नयाँ पब्लिक चार्ज नियम: ‘ग्रिनकार्ड छ भन्दैमा लामो विदेश बसाइपछि पुनःप्रवेश सहज नहुन सक्छ’
न्युयोर्कका अध्यागमन वकिल केशवराज सेडाई। फोटो: राजन काफ्ले
न्युयोर्क — अमेरिकाको नयाँ ‘पब्लिक चार्ज’ नियम शुक्रबारदेखि लागू भएको छ। नयाँ व्यवस्थाले सामान्यतया ग्रिनकार्डधारीलाई लागू नहुने पब्लिक चार्ज परीक्षणको दायरा लामो समय अमेरिकाबाहिर बसेर पुनः प्रवेश गर्न खोज्ने केही स्थायी बासिन्दासम्म विस्तार गर्न सक्ने अध्यागमन कानुन व्यवसायी केशव राज सेडाईले बताएका छन्।
अमेरिकी होमल्यान्ड सेक्युरिटीले जुलाईमा फेडरल रजिस्टरमा प्रकाशित गरेको नियम सेप्टेम्बर १८, २०२६ वा त्यसपछि गरिएका अमेरिका प्रवेशका आवेदन तथा सोही मितिदेखि दायर गरिएका स्टाटस समायोजनका आवेदनमा लागू हुन्छ। नयाँ नियमले सन् २०२२ को तुलनात्मक रूपमा सीमित पब्लिक चार्ज ढाँचा प्रतिस्थापन गरेको छ।
सन् २०२२ को नियमअन्तर्गत पब्लिक चार्ज निर्धारण मुख्यतः दुई प्रकारका सरकारी सुविधासँग जोडिएको थियो—आय कायम राख्न दिइने नगद सहायता र सरकारको खर्चमा लामो अवधिको संस्थागत हेरचाह। नयाँ नियमले भने अधिकारीहरूलाई व्यक्तिको समग्र परिस्थितिको थप व्यापक र केसअनुसार मूल्यांकन गर्ने अधिकार दिन्छ।
सेडाईका अनुसार पब्लिक चार्जसम्बन्धी नियम सामान्यतया पहिले नै ग्रिनकार्ड प्राप्त गरिसकेका व्यक्तिमा लागू हुँदैन। तर लामो समय अमेरिकाबाहिर बस्ने स्थायी बासिन्दाका लागि संघीय अध्यागमन कानुनमा महत्वपूर्ण अपवाद छ।
अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐनअनुसार कुनै वैध स्थायी बासिन्दा लगातार १८० दिनभन्दा बढी अमेरिकाबाहिर बसेर फर्किँदा उसलाई पुनः अमेरिका प्रवेशका लागि आवेदकका रूपमा व्यवहार गर्न सकिन्छ। त्यस अवस्थामा सीमा प्रवेश बिन्दुमा उसमाथि विभिन्न अयोग्यताका आधारमा पुनः परीक्षण हुन सक्छ, जसमा पब्लिक चार्ज पनि पर्न सक्छ।
यसको अर्थ १८० दिनभन्दा लामो विदेश यात्राबाट फर्किने केही ग्रिनकार्डधारीले विगतमा प्राप्त गरेका निश्चित सरकारी सुविधासहित आफ्नो आर्थिक तथा व्यक्तिगत परिस्थितिसम्बन्धी थप प्रश्नहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्ने सेडाईले बताए।
“ग्रिनकार्ड भएका व्यक्तिमा पब्लिक चार्ज सामान्यतः लागू हुँदैन,” सेडाईले भने, “तर १८० दिनभन्दा बढी अमेरिकाबाहिर बसेपछि पुनः प्रवेशका क्रममा कानुनी अवस्था फरक हुन सक्छ।”
नयाँ नियमले पब्लिक चार्ज मूल्यांकनलाई सन् २०२२ को व्यवस्थाभन्दा व्यापक बनाएकाले लामो समय विदेश बस्ने ग्रिनकार्डधारीले यात्राअघि आफ्नो अवस्थाबारे कानुनी सल्लाह लिनुपर्ने सेडाईले बताए।
विशेषगरी वृद्ध अभिभावकको हेरचाह, उपचार वा अवकाशका कारण लामो समय विदेश बस्ने योजना बनाइरहेका स्थायी बासिन्दाले यात्रा सुरु गर्नुअघि अध्यागमन कानुन व्यवसायीसँग परामर्श गर्न आफूहरूले सुझाव दिइरहेको उनले बताए।
सेडाईका अनुसार नयाँ नियमको प्रभाव केवल सरकारी सुविधा प्राप्त गरेको वा नगरेको विषयमा मात्र सीमित नहुन सक्छ। अधिकारीहरूले पब्लिक चार्ज निर्धारण गर्दा व्यक्तिको समग्र आर्थिक तथा व्यक्तिगत अवस्थालाई हेर्न सक्ने भएकाले लामो विदेश यात्राको योजना बनाउने ग्रिनकार्डधारीले आफ्नो अमेरिकी सम्बन्ध र आर्थिक अवस्थासम्बन्धी कागजातहरू पनि व्यवस्थित राख्नु उपयोगी हुन सक्छ।
लामो विदेश बसाइले पब्लिक चार्जबाहेक स्थायी बसोबास त्यागिएको हो कि होइन भन्ने छुट्टै कानुनी प्रश्नसमेत उठाउन सक्ने सेडाईले बताए। त्यसैले १८० दिनभन्दा बढी विदेश बसाइलाई केवल यात्रा अवधि वा ग्रिनकार्डको वैधताका आधारमा मात्र मूल्यांकन गर्न नहुने उनले बताए।
कानुनी अस्वीकरण: यो समाचारमा प्रस्तुत जानकारी सामान्य सूचनाका लागि मात्र हो र व्यक्तिगत कानुनी सल्लाह होइन। अध्यागमनसम्बन्धी नियमको प्रभाव प्रत्येक व्यक्तिको व्यक्तिगत परिस्थिति, यात्रा इतिहास, सरकारी सुविधा प्राप्त गरेको अवस्था र अन्य तथ्यअनुसार फरक पर्न सक्छ। लामो समय अमेरिकाबाहिर बस्ने वा अमेरिका पुनः प्रवेश गर्ने योजना बनाइरहेका ग्रिनकार्डधारीले आफ्नो अवस्थाबारे योग्य अध्यागमन कानुन व्यवसायीसँग परामर्श गर्नुहोस्।





