मनास्लु पदमार्गमा बाढीको धक्का सयौँ विदेशी पर्यटक अलपत्र, साहसिक पर्यटनको मुख्य सिजन संकटमा
प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार
फोटो: साइराम उपरकोटी
काठमाडौँ। नेपालको पर्यटन क्षेत्रका लागि सेप्टेम्बरदेखि नोभेम्बरसम्मको तीन महिनालाई पदयात्राको मुख्य ‘पिक सिजन’ मानिन्छ। यस अवधिमा देशभरि विदेशी पर्यटकको आगमन चरम बिन्दुमा पुग्छ र साहसिक पर्यटनबाट ठूलो विदेशी मुद्रा आर्जन हुने अपेक्षा गरिन्छ। तर यही मुख्य सिजनको मुखैमा आएको प्राकृतिक विपत्तिले मुलुकको साहसिक पर्यटन क्षेत्रलाई गम्भीर धक्का पुर्याएको छ। भोटेकोशी नदीमा आएको बाढीले लाङटाङ क्षेत्रको पदयात्रा पूर्ण रूपमा ठप्प भएको डेढ महिना नबित्दै बुढीगण्डकी नदीमा आएको भीषण बाढीले मनास्लु पदमार्ग क्षेत्रलाई समेत अस्तव्यस्त बनाएको छ। बाढीले मुख्य पदमार्ग, सडक सञ्जाल तथा झोलुङ्गे पुलहरूमा व्यापक क्षति पुर्याएपछि सयौँ विदेशी पर्यटक, गाइड र भरियाहरू बाटोमै अलपत्र परेका छन्। यसले नेपालको साहसिक पर्यटन क्षेत्रमा ठूलो त्रास र अन्योल सिर्जना गरेको छ।
देशगत रूपमा हेर्दा सबैभन्दा बढी नागरिकहरू जर्मनीबाट ९३ जना (मनास्लुमा ७७ र चुम भ्यालीमा १६) रहेका छन् भने संयुक्त राज्य अमेरिकाबाट ८० जना (मनास्लुमा ६४ र चुम भ्यालीमा १६) र फ्रान्सबाट ६४ जना (मनास्लुमा ५५ र चुम भ्यालीमा ९) रहेका छन्। त्यस्तै, अस्ट्रेलियाबाट ६२ जना, इजरायलबाट ५८ जना, नेदरल्यान्ड्सबाट ५४ जना, र बेलायतबाट ५२ जना पदयात्रीहरू रहेका छन्।
यसैगरी बेल्जियमबाट ३३ जना, क्यानडा र इटालीबाट ३१/३१ जना, न्यूजिल्यान्डबाट २६ जना, पोल्यान्ड र स्पेनबाट २४/२४ जना, स्विट्जरल्यान्डबाट २३ जना, तथा भारतबाट २२ जना नागरिकहरू यी पदमार्गहरूमा रहेका छन्। १५ जनाका दरले रसिया र थाइल्यान्डबाट, १४ जनाका दरले अस्ट्रिया र डेनमार्कबाट, र ११ जना चेक रिपब्लिकबाट पदयात्रामा रहेका छन्।
यसैक्रममा चीन, स्वीडेन, र भियतनामबाट ९/९ जना; आयरल्यान्ड, लिथुआनिया, र नर्वेबाट ८/८ जना; सिंगापुरबाट ६ जना; अर्जेन्टिना, जापान, लात्भिया, रोमानिया, र स्लोभाकियाबाट ४/४ जना; बंगलादेश, फिनल्यान्ड, दक्षिण अफ्रिका, र युक्रेनबाट ३/३ जना पदयात्री रहेका छन्। यसैगरी ब्राजिल, इक्वेडर, हङकङ, केन्या, माल्टा, पेरु, र फिलिपिन्सबाट २/२ जना नागरिक रहेका छन् भने बेलारुस, टर्की, बोत्स्वाना, बुल्गेरिया, चिली, लाओस, स्लोभेनिया, क्रोएसिया, डोमिनिकन रिपब्लिक, किर्गिजस्तान, एस्टोनिया, पोर्चुगल, इरान, मलेसिया, लेबनान, र कोसोभो जस्ता देशहरूबाट १/१ जना मात्र नागरिकहरू ती ठाउँहरूमा hold वा पदयात्रामा रहेको अध्यागमको प्रबक्ता गीता घिमिरे ले गर्याका छिन ।
विपत्ति लगत्तै मनास्लु संरक्षण क्षेत्र आयोजना (NTNC/MCAP) र स्थानीय प्रशासनले उद्धार तथा सुरक्षाको पहल थालेका छन्। आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार शनिबार मात्र ९८ जना नयाँ विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गरेका थिए। हाल जगत र त्यस आसपासका क्षेत्रमा पुगेका सबै पर्यटकहरू सुरक्षित रहेको र उनीहरूलाई आवश्यकता अनुसार हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ। यद्यपि बाटो पूर्ण रूपमा अवरुद्ध भएकाले माछाखोला, खोर्लाबेसी, लापु र जगत क्षेत्रमा पर्यटक तथा उद्धार टोलीहरू अगाडि बढ्न सकेका छैनन्। बाढीले मुख्य पदमार्ग र वैकल्पिक पैदल मार्गहरूमा समेत क्षति पुर्याएकाले पर्यटकहरू अगाडि बढ्ने वा फर्किने भन्ने विषयमा अन्योलमा छन्। स्थानीय प्रशासनले सुरक्षा सुनिश्चित गर्दै उद्धार कार्यलाई प्राथमिकता दिएको बताए पनि बाटो खुलाउने काम समयमै नभए स्थिति झनै जटिल बन्ने देखिन्छ।
पर्यटन व्यवसायी तथा पदप्रदर्शक टी.एन. भट्टाका अनुसार काठमाडौँबाट धादिङबेसी र आरुघाट हुँदै माछाखोलासम्म सडक पहुँच भए पनि आरुघाट वरपरका पुलहरू बगेका र गोर्खातर्फको बाटो कटान भएकाले यातायात ठप्प छ। मनास्लु क्षेत्र नियन्त्रित तथा संरक्षित (Restricted Area) भएकाले जगत र फिलिममा रहेका मुख्य परमिट जाँच चौकीमा अनिवार्य दर्ता गराउनुपर्ने हुन्छ। वैकल्पिक पैदल मार्गहरू भए पनि तिनले मुख्य जाँच चौकीलाई नै जोड्ने र तिनमा समेत क्षति पुगेकाले स्थिति झनै जटिल बनेको छ। सीमित भिसा अवधि र निश्चित भ्रमण तालिका लिएर आएका पर्यटकहरूका लागि यो स्थिति निकै असहज बनेको छ। गाइड र भरियाहरू पनि पर्यटकसँगै अलपत्र परेका छन् भने स्थानीय होटल र चिया पसल सञ्चालकहरूको आम्दानी पूर्ण रूपमा ठप्प भएको छ।
पछिल्ला एक-दुई वर्षयता मनास्लु पदमार्ग काठमाडौँबाट नजिक र तुलनात्मक रूपमा सुलभ भएकाले पर्यटकको प्रमुख रोजाइ बन्दै गएको थियो। सिजनको समयमा दैनिक १५० देखि २०० जनासम्म विदेशी पर्यटक प्रवेश गर्ने यो क्षेत्रमा सुरुवातमै बाटो अवरुद्ध हुँदा समग्र पर्यटन क्षेत्रमा त्रास फैलिएको छ। यदि बाटो तत्काल नखुलेमा केही पर्यटकहरू अन्नपूर्ण वा मुस्ताङजस्ता खुला पदमार्गतिर मोडिन सक्ने सम्भावना रहे पनि अक्टोबरको मुख्य सिजनमै आएको यस विपत्तिले नेपालको साहसिक पर्यटनको छवि र आम्दानी दुवैमा गम्भीर असर पुर्याएको छ। नोभेम्बरपछि पर्यटकीय गतिविधि घट्दै जाने भएकाले यो वर्षको मनास्लु सिजन लगभग प्रभावित हुने निश्चित प्रायः देखिएको छ। यसले स्थानीय अर्थतन्त्रमा समेत गहिरो असर पारेको छ। गाइड, भरिया, होटल सञ्चालक र साना व्यवसायीहरूको आम्दानी ठप्प भएको छ भने सिजनभरिको अपेक्षित आम्दानी गुम्ने जोखिम बढेको छ।
बाढीले सडक र पुलहरूमा पुर्याएको क्षति मर्मत गर्न समय लाग्ने भएकाले तत्काल राहत र उद्धारमा जोड दिन आवश्यक देखिएको छ। स्थानीय प्रशासन र संरक्षण आयोजनाले पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्दै उद्धार कार्यलाई प्राथमिकता दिइरहेको बताए पनि बाटो खुलाउने काम समयमै नभए सिजनभरि नै असर पर्ने देखिन्छ। साहसिक पर्यटन नेपालको महत्वपूर्ण आयस्रोत भएकाले यस्ता विपत्तिले दीर्घकालीन रूपमा पर्यटन छविमा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ। यस घटनाले जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी र पहिरोको जोखिमप्रति पनि ध्यान आकर्षित गरेको छ। अबको केही दिनमा बाटो खुलाउने र पर्यटकहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने प्रयास सफल भए मात्र यो सिजनको क्षति केही हदसम्म कम गर्न सकिने अवस्था रहेको छ।





