२९ कार्तिक २०८३, आइतबार| Sunday, November 15, 2026
अन्तर्राष्ट्रिय

कंगोमा इबोला संक्रमण अनियन्त्रित: ११ हजारभन्दा बढी संक्रमित, मृतक संख्या ५ हजार नाघ्यो

विमानस्थलमा अमेरिकी सीबीपी अधिकारीद्वारा इबोला स्क्रिनिङ । तस्विर: डोनर बर्टन

कंगोमा इबोला महामारी घोषणा भएको छ महिना बितिसक्दा पनि रोग अझै अनियन्त्रित रहेको छ र यसलाई नियन्त्रण गर्ने प्रयासहरू कमजोर बन्दै गएका छन्।

सरकारी तथ्याङ्कअनुसार हालसम्म ११ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने संक्रमितमध्ये झन्डै आधाको मृत्यु भइसकेको छ। यो कंगोमा हालसम्म देखिएका १७ वटा इबोला प्रकोपमध्ये सबैभन्दा घातक हो। सन् २०१४ देखि २०१६ को बीचमा पश्चिम अफ्रिकामा ११ हजार जनाको ज्यान लिने गरी फैलिएको महामारीको मृतक संख्यालाई समेत यसले उछिन्ने देखिएको छ।

संक्रमितको सम्पर्कमा आएकाको पहिचान र आइसोलेसनजस्ता आधारभूत नियन्त्रणका उपायहरू अझै अपर्याप्त रहेकाले प्रकोप रोक्ने अधिकारीहरूको क्षमतामाथि प्रश्न उठेको छ। विज्ञहरूका अनुसार आगामी एक वर्षभित्र यो महामारी नियन्त्रणमा आउने सम्भावना निकै कम छ।

मे महिनाको मध्यतिर महामारीको घोषणा गरिँदासम्म ४३ जनाको मृत्यु भइसकेको थियो, जसले भाइरस लामो समयसम्म पहिचानबिना नै समुदायमा फैलिसकेको संकेत गर्छ। त्यसयता यो रोग देशका २६ मध्ये ८ वटा प्रान्तमा फैलिसकेको छ। सहायता समूहहरूले यसको फैलावटलाई डढेलोसँग तुलना गरेका छन्। नयाँ संक्रमित क्षेत्रहरू थपिने क्रम जारी रहँदा पहिले नै दबाबमा रहेको स्वास्थ्य प्रणाली झनै अस्तव्यस्त बनेको छ।

समुदायस्तरमा संक्रमणको दर उच्च छ। अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार ८० प्रतिशत नयाँ संक्रमितहरू स्वास्थ्य निगरानी प्रणालीभन्दा बाहिर फेला परिरहेका छन्। यसको अर्थ अधिकांश संक्रमितहरू अधिकारीहरूको निगरानीमा पर्न सकेका छैनन्।

एक तिहाइ संक्रमितको मृत्यु घरमै वा समुदायमै हुने गरेको छ, जहाँ विशेषज्ञको निगरानीबिना नै अन्त्येष्टि तथा अन्य प्रक्रिया गरिँदा संक्रमण फैलने जोखिम झनै बढेको छ।

महिनाौँदेखि तलब नपाएको विरोधमा स्वास्थ्यकर्मीहरू पटक-पटक हडतालमा उत्रिएका छन्, जसका कारण संक्रमण पुष्टि भएका बिरामीहरूसमेत उपचारबाट वञ्चित हुनुपरेको छ।

सहायता समूहहरूले महामारी नियन्त्रणको व्यवस्थापनप्रति पनि प्रश्न उठाएका छन्। गत महिना अफ्रिका सीडीसीले इबोला नियन्त्रणका लागि प्राप्त भएको ७० करोड अमेरिकी डलरभन्दा बढी सहायता रकमको हिसाबकिताब नदेखिएको भन्दै चिन्ता व्यक्त गरेको थियो।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

महामारी नियन्त्रणका लागि परिचालन गरिएको ठूलो स्रोतसाधन र बिरामी, अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा समुदायसम्म वास्तवमा पुगेको सहयोगबीच चिन्ताजनक खाडल कायमै छ, मानवीय सहायता संस्था ‘डक्टर्स विदाउट बोर्डर्स’ले भनेको छ।

विज्ञहरूका अनुसार बालबालिका, विशेषगरी कुपोषणजस्ता पहिलेदेखि नै स्वास्थ्य समस्या भएकाहरू इबोलाको उच्च जोखिममा छन्। प्रभावित अधिकांश बालबालिकाले विशेष उपचार नपाएका कारण मृत्युदर उच्च देखिएको हो।

युनिसेफका अनुसार नोभेम्बर ४ सम्ममा भएको कुल मृत्युमध्ये ३५ प्रतिशत बालबालिका छन्। कुल मृत्युको २१ प्रतिशत हिस्सा ५ वर्षमुनिका बालबालिकाको छ भने उक्त उमेर समूहका संक्रमित बालबालिकामध्ये झन्डै ७२ प्रतिशतको ज्यान गएको छ।

इबोला रोकथाम तथा नियन्त्रणका उपायहरू सामाजिक र सांस्कृतिक परम्परासँग बाझिँदा स्वास्थ्यकर्मीहरूले कठिन परिस्थितिको सामना गरिरहेका छन्।

महामारी सुरु भएयता स्वास्थ्यकर्मीहरूमाथि आक्रमण हुने गरेको छ, जसमा केहीको ज्यानसमेत गएको छ। यसले पहिलेदेखि नै अस्थिर रहेको क्षेत्रमा काम गर्ने जोखिम झनै बढाएको छ। स्वास्थ्य संस्थाहरूमाथि समेत आक्रमण भएका छन्।

यो प्रकोप विशेषगरी पूर्वी कंगोको इटुरी र नर्थ किभु प्रान्तमा केन्द्रित छ, जहाँका समुदायले महामारीसँगै सशस्त्र द्वन्द्वको समेत सामना गरिरहेका छन्।

सरकारी फौज र रुवान्डाको समर्थन प्राप्त ‘एम२३’ लगायतका सयौँ विद्रोही समूहहरूबीचको लडाइँले पहिले नै विश्वकै गम्भीर मानवीय संकट निम्त्याइसकेको छ। इस्लामिक स्टेटसँग आबद्ध विद्रोही समूह ‘एलाइड डेमोक्रेटिक फोर्सेस’ ले पनि सर्वसाधारणमाथि आक्रमण गर्दै आएको छ।

भाइरसको तीव्र फैलावटले अफ्रिकाभर संक्रमण फैलन सक्ने त्रास बढाएको छ। नाइजेरिया, केन्या र युगान्डामा समेत संक्रमित पुष्टि भएसँगै यो हालसम्मकै सबैभन्दा फराकिलो भौगोलिक क्षेत्रमा फैलिएको इबोला महामारी बनेको छ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →