अमेरिकी मध्यावधि निर्वाचन: ट्रम्पको कार्यकाल र एजेन्डामाथि जनमतसंग्रहका रूपमा मतदान जारी
प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार
Photo: Jesse Paul/ Unsplash
अमेरिकी नागरिकहरूले मंगलबार नयाँ संसद चयनका लागि मतदान गरिरहेका छन्। यस मध्यावधि निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल, उनका नीति तथा कार्यशैलीमाथिको जनमतसंग्रहका रूपमा हेरिएको छ।
संसद्का दुवै सदन-सिनेट र प्रतिनिधि सभामा हाल सत्तारूढ रिपब्लिकन पार्टीको बहुमत रहेको छ। विपक्षी डेमोक्रेटिक पार्टीले संसद्मा बहुमत हासिल गरी ट्रम्पका असीमित अधिकार र निर्णयहरूमाथि अंकुश लगाउने उद्देश्यसहित चुनावी प्रचार तीव्र पारेको थियो।
अमेरिकी प्रतिनिधि सभाका सम्पूर्ण ४३५ सिट र सिनेटका ३५ सिटका लागि मतदान भइरहेको छ। इतिहास अनुसार ह्वाइट हाउसमा जुन दलको राष्ट्रपति हुन्छ, मध्यावधि निर्वाचनमा सोही दलले सिट गुमाउने सम्भावना बढी हुन्छ।
राष्ट्रपति ट्रम्पले देशभर दर्जनौँ र्यालीहरू सम्बोधन गर्दै आफ्ना समर्थकहरूलाई रिपब्लिकन उम्मेदवारहरूको पक्षमा मतदान गर्न आह्वान गरेका छन्।
डेमोक्र्याटहरूले बढ्दो महँगी, इरानसँगको सैन्य द्वन्द्वका कारण इन्धनको मूल्यमा भएको वृद्धि, आप्रवासनमाथि कडाइ र भ्रष्टाचार जस्ता विषयलाई प्रमुख मुद्दा बनाएका छन्।
मिसिगनमा डेमोक्र्याटिक सांसद ह्याले स्टेभन्सले आफ्नै पार्टीका उम्मेदवार अब्दुल अल-सयदको सट्टा रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई समर्थन गरेपछि पार्टीभित्र तीव्र विवाद सिर्जना भएको छ। अलास्कामा भने जस्टिस डिपार्टमेन्टले दायर गरेको कानुनी निवेदनलाई अदालतले खारेज गरिदिएको छ।
न्यूयोर्क टाइम्स र सिएना कलेजका अन्तिम जनमत सर्वेक्षणहरूले प्रतिनिधि सभामा डेमोक्र्याटहरूको पल्ला भारी हुने र टेक्सास तथा क्यान्सस जस्ता परम्परागत रिपब्लिकन गढहरूमा समेत कडा प्रतिस्पर्धा हुने देखाएका छन्। मतदान सम्पन्न भएपछि मतगणनातर्फ ध्यान केन्द्रित हुनेछ।





