनि पछिल्ला केही सातायता पेट्रोलको मूल्यमा उल्लेख्य गिरावट आउनुलाई सकारात्मक पक्ष मानिएको छ। एएएको तथ्याङ्कअनुसार नोभेम्बर महिनाको पहिलो २४ दिनमा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ५६ सेन्टले घटेको छ, जुन हालसम्मकै उच्च गिरावट हो।
यद्यपि, ग्यासबडीका पेट्रोलियम विश्लेषण प्रमुख प्याट्रिक डे हानले अहिले नै खुसी मनाइहाल्ने अवस्था नरहेको बताएका छन्। उनले भनेका छन्, “इन्धन कर स्थगित गरेका राज्यहरूमा समेत हरेक अमेरिकीले पोहोरको तुलनामा पेट्रोलमा बढी खर्च गरिरहेका छन्।”
अस्वाभाविक रूपमा बढेको इन्धन मूल्यका कारण कतिपय अमेरिकीहरूले यसपटकको बिदामा यात्रा गर्ने योजनामा पुनर्विचार गरेका छन्। एएएका अनुसार यस वर्ष बिदामा कारमार्फत ७ करोड २९ लाख मानिसले यात्रा गर्ने अनुमान छ, जुन पोहोरको ७ करोड ३१ लाखको तुलनामा २ लाखले कम हो। गत अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा पेट्रोलको मूल्यले मासिक कीर्तिमान कायम गरेकाले यात्रुको सङ्ख्यामा कमी आएको एएएले जनाएको छ।
थ्याङ्क्सगिभिङमा इन्धनको मूल्य उच्च रहे पनि पछिल्लो समय मूल्य घटेको भन्दै ह्वाइट हाउसले जस लिने प्रयास गरेको छ। मङ्गलबार एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले भविष्यवाणी गरेझैँ पेट्रोलको मूल्य ओरालो लागेको र थ्याङ्क्सगिभिङको मुखैमा अमेरिकी परिवारहरूले राहत महसुस गरेको दाबी गरेको छ। ग्यासबडीका अनुसार पनि एक महिनाअघिको तुलनामा अमेरिकीहरूले इन्धनमा १ अर्ब ३० करोड डलर बचत गरिरहेका छन्।
पछिल्लो समय पेट्रोलको मूल्य घट्नुका पछाडि मुख्य तीन कारण रहेका छन्। पहिलो, इरान युद्ध सोचेजस्तो थप नचर्किएकाले कच्चा तेलको ‘फ्युचर्स’ मूल्यमा गिरावट आएको छ। दोस्रो, गत शरद ऋतुमा तेल प्रशोधन केन्द्रहरूमा देखिएको प्राविधिक अवरोध समाधान भएको छ। तेस्रो, जाडो याममा छिट्टै अँध्यारो हुने भएकाले सवारी यात्रा कम भई इन्धनको माग स्वाभाविक रूपमा घटेको छ।
गत फेब्रुअरीको अन्त्यमा इरान युद्ध सुरु भएयता अमेरिकीहरूले पेट्रोल र डिजेलमा कुल १ खर्ब ६५ अर्ब डलर अतिरिक्त खर्च गरिसकेको ब्राउन युनिभर्सिटीको अनुमान छ। यो रकम प्रतिअमेरिकी घरपरिवार झन्डै १ हजार ३ सय डलर बराबर हुन आउँछ।
आगामी दिनमा इन्धनको मूल्य कता जान्छ भन्ने कुरा अझै पनि इरान द्वन्द्वमै निर्भर रहने देखिएको छ। मध्यावधि चुनावपछि पूर्ण युद्ध सुरु हुनसक्ने ऊर्जा व्यापारीहरूको आकलन हालसम्म सही साबित नभए पनि जोखिम टरेको छैन। वित्तीय संस्था ‘जेपि मोर्गन चेस’ ले मध्यावधि चुनावपछिको सबैभन्दा ठूलो जोखिम नै सैन्य तनाव बढ्नु रहेको भन्दै आफ्ना ग्राहकहरूलाई सचेत गराएको छ।
आगामी महिनामै सैन्य तनाव बढ्न सक्ने र त्यसले कच्चा तेलको मूल्यमा एक्कासि उछाल ल्याउन सक्ने उक्त बैंकको चेतावनी छ। यद्यपि, तनाव छोटो अवधिको भएमा र स्थल सेना परिचालन नभएमा तेलको मूल्यवृद्धि अल्पकालीन मात्र हुने जेपि मोर्गनको विश्लेषण छ।





