२५ कार्तिक २०८३, बुधबार| Wednesday, November 11, 2026
अमेरिका

अमेरिकामा महिनौंपछि इन्धनको मूल्यमा राहत: पेट्रोल प्रतिग्यालन ४ डलरभन्दा तल

Photo: engin akyurt/ Unsplash

उच्च इन्धन मूल्यको मार खेपिरहेका अमेरिकी सवारी चालकहरूले केही राहत पाउन थालेका छन्। अमेरिकन अटोमोबाइल एसोसिएसनका अनुसार महिनौंपछि पहिलो पटक पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलरभन्दा तल झरेको छ।

मंगलबार ४ डलरको सीमाभन्दा तल झरेको नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य हाल प्रतिग्यालन ३.९४ डलर कायम भएको छ। पछिल्लो एक महिनामा इन्धनको मूल्य करिब ४० सेन्टले घटेको छ, जसमध्ये अधिकांश गिरावट पछिल्लो दुई सातामा भएको हो।

ग्यासबडीका पेट्रोलियम विश्लेषण प्रमुख प्याट्रिक डि हानले आफ्नो उद्योगसम्बन्धी न्यूजलेटरमा लेखेका छन्, धेरैले हालैको निर्वाचनका कारण मूल्य घटेको अनुमान गर्लान्, तर त्यो भ्रम मात्र हो। अहिले पम्पहरूमा देखिएको यो राहत राजनीतिले नभई मौसमी परिवर्तनका कारण सम्भव भएको हो।

विश्लेषकहरूका अनुसार शरद ऋतु (फल सिजन) सुरु भएसँगै पेट्रोलको मूल्य घट्नुका पछाडि मुख्यतः तीनवटा मौसमी कारण रहेका छन्,इन्धनको अत्यधिक खपत हुने ग्रीष्म ऋतु सकिएको छ। जाडो मौसम सुरु भएसँगै मानिसहरूले कम सवारी चलाउने भएकाले बजारमा इन्धनको माग घटेको छ।

तेल प्रशोधन केन्द्रहरूको वार्षिक मर्मतसम्भारको काम शरद ऋतुको अन्त्यतिर सकिने भएकाले बजारमा इन्धनको आपूर्ति केही सहज भएको छ।

रिफाइनरीहरूले गर्मी र जाडो मौसमका लागि छुट्टाछुट्टै मिश्रणको पेट्रोल उत्पादन गर्छन्। जाडोमा इन्जिन छिटो स्टार्ट गर्न मद्दत पुर्‍याउने ‘विन्टर ब्लेन्ड’ मा ब्युटेनको मात्रा केही बढी प्रयोग गरिन्छ, जसले गर्दा यसको उत्पादन लागत सस्तो पर्न जान्छ। इरान युद्धका कारण बढेको मूल्य नियन्त्रण गर्न अमेरिकी वातावरण संरक्षण एजेन्सी र ऊर्जा विभागले यस वर्ष सेप्टेम्बर १ देखि नै यस्तो सस्तो मिश्रणको बिक्री खुला गरेका थिए।

यद्यपि, अनुसन्धान समूह रिस्ट्याड इनर्जीका भूराजनीति प्रमुख जर्ज लियोनका अनुसार मूल्य घट्नुको सबैभन्दा ठूलो कारण ब्रेन्ट कच्चा तेलको मूल्यमा आएको गिरावट हो। पेट्रोल, डिजेल र हवाई इन्धन बनाउन प्रयोग हुने कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल करिब ९० डलरमा झरेको छ। मध्यपूर्वबाट पाइपलाइनमार्फत केही बढी तेल आपूर्ति हुनु र अमेरिका तथा इरानबीच कूटनीतिक प्रयासहरू तीव्र भएसँगै बजारमा उत्साह देखिनुले कच्चा तेल सस्तिएको हो।

तर, युद्ध पुनः चर्किएमा यो सुधार तुरुन्तै उल्टिन सक्ने चेतावनी लियोनले दिएका छन्।आगामी जनवरीमा डेमोक्रेटहरूले कंग्रेसको नियन्त्रण लिनुअघि वार्तामा आफ्नो पल्ला भारी बनाउन राष्ट्रपति ट्रम्पले थप सैन्य कारबाहीको बाटो रोज्न सक्छन्। यदि द्वन्द्व पुनः चर्कियो भने गत साता तेलको मूल्यमा आएको गिरावट तुरुन्तै उल्टिन सक्छ।” उता, कंग्रेसका डेमोक्रेट सांसदहरूले इरान युद्ध अन्त्य गर्ने पक्षमा समर्थन जनाएका छन्। उनीहरूसँग युद्ध रोक्ने प्रत्यक्ष अधिकार सीमित भए पनि बजेट रोक्ने र महत्वपूर्ण अधिकारीहरूको नियुक्ति अनुमोदन रोक्ने अधिकार भने सुरक्षित छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

डाउ जोन्स इनर्जीका रिफाइनिङ तथा तेल बजार कार्यकारी निर्देशक हाइमे ब्रिटोका अनुसार कच्चा तेल सस्तिँदै गएमा पम्पहरूमा इन्धन अझै सस्तो हुन सक्छ, तर मूल्य तत्कालै इरान युद्ध सुरु हुनुअघिको सामान्य अवस्थामा फर्किहाल्नेछैन।

युद्धअघिको मूल्यमा फर्कनका लागि विश्वव्यापी तेल आपूर्ति शृङ्खला पूर्ण रूपमा सुचारु हुनुपर्छ। हर्मुज जलडमरूमध्य छल्न लामो वैकल्पिक मार्ग प्रयोग गरिरहेका पानीजहाजहरू पुरानै मार्गमा फर्कनुपर्नेछ र रित्तिएका भण्डारहरू भर्न रिफाइनरीहरूले पर्याप्त इन्धन उत्पादन गर्नुपर्नेछ। स्थायी शान्ति सम्झौता भए पनि यो सम्पूर्ण प्रक्रिया पूरा हुन महिनौं लाग्न सक्छ।

हाल प्रतिग्यालन ४ डलरभन्दा तल झरेको मूल्य निकै सस्तो जस्तो देखिए पनि, वर्षको यस समयको तुलनामा अमेरिकामा पेट्रोलको मूल्य अझै पनि इतिहासमै सबैभन्दा उच्च स्तरमा रहेको एएएले जनाएको छ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →