अमेरिका र इरानबीच तनाव कायमै, द्वन्द्व रोक्न कतारद्वारा कूटनीतिक पहल तीव्र
प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार
फाइल फोटो : एएफपी/रासस
इरान र संयुक्त राज्य अमेरिकाबीच जारी तनाव तथा सैन्य द्वन्द्व अन्त्य गर्ने सम्झौता अझै टाढा रहेको एक वरिष्ठ इरानी अधिकारीले बताएका छन्। अमेरिकी मध्यावधि निर्वाचन पछि हुनसक्ने सम्भावित द्वन्द्व रोक्न र मतभिन्नता कम गर्न मध्यस्थकर्ता कतारले आफ्ना प्रयासहरू तीव्रताका साथ अघि बढाएको छ।
सोमबार राति अमेरिकाले इरानको केसम् द्विपमा सुरक्षात्मक हवाई हमला गरेको थियो। एक अमेरिकी अधिकारीका अनुसार उक्त हमला अमेरिकी सम्पत्ति विरुद्ध प्रयोग गरिएका सतहबाट हवाइमार्क गर्ने क्षेप्यास्त्रलाई लक्षित गरी गरिएको हो। अर्का अधिकारीले यो सीमित प्रकारको हमला भएको र यसले पूर्णकालीन सैन्य अभियानको सङ्केत नगरेको स्पष्ट पारेका छन्।
गत फेब्रुअरीमा अमेरिका र इजरायलद्वारा सुरु भएको यो द्वन्द्व फेरि चर्कनसक्ने आशङ्काका बीच कतारले कुटनीतिक पहल तीव्र बनाएको छ। कतारी मध्यस्थकर्ताहरूको टोली सोमबार राति तेहरान पुगेर विगत आठ दिनदेखि छलफलमा रहेको मस्यौदा सम्झौताबारे कुराकानी गरी दोहा फर्किएको छ।
इरानी अधिकारीले चेतावनी दिँदै भने, “यदि अमेरिकाले होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्न चाहन्छ भने तेहरानका सर्तहरू पूरा हुनैपर्छ।” कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीका अनुसार दुवै पक्षले मध्यस्थकर्ताहरूले पेस गरेका प्रस्तावहरूको समीक्षा गरिरहेका छन्।
वरिष्ठ इरानी अधिकारीले तेहरानले वाशिंगटनका अत्यधिक मागहरू स्वीकार नगर्ने र आफ्ना सर्तहरू पूरा भएपछि मात्र आणविक वार्ता सुरु हुनसक्ने बताएका छन्। यदि अमेरिकाले थप हमला गरेमा इरानले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमै कडा जवाफ दिने चेतावनी दिएको छ।
इरानी क्रान्तिकारी गार्ड्सले होर्मुज जलडमरूमध्य क्षेत्रमा अमेरिकाको एक ‘एमक्यु-९ ड्रोन र दुई वटा ‘लुकास’ ड्रोन खसालेको दाबी गरेको छ। इरानी संसदका सभामुख मोहम्मद बाकर कलिबाफले तेहरानले कडा र तर्कसङ्गत जवाफ दिइसकेकाले अब निर्णयको बल वाशिंगटनको कोर्टमा रहेको बताएका छन्।
इरानका सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनेईले सैन्य बललाई कुनै पनि खतराको तुरुन्त र भौगोलिक सीमाविना जवाफ दिन निर्देशन दिएपछि इरानी अधिकारीहरूले क्षेत्रीय बाहिरका अमेरिकी सैन्य अड्डाहरूलाई समेत लक्षित गर्न सकिने सङ्केत दिएका छन्।
द्वन्द्वको असर क्षेत्रीय स्तरमा फैलिँदै जाँदा क्षेत्रीय शक्तिहरू पनि कूटनीतिक प्रयासमा लागेका छन्। इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाका तेल संरचना र विमानस्थलहरूमा आक्रमण गरेपछि साउदीले पनि येमेनमा हवाई हमला जारी राखेको छ।
इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले वैदेशिक सैन्य हस्तक्षेपविहीन नयाँ क्षेत्रीय सुरक्षा व्यवस्था कायम गर्न साउदी अरेबियासँग वार्ता जारी रहेको जानकारी दिएका छन्।





