अमेरिकी निर्वाचनका मतपत्र फोहोरमा फाल्ने पूर्व हुलाक कर्मचारीविरुद्ध सङ्घीय मुद्दा दायर
प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार
Photo by Tingey Injury Law Firm
अमेरिकी हुलाक सेवाका एक पूर्व कर्मचारीले सर्वसाधारणलाई वितरण गर्नुपर्ने हुलाक पत्र तथा मतपत्रहरू गैरकानुनी रूपमा फोहोरको डब्बामा फालेको अभियोगमा मुद्दा दायर गरिएको छ। अमेरिकाको युटा राज्यका करिब ३०० जना दर्ताभएका मतदाताका लागि पठाइएका प्राथमिक निर्वाचनका मतपत्रहरू फोहोरमा फालिएको दाबी गरिएको छ।
पेसन, युटा निवासी ३४ वर्षीय डामन माटाई सी विरुद्ध सेप्टेम्बर १६ मा सङ्घीय ग्रान्ड जुरीले अभियोग पत्र तयार पारेको थियो। उनलाई पक्राउ गरी सोल्ट लेक सिटीस्थित ओरिन जी. ह्याच अमेरिकी जिल्ला अदालतमा उपस्थित गराइएको छ।
कार्यवाहक नायब न्यायाधिवक्ता ट्रन्ट म्याकोटरका अनुसार, “अमेरिकी मतदाताहरूले कानुनबमोजिम खसालेको मत गणना हुन्छ भन्नेमा उनीहरू पूर्ण रूपमा विश्वस्त हुनुपर्छ। सयौँको सङ्ख्यामा मतपत्र फोहोरमा फाल्नु गम्भीर सङ्घीय अपराध हो, जसले निर्वाचनको निष्पक्षतामाथि आघात पुर्याउँछ।”
युटा जिल्लाका लागि अमेरिकी सरकारी वकील मेलिसा होल्याकले भनिन्, “आफूलाई बुझाइएको चिठीपत्र तथा मतपत्र फोहोरमा फालेर अभियुक्तले ती नागरिकहरूको मतदान गर्न पाउने संवैधानिक अधिकार खोस्ने काम गरेका छन्। हाम्रो कार्यालय र कानुनी निकायहरूले यस प्रकारका अपराधलाई गम्भीरताका साथ लिँदै निष्पक्ष छानबिन जारी राख्नेछन्।”
अदालतको कागजात अनुसार, जुन ३, २०२६ मा सी इगल माउन्टेन, युटाका कम्तीमा ३०० जना बासिन्दाका लागि आएका पत्रहरू पुर्याउने जिम्मेवारीमा खटिएका थिए। ती सामग्रीहरूमा विज्ञापन पत्रका साथै जुन २३, २०२६ मा हुने प्राथमिक निर्वाचनका लागि पठाइएका मतपत्रहरू समावेश थिए। तर अभियुक्त सीले ती पत्रहरू र मतपत्रहरू चर्चको पार्किङ स्थलमा रहेको फोहोरको डब्बामा फालेका थिए।
उक्त घटनाको अनुसन्धान ‘अमेरिकी हुलाक सेवा महानिरीक्षकको कार्यालय’ र ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन्स’ ले संयुक्त रूपमा गरेका हुन्। अभियुक्त सीको अर्को अदालत उपस्थिति नोभेम्बर ३० का लागि तोकिएको छ।





