अमेरिकामा ठगी रोक्न ओबामाकेयरका ७ लाख ६० हजार दर्ता खारेज, ब्रोकरहरूमाथि रोक


प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार

Photo: Vlad Deep /Unsplash

ट्रम्प प्रशासनले जालसाजीपूर्ण तरिकाले दर्ता गरिएको शङ्का लागेका ७,६०,००० भन्दा बढी व्यक्तिहरूको ‘ओबामाकेयर’ स्वास्थ्य योजनाको दर्ता रोक्न लागेको उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताएका छन्। यो ठगी निवारण अभियानबाट करदाताको २.२ अर्ब डलर जोगिने अनुमान गरिएको छ।

अमेरिकी सेन्टर फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसेसले गत महिना नागरिकता वा आप्रवासनसम्बन्धी अप्रमाणित कागजात र शङ्कास्पद दर्तालाई कारण देखाउँदै करिब ३,१५,००० स्वास्थ्य योजनाहरू रद्द गरिसकेको छ।

एजेन्सीले सामाजिक सुरक्षा नम्बर जस्ता आवश्यक कागजातबिना नै सन् २०२६ का लागि अस्वाभाविक रूपमा धेरै आवेदन दर्ता गराएको अभियोगमा ५६९ ब्रोकरहरूलाई प्रतिबन्ध लगाउनेछ।

डेमोक्र्याटिक पूर्वराष्ट्रपति बराक ओबामाको ‘अफोर्डेबल केयर एक्ट’ अन्तर्गत बनाइएका यी स्वास्थ्य योजनाहरूले आम्दानीका आधारमा अनुदान उपलब्ध गराउँछन्। रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा यस कानूनलाई रद्द गर्ने असफल प्रयास गरेका थिए भने अहिले पनि यसलाई कम प्रभावकारी बनाउने प्रस्तावहरू ल्याएका छन्।

बढ्दो उपचार खर्च र कोरोना महामारीको समयमा दिइएको अतिरिक्त अनुदानको म्याद सकिएसँगै महसुस गरिएको उच्च मासिक शुल्कका कारण यस वर्ष लाखौँ मानिसहरूले यो सेवा छोडेका छन्।

भान्सका अनुसार रद्द गरिएका ग्राहकहरूमा काल्पनिक मानिसहरूका साथै योग्यता नपुगेका वास्तविक मानिसहरू” समावेश छन्। तीमध्ये केहीलाई दलालहरूले उनीहरूको जानकारीबिना नै दर्ता गराएका थिए। भान्सले प्रशासनले थप ४,१९,००० देखि ४,५०,००० मानिसहरूको वैधानिक बसोबास र आम्दानीको सिमाना पुष्टि गर्न थप जाँच गर्ने जानकारी दिए।

सिएमएसका प्रशासक मेहमेत ओजले दर्ता भएका धेरैजसो मानिसहरू अस्तित्वमै नरहेको वा उनीहरूलाई बीमा भएको जानकारी नै नभएको बताएका छन्। ती ग्राहकहरूले कहिल्यै दाबी  नगरेको र बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकोले उनीहरूलाई “काल्पनिक” मानिएको हो।

प्रशासनले अग्रिम सूचना र परामर्शको सामान्य प्रक्रियालाई पन्छाउँदै ओबामाकेयरका नयाँ ब्रोकर दर्तामा तुरुन्तै राष्ट्रव्यापी रोक लगाउन आपत्कालीन नियम लागू गर्दैछ। ओजले यसलाई छ महिनाको “अस्थायी राष्ट्रव्यापी रोक” भन्दै धेरैजसो ठगी यस्तै एजेन्टहरूमार्फत भइरहेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिएमएसका अनुसार केही दलालहरूले आवेदकको वास्तविक अनुमतिबिना दर्ता गर्ने, अनुमतिबिना योजना परिमार्जन गर्ने, गलत विवरण भर्ने वा कमिसन लिन शङ्कास्पद आवेदन सिर्जना गर्ने काम गरेका छन्। २०२६ को दर्ता नभएका ब्रोकरहरूलाई फेब्रुअरी १, २०२७ सम्म नियन्त्रणमा राखिनेछ। विश्लेषकहरूका अनुसार यो रोकले नयाँ ग्राहक दर्ताका लागि ब्रोकरमा निर्भर रहने बीमा कम्पनीहरूलाई घाटा पुर्‍याउन सक्छ।

मार्निङस्टारकी विश्लेषक जुली अटरब्याकका अनुसार ब्रोकरहरू ग्राहक दर्ताका मुख्य माध्यम भएकाले यो रोकले नामांकनमा नकारात्मक असर पार्न सक्छ।

यसै गरी, नेसनल एसोसिएसन अफ बेनिफिट्स एन्ड इन्स्योरेन्स प्रोफेशनलका अध्यक्ष माइकल वाकरले पूर्ण प्रतिबन्धले ठगी गर्नेहरूलाई कारबाही गर्नुको साटो वैधानिक पेशेवरहरूलाई दण्डित गर्ने भन्दै लक्षित सुरक्षा उपायहरू अपनाउन सिएमएसलाई आग्रह गरेका छन्।

सिएमएसले सन् २०२६ को योजना वर्षमा अनधिकृत ओबामाकेयर दर्ताका कारण ६.६ अर्ब डलरसम्म अनुचित सरकारी खर्च हुन सक्ने बताएको छ।

यी खारेजीहरू भान्सको ठगी नियन्त्रण कार्यदलले अघि बढाएको हो, जसमा स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जुनियर, ओज र फेडरल ट्रेड कमिसनका अध्यक्ष एन्ड्रयु फर्गुसन सामेल छन्।

रद्द गरिएका दर्ताहरूबाट करिब २.२ अर्ब डलर बराबरको अग्रिम कर छुट फिर्ता हुने सिएमएसको अपेक्षा छ। ओजले यो रकम अझै बढ्ने बताउँदै यसलाई शुरुवात मात्र भनेका छन्।

यस अघि सार्वजनिक गरिएको स्वास्थ्य मन्त्रालयको प्रतिवेदन अनुसार सन् २०२१ देखि २०२४ बीचका करिब आधा ओबामाकेयर दर्ताहरू अनुचित वा फर्जी हुन सक्ने अनुमान गरिएको थियो। सिएमएसका अनुसार १० लाखभन्दा बढी मानिसले सामाजिक सुरक्षा नम्बर प्रदान नगरी नै स्वास्थ्य सुविधा प्राप्त गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com