२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

श्रमबजारमा पुरुषको सहभागिता घट्दो, महिलाको वर्चस्व बढ्दै: अमेरिकी रोजगार बजारमा ऐतिहासिक अन्तर

Photo: Wonderlane/Unsplash

वर्षौँदेखि अमेरिकी श्रमशक्तिबाट पुरुषहरू बाहिरिने क्रम जारी छ। तर, हालै सार्वजनिक भएको रोजगार सम्बन्धी एक प्रतिवेदनले यो प्रवृत्ति अझ तीव्र हुन सक्ने चिन्ता बढाएको छ।

ब्यूरो अफ लेबर स्ट्याटिस्टिक्सको तथ्याङ्क अनुसार अगस्ट महिनामा सिर्जना भएका १,६२,००० गैर-कृषि रोजगारमध्ये ९८ प्रतिशत अर्थात् १,५८,००० पद महिलाहरूले ओगटेका छन्। गत वर्षको यसै अवधिको तुलनामा अमेरिकामा रोजगारीमा संलग्न महिलाको सङ्ख्या ८,७०,००० ले बढेको छ भने पुरुषको सङ्ख्या १५ लाखले घटेको छ।

नयाँ तथ्याङ्क अनुसार, सन् १९९० यता पुरुष र महिला रोजगारीबिचको अन्तर सबैभन्दा उच्च विन्दुमा पुगेको छ।

महिना-महिनामा रोजगारीको सङ्ख्यामा आउने उतारचढाव सामान्य भए पनि, विगत केही दशकदेखि महिलाको सहभागिता बढ्दै जाने र पुरुषको घट्दै जाने प्रवृत्ति निरन्तर देखिएको छ।

नोत्रे डाम विश्वविद्यालयका श्रम अर्थशास्त्री प्राध्यापक किर्क डोनानका अनुसार, यस परिवर्तनको मुख्य कारण अमेरिकी उद्योगहरूको विकासक्रम हो। अगस्ट महिनामा स्वास्थ्य सेवा र सार्वजनिक शिक्षाजस्ता महिला बाहुल्य क्षेत्रमा तीव्र वृद्धि देखियो भने कम्प्युटिङ, डाटा प्रोसेसिङ र वित्त जस्ता पुरुष बाहुल्य क्षेत्रहरू खुम्चिएका छन्। सन् १९९० यता स्वास्थ्य क्षेत्रको रोजगारी झन्डै दोब्बर भएको छ, जहाँ महिलाको सहभागिता लगातार ७६ प्रतिशत रहँदै आएको छ।

यसका साथै, विवाह, परिवार, सन्तान उत्पादन, र शिक्षा सम्बन्धी सांस्कृतिक दृष्टिकोणमा आएको परिवर्तनले पनि महिला सहभागिता बढाउन भूमिका खेलेको छ। ब्रिगम युङ युनिभर्सिटीका प्राध्यापक क्रिश्चियन भोम लेहनका अनुसार, महिलाहरू श्रमबजारमा प्रवेश गर्नाले नै पुरुषहरू बाहिरिएका भने होइनन्।

अर्थशास्त्रीहरू पुरुष सहभागिता घट्नुका पछाडि कुनै एउटा मात्र स्पष्ट कारण नभएको स्वीकार गर्छन्। उनीहरूका अनुसार यो समस्या बहुआयामिक छ र यसमा विभिन्न आर्थिक तथा सामाजिक कारकहरू जोडिएका छन्। पहिलो मुख्य कारण मध्य-करियरमा रहेका पुरुषहरूका लागि नयाँ क्षेत्रमा अनुकूलन हुन हुने कठिनाइ हो, जसले गर्दा उनीहरूलाई बदलिँदो बजार अनुसार करियर परिवर्तन गर्न गाह्रो भइरहेको छ। यसका साथै सार्वजनिक स्वास्थ्य सम्बन्धी समस्या र अपाङ्गताका मुद्दाहरूले पनि पुरुषहरूलाई श्रमबजारबाट बाहिरिन बाध्य पारिरहेका छन्।

अर्कोतर्फ, युवा पुस्तामा देखिएको सामाजिक र व्यवहारगत परिवर्तनले पनि ठूलो भूमिका खेलेको छ। ‘अमेरिकन इन्स्टिच्युट फर ब्वाइज एन्ड मेन’का अनुसार विगत २५ वर्षमा युवा पुरुषहरू घर छाड्ने, विवाह गर्ने र करियर सुरु गर्ने जस्ता जीवनका महत्त्वपूर्ण चरणहरूमा पछाडि परिरहेका छन्। यसैगरी, घरजग्गाको अत्यधिक मूल्य वृद्धि र विवाहको घट्दो दरजस्ता सामाजिक कारणहरूले गर्दा धेरै युवा पुरुषहरूमा कडा मिहिनेत गरेर काम गर्ने प्रेरणा नै घट्दै गएको विश्लेषण गरिएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

इन्स्टिच्युट अफ फेमिली स्टडीजका निर्देशक ब्राड विल्कोक्सका अनुसार, पुरुष सहभागिता घट्दै जानु विवाह र पारिवारिक जीवनका लागि चिन्ताजनक विषय हो। उनले पूर्णकालीन रोजगारीमा रहेका पुरुषहरू विवाह गर्न र वैवाहिक जीवन कायम राख्न बढी सफल हुने बताए। पुरुषका लागि प्रतिकूल बन्दै गएको अर्थतन्त्रले अन्ततः पुरुष वा महिला कसैलाई पनि फाइदा नपुर्‍याउने उनको तर्क छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।