अमेरिकाको भर्जिनियामा पत्नी ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर
अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा उनका श्रीमान् नरेश भट्टलाई दोषी ठहर गरिएको छ। भर्जिनियाको मानासस पार्कस्थित घरबाट सन् २०२४ जुलाईमा बेपत्ता भएकी ममताको हत्या गरेको अभियोगमा मंगलबार बसेको जुरीले भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको हो।
जुरीले ममताको शव अपवित्र बनाएको र लुकाएको अभियोगमा पनि भट्टलाई दोषी ठहर गरेको छ। करिब छ सातासम्म चलेको सुनुवाइमा दर्जनौँ साक्षीले बयान दिएका थिए। गत साता अदालतमा बयान दिने क्रममा भट्टले ममताको शव टुक्राटुक्रा पारेको र फालेको स्वीकार गरेका थिए। तर उनले ममताको हत्या भने आफूले नगरेको दाबी गरेका थिए।
भट्टका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले ममतालाई घरमा मृत अवस्थामा फेला पारेका थिए। ममताले आत्महत्या गरेको हुन सक्ने भन्दै उनले शव हटाएको दाबी गरेका थिए। ममताको शव अहिलेसम्म फेला परेको छैन।
मंगलबार अन्तिम बहसका क्रममा सरकारी वकिलले भट्टको बयानलाई बनावटी कथा भन्दै जुरीलाई त्यसमा विश्वास नगर्न आग्रह गरेका थिए। सरकारी वकिल सारा सामीले भट्टले ममताको हत्या गरेको, शव टुक्राटुक्रा पारेको र फोहोरजस्तै फालेको बताइन्।
उनले ममताको शव भर्जिनियाको लुरे क्षेत्रमा रहेको ल्यान्डफिलमा फालिएको दाबी गर्दै परिवारले कहिल्यै उनको अन्तिम संस्कार गर्न नपाउने अवस्था सिर्जना भएको बताइन्। सरकारी वकिलले ममताको मृत्यु भएको अवस्थामा सामान्य व्यक्तिले प्रहरी वा आपत्कालीन सेवामा फोन गर्ने भन्दै भट्टले शव टुक्राटुक्रा पारेर फाल्नुको कुनै उचित कारण नभएको तर्क गरेका थिए।
अदालतमा बयान दिने क्रममा भट्टले ममताको शव घरमा फेला पारेपछि आफू निकै डराएको र मानसिक रूपमा नियन्त्रण गुमाएको दाबी गरेका थिए। उनका अनुसार ममताको शव नजिकै औषधिका चक्की र विषादीका खुला प्याकेटहरू थिए। उनले ममतालाई बचाउने प्रयास गरे पनि सफल नभएपछि शव हटाउने निर्णय गरेको बताएका थिए।
आफूले ममताको मृत्युमा दोषी ठहरिन सक्ने डरले पनि यस्तो व्यवहार गरेको हुन सक्ने उनले स्वीकार गरेका थिए। भट्टले शवलाई घरमै आराले काटेर टुक्राटुक्रा पारेको र घरमा रहेको फोहोर फाल्ने डस्टबिनमा अट्ने बनाएर हटाएको बयान दिएका थिए। तर उनले शवका अवशेष फोहोरका झोलामा राखेर फालेको भने स्वीकार गरेका थिएनन्।
अभियोजन पक्षले सुनुवाइका क्रममा प्रस्तुत गरेका विभिन्न निगरानी क्यामेराका दृश्यमा भट्टले पञ्जा लगाएर फरकफरक फोहोर फाल्ने स्थानमा थुप्रै झोला फालेको देखिएको थियो। भट्टले ती झोलामा ममताका व्यक्तिगत सामान रहेको तर शवका अवशेष नरहेको दाबी गरेका थिए।
अदालतमा भट्टले गरेको दाबी यसअघि प्रहरी र सञ्चारमाध्यमलाई दिएको बयानभन्दा बिल्कुलै फरक थियो। ममता बेपत्ता भएपछि उनले घर छाडेर गएको र सम्भवतः न्युयोर्क वा टेक्सास पुगेको हुन सक्ने बताएका थिए। अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले अदालतमा उनको पुरानो र नयाँ बयानबीचको विरोधाभासबारे प्रश्न गरेका थिए।
प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका भट्टलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ। शव लुकाएको र अपवित्र बनाएको अभियोगमा थप पाँच–पाँच वर्षसम्मको सजाय हुन सक्ने व्यवस्था छ। भट्टको सजाय निर्धारण आगामी मार्चमा हुने तय भएको छ।





