अमेरिकामा विद्यालय बस चालकको तीव्र अभाव: बढेको ज्यालाले पनि आकर्षित भएनन् चालकहरू
Photo: James Day/ Unsplash
अमेरिकाभरका धेरै विद्यालयहरूमा अहिले पनि विद्यालय बस चालकहरूको चरम अभाव छ। अन्य क्षेत्रका रोजगारदाताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने र तुलनात्मक रूपमा कम आकर्षणका कारण ज्याला बढाउँदा पनि आवश्यकता अनुसार चालकहरू पाउन मुस्किल भइरहेको छ।
इकोनोमिक पोलिसी इन्स्टिच्युटको विश्लेषण अनुसार, सन् २०२४ को तुलनामा सन् २०२५ को अगस्टमा वास्तविक प्रतिघन्टा ज्याला ४.२ प्रतिशतले बढे पनि चालकहरूको रोजगारी भने सन् २०१९ को स्तरभन्दा ९.५ प्रतिशत कमै रहेको छ।इपीआईका अर्थशास्त्री हिलेरी वेथिङका अनुसार, महामारीपछिको समयमा यो कार्यबल पुरानै अवस्थामा फर्कन नसक्नुको मुख्य कारण अझै पनि “न्यून ज्याला” नै हो।
ज्यालाका साथै कामको समय पनि यस क्षेत्रको ठूलो चुनौती बनेको छ। विद्यालय बस चालकहरूले प्रायः बिहान र दिउँसो गरी दुई फरक समयमा काम गर्नुपर्छ। बीचको समय खाली हुने भएकाले यो काम ट्रक, डेलिभरी वा अन्य यातायात क्षेत्रको तुलनामा कम आकर्षक मानिन्छ, जहाँ समय निश्चित हुन्छ र आम्दानी पनि धेरै हुन्छ।
यो समस्याको सामना न्यूयोर्कको ‘ईस्ट ग्रीनबश सेन्ट्रल स्कूल डिस्ट्रिक्ट’ ले पनि गरिरहेको छ। सन् २०२५ को जुलाईमा सुपरिटेन्डेन्ट कुर्तिस कोटेसले जिम्मेवारी सम्हाल्दा जिल्लामा १४ वटा बस रुटहरू खाली थिए। जसका कारण मेकानिक र अन्य कर्मचारीहरूले रुट कभर गर्नुपरेको थियो भने विद्यार्थीहरू समयमा विद्यालय पुग्न नसक्दा उनीहरूको पढाइमा समेत असर परेको थियो।
यस समस्या समाधानका लागि उक्त विद्यालय जिल्लाले “बस रोडेओ” नामक विशेष भर्ना कार्यक्रम आयोजना गर्यो, जहाँ व्यावसायिक चालक अनुमतिपत्र नभएका इच्छुक व्यक्तिहरूलाई पनि प्रशिक्षकको निगरानीमा बस चलाएर हेर्ने अवसर दिइयो। यस प्रयासबाट ५ देखि ८ जना नयाँ चालकहरू भर्ती गर्न सफलता मिल्यो।
त्यसैगरी, चालकहरूलाई आकर्षित गर्न र टिकाइराख्न प्रतिघन्टा करिब २८ अमेरिकी डलरका साथै स्वास्थ्य बिमाको सुविधा पनि प्रदान गरिएको छ। बीचको खाली समयमा थप आम्दानीका लागि फिल्ड ट्रिप वा सरसफाइसम्बन्धी कामहरू उपलब्ध गराउने गरिएको छ।
कर्मचारीहरूको समस्यालाई नजिकबाट बुझ्न र सहयोग गर्न सुपरिटेन्डेन्ट कुर्तिस कोटेस र मानव संसाधन निर्देशक आफैँले ५ हप्ताको तालिम पूरा गरी व्यावसायिक बस चालक अनुमतिपत्र हासिल गरेका छन्। कोटेसले सन् २०२५ को डिसेम्बरदेखि आवश्यकता परेका बेला आफैँ बस चलाएर विद्यार्थीहरूलाई सेवा दिइरहेका छन्।
विशेषज्ञहरूका अनुसार, महामारीको समयमा पाएको सङ्घीय राहत कोष सकिएकाले विद्यालयहरूलाई बजेट व्यवस्थापनमा झन् दबाब परेको छ। चालक अभावका कारण विद्यार्थीहरूले ढिलो हुने र लामो यात्रा गर्नुपर्ने जस्ता सास्ती भोगिरहेका छन्। यस अवस्थामा उच्च ज्यालाका साथै राम्रो कार्यसंस्कृति, अतिरिक्त सुविधा र सम्मानजनक व्यवहारले मात्र चालकहरूलाई आकर्षित गर्न सकिने देखिन्छ।





