२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

मध्यआकाशमा एकाएक घट्यो हावाको चाप: डेल्टाको विमान १० मिनेटमा २७,००० फिट तल झारेर सुरक्षित अवतरण

Photo: Daniel Shapiro/ Unsplash

अमेरिकाको लस एन्जलसबाट साल्ट लेक सिटीतर्फ उडेको डेल्टा एयरलाइन्सको उडान नम्बर २३११ मा क्याबिनको हावाको चाप  अचानक घटेपछि यात्रुहरूमा त्रास फैलिएको छ। उडानका क्रममा यात्रुहरू बस्ने क्याबिनमा एक्कासि अक्सिजन मास्क खसेपछि चालक दलका सदस्यहरूले विमानलाई तीव्र गतिमा तल्लो उचाइमा ल्याएर लस भेगासमा संकटकालीन अवतरण  गराएका छन्।

विमानमा १७४ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। उडानका क्रममा विमान करिब १० मिनेटको छोटो समयमै लगभग २७,००० फिट तल झरेको थियो। चालक दलले तुरुन्तै हवाई यातायात नियन्त्रकसँग सम्पर्क गरी अक्सिजन मास्क प्रयोगमा आएको पुष्टि गर्दै ९,००० फिटको उचाइमा झर्ने र लस भेगास अवतरण गर्ने अनुमति मागेका थिए।

विमान लस भेगासको ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको र सबै यात्रुहरू सामान्य रूपमा बाहिर निस्किएका छन्। डेल्टा एयरलाइन्सले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमा माग्दै उनीहरूलाई गन्तव्यसम्म पुर्याउन अर्को विमानको व्यवस्था गरेको जनाएको छ।

विमानभित्र रहेका एक यात्रुले सो घटनाको अनुभव सेयर गर्दै भने, “सबैभन्दा डराउने कुरा तीव्र अवतरणभन्दा पनि के भइरहेछ भन्ने थाहा नहुनु थियो। एयर होस्टेसहरूले अक्सिजन मास्क लगाएरै जानकारी दिने प्रयास गरिरहेका थिए, तर उनीहरूको आवाज स्पष्ट सुन्न गाह्रो भइरहेको थियो।”

पूर्व अमेरिकी नौसेना पाइलट म्याथ्यु बकलेका अनुसार अमेरिकामा यस्तो प्रकारको हावाको चाप घट्ने घटना अत्यन्तै दुर्लभ हुन्छ। यस्तो अवस्थामा पाइलटको मुख्य प्राथमिकता नजिकैको उपयुक्त र लामो रनवे भएको विमानस्थलमा जतिसक्दो चाँडो सुरक्षित अवतरण गराउनु हुन्छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।