अमेरिका-क्यानडा व्यापार युद्ध: क्यानडाका स्टोरहरूबाट हट्दै अमेरिकी उत्पादन
Photo: Moise M/Unsplash
अमेरिका र क्यानडाबीच चर्किएको व्यापार युद्धका कारण क्यानडाका उपभोक्ताहरू स्वदेशी उत्पादनप्रति बढी आकर्षित हुन थालेका छन्। अमेरिकी उत्पादनहरू बहिष्कार गर्ने र क्यानडाली सामान मात्र किन्ने उपभोक्ताहरूको दबाबका कारण देशका सुपरमार्केटहरूले आफ्ना र्याकहरूमा सामानको कन्ट्री अफ ओरिजिन स्पष्ट देखिने गरी लेबल लगाउन र नयाँ आपूर्ति शृङ्खला खोज्न थालेका छन्।
अमेरिकाले क्यानडाली वस्तुहरूमा भन्सार शुल्क थपेपछि सुरु भएको क्यानडाली सामान किनौँ अभियान पछिल्ला हप्ताहरूमा झनै आक्रामक बनेको छ। अनटारियोस्थित ‘विन्स मार्केट’का अध्यक्ष जियानकार्लो ट्रिमार्कीका अनुसार ग्राहकहरूले अमेरिकी फलफूल र तरकारी बिक्री गरेकोमा आपत्ति जनाएपछि उनले आफ्नो स्टोरमा ९० प्रतिशत उत्पादन क्यानडाकै राख्न थालेका छन्।
उनले अमेरिकी स्ट्रबेरीको सट्टा अब क्युबेकबाट आपूर्ति गर्न थालेका छन्। “पहिले ग्राहकहरू गुणस्तर र मूल्य तुलना गर्थे, तर अब गुणस्तर, मूल्य र कुन देशको उत्पादन हो भन्ने कुरा पनि हेर्न थालेका छन्,” उनले भने।
क्यानडाको सबैभन्दा ठूलो खाद्य खुद्रा विक्रेता ‘लोब्ला’ले आफ्ना ताजा उत्पादन र फलफूल क्षेत्रमा क्यानडाली झण्डाका ठूला चिन्हहरू पुनः राख्न थालेको छ। यसका साथै, कुन उत्पादनमा भन्सार शुल्क लागेको छ र कुन स्वदेशी हो भनेर ग्राहकलाई सहजै चिन्न मद्दत पुर्याउन विशेष ट्यागहरू प्रयोग गरिएको छ।
सरकारी तथ्याङ्क अनुसार क्यानडामा आयात हुने तरकारीमा अमेरिकाको हिस्सा पहिले ६९ प्रतिशत रहेकोमा गत जुलाईमा घटेर ६२.६ प्रतिशतमा झरेको छ। क्यानडाका ग्रोसरीहरूले अब स्थानीय हरितगृह उत्पादनका साथै स्पेन, ब्राजिल र होन्डुरस जस्ता देशहरूबाट फलफूल तथा तरकारी आयात गर्न थालेका छन्।
क्यानडा सरकारले पनि जाडो याममा खाद्य उत्पादन बढाउन र महँगी नियन्त्रण गर्न ग्रिनहाउस प्रविधिमा अर्बौँ डलर लगानी गरिरहेको छ। विश्लेषकहरूका अनुसार दुई देशबीचको कूटनीतिक र व्यापारिक तनाव घटे पनि क्यानडाली उपभोक्ताहरूको सोच र आपूर्ति शृङ्खलामा आएको यो परिवर्तन लामो समयसम्म कायम रहने देखिन्छ।





