अभिभावकविहीन आप्रवासी बालबालिकालाई टेक्सास पठाउँदै ट्रम्प प्रशासन: ‘मास डिपोर्टेसन’को आशंका
Photo: Jordan Whitt/ Unsplash
अमेरिकाको ट्रम्प प्रशासनले एक्लै सीमा पार गरेर आएका र नयाँ आप्रवासन अदालतका मुद्दा खेपिरहेका अधिकांश बालबालिकालाई टेक्सास पठाउन सुरु गरेको छ। टेक्सासका सरकारी बाल गृहहरू अनुमतिपत्र विना सञ्चालित रहेको, बालबालिकाले कानुनी सहायता पाउने सम्भावना न्यून रहेको र उनीहरूलाई द्रुत गतिमा देशनिकाला गर्ने खतरा बढेको अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
आपराधिक तथा आप्रवासनसम्बन्धी तथ्यांक विश्लेषण गर्ने संस्था बीकेएलजी डट ओआरजीले साझा गरेको प्रतिवेदन अनुसार, जुलाई महिनामा अभिभावकविहीन अवस्थामा अमेरिका प्रवेश गरी आप्रवासन अदालतको प्रक्रियामा परेका बालबालिकामध्ये करिब ८० प्रतिशत र अगस्ट महिनामा ९० प्रतिशतभन्दा बढी बालबालिकालाई टेक्सासका आश्रयस्थलहरूमा पठाइएको छ। यो अघिल्ला महिनाहरूको तुलनामा ठूलो वृद्धि हो।
तथ्यांक अनुसार, स्वास्थ्य तथा मानव सेवा विभाग अन्तर्गतको शरणार्थी पुनःस्थापना कार्यालयको संरक्षणमा रहेका र टेक्सासमा विचाराधीन मुद्दा खेपिरहेका बालबालिकाको संख्या ९२५ पुगेको छ, जसमध्ये ६५१ जना जुलाई र अगस्ट महिनामा मात्रै त्यहाँ पठाइएका थिए।
संघीय अधिकारीहरूले कुनै सार्वजनिक कारण विना नै यी संवेदनशील बालबालिकालाई रिपब्लिकन पार्टीको पकड रहेको टेक्सास राज्यमा पठाउन थालेपछि मानवअधिकारवादीहरू चिन्तित बनेका छन्। उनीहरूका अनुसार बालबालिकालाई देशका विभिन्न भागबाट टेक्सासमा जम्मा पारेर दक्षिणी सीमाबाट सिधै स्वदेश फर्काउने विमानमा चढाउने योजना हुन सक्ने डर छ।
एरिजोनास्थित ‘फ्लोरेन्स इमिग्रन्ट एन्ड रिफ्युजी राइट्स प्रोजेक्ट’की उपनिर्देशक रोक्साना आभिला-सिम्पियानुका अनुसार टेक्सासमा कानुनी सहायता दिने वकिलहरूको कमी छ र त्यहाँका न्यायाधीशहरू आप्रवासन मुद्दामा कडा मानिन्छन्। त्यसैले यी गृहहरू बालबालिकालाई नाममात्रको कानुनी प्रक्रिया पुरा गरी देशनिकाला गर्ने केन्द्र बन्न सक्ने उनको भनाइ छ।
सामान्यतया, हिंसा, दुर्व्यवहार वा शोषणबाट जोगिन एक्लै अमेरिका पुग्ने बालबालिकालाई सीमा पार गरेपछि ओआरआरको रेखदेखमा राखिन्छ। जुलाईको अन्त्यसम्म देशभरका आश्रयस्थल, केयर होम र सुरक्षित गृहहरूमा १,८०० भन्दा बढी बालबालिका थिए। तर अहिले अदालतमा मुद्दा चलिरहेका बालबालिकामध्ये ६० प्रतिशतभन्दा बढी टेक्सासमै रहेका छन्, जबकि जुन महिनामा यो संख्या आधाभन्दा कम थियो।
टेक्सास सरकारले ओआरआरलाई बाल गृह सञ्चालनका लागि राज्यको अनुमतिपत्र दिन अस्वीकार गरे पनि ती केन्द्रहरू सञ्चालनमै छन्, जसले गर्दा बाल कल्याणसम्बन्धी अनुगमनमा कमी आएको छ।
यसैबीच, अधिकांश बालबालिकाहरू वकिल विना नै जटिल आप्रवासन कानुनको सामना गरिरहेका छन्। राष्ट्रिय स्तरमा ओआरआरको नियन्त्रणमा रहेका बालबालिकामध्ये ३१.७ प्रतिशतले मात्र कानुनी प्रतिनिधि पाएका छन् भने टेक्सासको अवस्था अझै दयनीय छ। सान एन्टोनियोमा केवल ८.७ प्रतिशत, ह्युस्टनमा १७.२ प्रतिशत र एल पासोमा १८.६ प्रतिशत बालबालिकाले मात्र कानुनी सहायता पाएका छन्।
यसका साथै, ओआरआरले सीमामा बालबालिकाको आगमन निकै कम रहेको अवस्थामा पनि ३,००० बेड क्षमताका “आकस्मिक क्षमता विस्तार केन्द्रहरू” स्थापना गर्न टेन्डर आह्वान गरेपछि थप शंका उत्पन्न भएको छ। हाल ओआरआरका आश्रयस्थलहरू आफ्नो कुल क्षमताको २७ प्रतिशतमा मात्र सञ्चालन भइरहेका छन्। अधिकारकर्मीहरूले यति ठूलो क्षमताका नयाँ केन्द्रहरू कसका लागि बनाउन लागिएको हो भन्दै ठूलो संख्यामा बालबालिकालाई नियन्त्रणमा लिने रणनीति त होइन भन्ने प्रश्न उठाएका छन्।





