२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

माथिल्लो त्रिशूल-१ को सुरुङबाट बाढी आएको ११ औँ दिनमा चिनियाँ नागरिकको जीवितै उद्धार

तस्बिर: नेपाली सेना

 रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका एक नेपाली र एक चिनियाँ नागरिकले ११ औँ दिनमा नयाँ जीवन पाएका छन्। शनिबार उद्धार टोलीले पुरिएको घरबाट ६४ वर्षीया वृद्धा र जलविद्युत् आयोजनाको सुरुङभित्रबाट चिनियाँ नागरिकको जीवितै उद्धार गरेको हो।

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडि–४ सुरुङको २२५ मिटर भित्रबाट चिनियाँ नागरिक लु हाइताओको शनिबार दिउँसो १:२० बजे सकुशल उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीको संयुक्त प्रयासमा उनको उद्धार गरिएको हो।

उद्धार गरिएका चिनियाँ नागरिकको शरीरमा गम्भीर चोटपटक नदेखिए पनि हल्का ‘हाइपोथर्मिया’को लक्षण देखिएको छ। सुरुमा उनलाई नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेकमा ल्याएर प्राथमिक उपचार गरिसकेपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ, जहाँ चिनियाँ दूतावासको टोलीले उनीसँग भेटघाट गरेको छ।

यसैगरी, नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावतीबाट बाढीले पुरेको आफ्नै घरको चौथो तलाबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको शनिबार दिउँसो जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालका इन्स्पेक्टर सुमन बिकको कमान्डमा खटिएको टोलीले प्रभावित बस्तीका घरहरूमा रहेका सामग्री हटाउने क्रममा आवाज सुनेपछि अचेत अवस्थामा रहेकी श्रेष्ठलाई फेला पारेको थियो।

उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैधली ब्यारेक पुर्‍याएर प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको छ।

गत भदौ १० मा हिमनदी फुटेर आएको बाढीपछि विभिन्न सुरुङहरूमा करिब ९०० जना मानिस फसेको अनुमान गरिएको थियो। यसअघि बाढी गएको दशौँ दिन उद्धार टोलीले माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट मेकानिकल सुपरभाइजर कविर महर्जन र मेकानिकल फोरम्यान सञ्जय साहलाई जीवितै उद्धार गरेको थियो।

शनिबार साँझ ६ बजेसम्म प्राप्त विवरण अनुसार बाढीका कारण १,३३१ जनाको मृत्यु भइसकेको छ भने ५,००० भन्दा बढी अझै सम्पर्कविहीन छन्। बेपत्ता हुनेहरूमा ५८३ जना विदेशी नागरिक रहेका छन्। उता चीनको तिब्बत क्षेत्रमा पनि सेप्टेम्बर ४ सम्म ३१ जनाको मृत्यु भएको र ५३१ जना बेपत्ता रहेको सिन्ह्वाले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।