८ मंसिर २०८३, मंगलबार| Tuesday, November 24, 2026
अन्तर्राष्ट्रिय

सेनेगलको तटबाट युरोप जाँदै गरेको डुङ्गा बेपत्ता, १७५ आप्रवासीको अवस्था अज्ञात

सेनेगलको डाकारबाट करिब दुई साताअघि युरोपतर्फ लागेको काठको डुङ्गा सम्पर्कविहीन हुँदा त्यसमा सवार करिब १७५ आप्रवासी बेपत्ता भएका छन्। पश्चिम अफ्रिकाबाट स्पेनको क्यानरी टापु पुग्ने जोखिमपूर्ण समुद्री यात्रा गर्नेहरूको सङ्ख्या बढिरहेका बेला यो घटना भएको हो।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Baptiste Riethmann/Unsplash

सेनेगलको राजधानी डाकारबाट करिब दुई साताअघि युरोपका लागि छुटेको एउटा डुङ्गा सम्पर्कविहीन हुँदा करिब १७५ आप्रवासी बेपत्ता भएका छन्। युरोपतर्फको जोखिमपूर्ण समुद्री यात्रा गर्नेहरूको सङ्ख्या बढिरहेका बेला स्थानीय अधिकारी र मानवअधिकारवादी समूहले डुङ्गा हराएको पुष्टि गरेका हुन्।

डाकारको योफ जिल्लास्थित स्थानीय माछा मार्ने बन्दरगाहका महासचिव र मेयरका अनुसार उक्त डुङ्गा गत नोभेम्बर ९ देखि १० को आसपासमा छुटेको थियो। स्थानीय भाषामा ‘पिरोग’ भनिने उक्त काठको डुङ्गामा करिब १७५ जना यात्रु सवार रहेको योफका मेयर सेयदिना इसा लायेले जानकारी दिए।

गैरसरकारी संस्था ‘एक्सन फर ह्युमन राइट्स एन्ड फ्रेन्डसिप’ ले डुङ्गामा सवार १७५ जना बेपत्ता भएको हुनसक्ने जनाउँदै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरेको छ।

यसैबीच, सेनेगलको नौसेनाले सोमबार मात्र पाँचवटा पिरोग डुङ्गामा यात्रा गरिरहेका ९७४ आप्रवासीको उद्धार गरेको जनाएको छ। नौसेनाको विवरणअनुसार नोभेम्बर महिनाको सुरुवातयता सेनेगलबाट प्रस्थान गर्न लागेका, बीच बाटोमा रोकिएका वा उद्धार गरिएका आप्रवासीको सङ्ख्या ५ हजार २०० भन्दा बढी पुगेको छ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगका अनुसार यो महिना पश्चिम अफ्रिकाबाट युरोप जाने आप्रवासीको सङ्ख्यामा ठूलो वृद्धि भएको छ। नोभेम्बरको सुरुवाती १२ दिनमा मात्र ८ हजारभन्दा बढी मानिस स्पेनको क्यानरी टापुमा पुगेका छन्।

आप्रवासी अधिकारवादी समूह ‘वाकिङ बोर्डर्स’ का अनुसार यो समुद्री मार्ग अत्यन्तै जोखिमपूर्ण र ज्यानमारा साबित हुँदै आएको छ। पछिल्ला वर्षहरूमा यो बाटो हुँदै युरोप छिर्ने प्रयासमा हजारौँले ज्यान गुमाइसकेका छन्, जसमा यस वर्षको पहिलो पाँच महिनामा मात्र ६३५ जनाको मृत्यु भएको तथ्याङ्क छ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →