अमेरिकी जस्टिस डिपार्टमेन्टका दुई शीर्ष अधिकारीद्वारा राजीनामा, वरिष्ठ अधिकारीहरू बाहिरिने क्रम तीव्र
मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कंग्रेसमा बहुमत गुमाएसँगै अमेरिकी जस्टिस डिपार्टमेन्टबाट वरिष्ठ अधिकारीहरू बाहिरिने क्रम तीव्र बनेको छ।
शुक्रबार जस्टिस डिपार्टमेन्टका दुई शीर्ष अधिकारी-राष्ट्रिय सुरक्षा महाशाखाका प्रमुख जोन आइजनबर्ग र ट्रम्पविरुद्ध भएका विगतका आपराधिक छानबिनहरूको पुन: अनुसन्धान गरिरहेका जेसन रेडिङ क्विनोनेसले आफ्नो पदबाट राजीनामा दिएका छन्। यसअघि बिहीबार मात्र नागरिक अधिकार एकाइकी प्रमुख हरमित ढिल्लोनले राजीनामा दिएकी थिइन्।
यी लगातारका राजीनामाहरूसँगै जस्टिस डिपार्टमेन्ट आफ्ना दुई प्रमुख तथा विवादास्पद पहलहरू-उच्च शिक्षालाई लक्षित गर्ने र पूर्वप्रशासनविरुद्धका पुराना अनुसन्धानहरूको पुनः छानबिन गर्नेमा नेतृत्वविहीन बनेको छ।
आइजनबर्ग र क्विनोनेसले राजीनामा दिनुको आधिकारिक कारण खुलाएका छैनन्। यद्यपि, अमेरिकी राजनीतिमा मध्यवधि निर्वाचनपछि, विशेष गरी सत्तामा रहेको वा समर्थन पाएको दलले ठूलो राजनीतिक धक्का बेहोरेपछि वरिष्ठ सरकारी अधिकारीहरूले पद छाड्नुलाई सामान्य रूपमा लिइन्छ। निर्वाचनमा विजय हासिल गरेपछि डेमोक्र्याटहरूले ट्रम्प प्रशासन र उनको व्यावसायिक कारोबारमाथि विस्तृत छानबिन तथा अनुसन्धान गर्ने तयारी गरिरहेका छन्।
फ्लोरिडाको साउथर्न डिस्ट्रिक्टका लागि अमेरिकी अधिवक्ताका रूपमा कार्यरत क्विनोनेस, आफ्ना राजनीतिक विरोधीहरूमाथि अनुसन्धान अघि बढाउन ट्रम्पले जस्टिस डिपार्टमेन्टलाई प्रयोग गर्न खोजेका प्रयासहरूको केन्द्रमा थिए। उनको कार्यालयलाई सन् २०२१ मा पद छाडेपछि ट्रम्पले गोप्य कागजातहरू व्यवस्थापन गरेको विषय र सन् २०१६ को चुनावमा उनको अभियानको रुससँगको सम्बन्धबारे भएका आपराधिक छानबिनहरूको पुन: अनुसन्धान गर्ने जिम्मेवारी दिइएको थियो।
यो अनुसन्धानको मुख्य उद्देश्य राष्ट्रपति ट्रम्प दीर्घकालीन आपराधिक षड्यन्त्रको शिकार भएका हुन् भन्ने पुष्टि गर्नु थियो। तर, अहिलेसम्म यस अनुसन्धानबाट कुनै प्रत्यक्ष आपराधिक अभियोग दर्ता हुन सकेको छैन। यसै अनुसन्धानको रेखदेख गरिरहेका अभियोजक जोसेफ डिजेनोभाले गत सेप्टेम्बरमै राजीनामा दिइसकेका छन्।
मायामीका शीर्ष सङ्घीय अभियोजकका रूपमा क्विनोनेसको कार्यकालमा दर्जनौँ अभियोजकहरूले कार्यालय छाडेका थिए भने जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटल हिलमा आक्रमण गरेको अभियोग लागेका व्यक्तिहरूमाथि मुद्दा चलाउने केही अधिकारीहरूलाई बर्खास्त गरिएको थियो। उनको कार्यालय भेनेजुएला र क्युबाविरुद्धका दबाब अभियानमा अग्रपंक्तिमा थियो, जसअन्तर्गत क्युबाका पूर्वराष्ट्रपति राउल कास्ट्रोविरुद्ध आपराधिक अभियोग लगाइएको थियो।
अर्कातिर,शान्त स्वभावमा काम गर्ने जोन आइजनबर्गको राष्ट्रिय सुरक्षा महाशाखा पनि मन्त्रालयका केही अत्यन्तै विवादास्पद कारबाहीहरूमा संलग्न थियो। यस महाशाखाले सूचना चुहावटको अनुसन्धानका क्रममा वासिङ्टन पोस्ट का एक पत्रकारको घरमा असामान्य छापा मारेको थियो। साथै, कुनै पनि आपराधिक अभियोग नलगाइएका अफगानिस्तानका एक वैधानिक स्थायी बासिन्दालाई देश निकाला गर्न सन् १९९६ मा गठित गोप्य अदालतमा पहिलो पटक मुद्दा लैजान पनि यसै महाशाखाले सहयोग गरेको थियो।





