२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

अध्यागमन भेटघाटमा पुगेका ८ वर्षे बालक हिरासतमा: विद्यालय र समुदायमा चिन्ता

फोटो: होमल्याण्ड सेक्युरिटी

अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगोमा एक ८ वर्षे हाइटीयाली बालकलाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका छन्। बुबा देश निकाला भएपछि ती बालक आफ्ना काकाको संरक्षणमा बस्दै आएका थिए।

प्राप्त जानकारी अनुसार, अध्यागमन अधिकारीको पत्र पाएपछि काकाले कानूनको पालना गर्दै बालकलाई भेटघाटका लागि लगेका थिए। तर, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी अन्तर्गतको आइसले काकासँग कानूनी अभिभावकत्वको प्रमाण नभएको र उनी परिवारको आधिकारिक सदस्य नदेखिएको भन्दै बालकलाई ‘अभिभावकविहीन नाबालक’ घोषित गर्‍यो। त्यसपछि बालकलाई सान डिएगोको ‘फे एलिमेन्ट्री’ स्कूलबाट छुटाएर शरणार्थी पुनर्वास कार्यालयको आश्रयस्थलमा पठाइएको छ।

सान डिएगो युनिफाइड स्कूल डिस्ट्रिक्टका अधिकारीहरूले होमल्यान्ड सेक्युरिटी र स्वास्थ्य तथा मानव सेवा मन्त्रालयलाई पत्र लेख्दै यस कदमको तीव्र विरोध जनाएका छन्। विद्यालय प्रशासन, स्थानीय नेताहरू र युनियनहरूले बालकलाई आफ्नै विद्यालय क्षेत्र आसपासका आफन्त वा ‘फोस्टर होम’ मा राख्न र उनीहरूको शिक्षा तथा मानसिक स्वास्थ्यको रक्षा गर्न माग गरेका छन्।

यो घटना राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा सुरु भएको व्यापक देश निकाला अभियान र हाइटीयाली नागरिकहरूलाई दिइँदै आएको ‘अस्थायी संरक्षित स्थिति’ समाप्त गर्ने निर्णयको परिणाम मानिएको छ। सर्वोच्च अदालतको आदेशपछि जुलाई २७ देखि हाइटीयालीहरूका लागि टिपीएस सुविधा अन्त्य गरिएको थियो, जसका कारण हजारौँ परिवारहरू कानुनी सङ्कटमा परेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।