आइसको कडा कारबाहीले अमेरिकामा निर्माण क्षेत्र प्रभावित: श्रम अभाव र लागत वृद्धिले व्यवसायी चिन्तित
प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार
Photo:Documerica/ Unsplash
अमेरिकाका घरनिर्माताहरूले आइसको तीव्र कारबाहीका कारण आफूहरूको व्यवसायमा ठूलो समस्या उत्पन्न भएको बताएका छन्। जॉन बर्न्स रिसर्च एन्ड कन्सल्थिङले हालै गरेको एक सर्वेक्षणमा घरनिर्माताहरूले श्रम अभाव मुख्य चुनौती बनेको उल्लेख गरेका हुन्।
ह्युस्टन, भर्जिनिया र फ्लोरिडाका निर्माण व्यवसायीहरूका अनुसार आइसको सक्रियताका कारण कामदारको अभाव भएको छ, जसले गर्दा नयाँ घर निर्माण सुरु गर्न र काम सम्पन्न गर्न लाग्ने समय लम्बिएको छ।
नेसनल एसोसिएसन अफ होमबिल्डर्सका अध्यक्ष बिल ओवेन्सका अनुसार अध्यागमन छापाका कारण कानुनी रूपमा काम गर्न अनुमति पाएका कामदारहरू समेत काममा आउन डराएका छन्।
बढ्दो धितोकर्जा दर, ट्यारिफ तथा अन्य द्वन्द्वका कारण बढेको निर्माण सामग्रीको मूल्य र डेटा सेन्टर निर्माण क्षेत्रसँगको प्रतिस्पर्धाले गर्दा यो समस्या थप जटिल बनेको छ।
सन् २०२४ को जनगणना तथ्याङ्क अनुसार अमेरिकाको निर्माण क्षेत्रमा २६ प्रतिशतभन्दा बढी कामदार आप्रवासी रहेका छन्।पर्खाल निर्माणमा ५७ प्रतिशत र छत निर्माणमा ५३ प्रतिशत आप्रवासी कामदार कार्यरत छन्।
ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले आइसले केवल गैरकानुनी रूपमा बसेकाहरूलाई मात्र पक्राउ गरिरहेको बताउँदै अमेरिकी नागरिकहरू नै श्रम क्षेत्रको आवश्यकता पूरा गर्न सक्षम रहेको दाबी गरेकी छन्।





