मेयर ममदानीद्वारा न्युयोर्क प्रहरीको विवादास्पद एकाइ एसआरजी खारेज: प्रदर्शनकारीमाथिको आक्रामक रणनीतिमा रोक
Photo: RAMSHA ASAD/Unsplash
न्युयोर्क सहरका मेयर जोहरान ममदानी र प्रहरी आयुक्त जेसिका टिसले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लाग्दै आएको न्युयोर्क प्रहरी विभागको विवादास्पद एकाइ ‘स्ट्राटेजिक रेस्पोन्स ग्रुप’ खारेज गरिएको घोषणा गरेका छन्।
सोमबार जारी संयुक्त विज्ञप्तिमा मेयर ममदानीले चुनावी अभियानका क्रममा प्रतिबद्धता जनाएअनुसार प्रदर्शन व्यवस्थापन र प्रतिआतंकवाद कारबाहीलाई अलग गरिएको उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ, आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने न्युयोर्कवासीलाई आतंकवादी खतराजस्तो व्यवहार गरिनु हुँदैन।
एसआरजी खारेजीसँगै भीड नियन्त्रणका कतिपय आक्रामक रणनीतिहरूमा औपचारिक प्रतिबन्ध लगाइएको छ भने संवादमा आधारित नयाँ एकाइहरू गठन गरिएका छन्।
मेयरको सामुदायिक सुरक्षा कार्यालयअन्तर्गत हतियार र पक्राउको अधिकार नभएको नागरिक नेतृत्वको ‘कम्युनिटी डायलग एन्ड डि-एस्केलेसन डिभिजन’ गठन गरिएको छ। यसले एनवाईपीडीको नयाँ ‘फर्स्ट एमेन्डमेन्ट सपोर्ट टिम’ र विशेष तालिमप्राप्त ‘प्याट्रोल सपोर्ट डिभिजन’ सँग समन्वय गरी प्रदर्शन व्यवस्थापन गर्नेछ।
प्रदर्शनकारीलाई चारैतिरबाट घेरेर निश्चित क्षेत्रमा थुन्ने ‘केटलिङ’ रणनीति, अश्रुग्यास र लामा बन्दुकको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
भीड नियन्त्रणका लागि पेपर स्प्रे छर्कन पाइने छैन भने ध्वनि उपकरण ९० डेसिबलमा सीमित गरिएको छ। यस्तै, कसैको ज्यान जोगाउन वा गम्भीर चोटपटक रोक्नबाहेक साइकललाई हतियारका रूपमा प्रयोग गर्न निषेध गरिएको छ।
सन् २०१५ मा प्रतिआतंकवादका लागि स्थापना गरिएको करिब ५०० सदस्यीय एसआरजी एकाइलाई सन् २०२० को ‘ब्ल्याक लाइभ्स म्याटर’ लगायतका प्रदर्शनमा सैन्य शैली र अत्यधिक बल प्रयोग गरेको भन्दै चर्को आलोचना हुँदै आएको थियो। यस एकाइविरुद्ध दर्जनौँ मुद्दा र महँगा कानुनी क्षतिपूर्ति तिर्नुपरेको थियो।
अब एसआरजीका प्रतिआतंकवादसम्बन्धी जिम्मेवारी तथा संवेदनशील पूर्वाधारको सुरक्षा एनवाईपीडीको ‘इन्टेलिजेन्स एन्ड काउन्टरटेरोरिज्म ब्युरो’ मा गाभिएको छ। नगर परिषद् सदस्य ची ओसेले प्रस्ताव गरेको ‘कर्ब एक्ट’को मर्मअनुसार नै यो सुधार ल्याइएको मेयर ममदानीले बताएका छन्।
प्रहरी आयुक्त जेसिका टिसले यस परिवर्तनको स्वागत गर्दै यसले गम्भीर खतरासँग जुध्ने प्रहरीको क्षमतामा कुनै कमी नआउने बरु विभागलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्। प्रशासनका अनुसार यो नयाँ संरचना लागू गर्न अतिरिक्त बजेट वा प्रहरी दरबन्दी थपघट गरिने छैन।





