भिडियो हेरेको आरोपमा बोस्टन बन्दरगाहमा नेपालीसहित १० क्रुज कर्मचारी पक्राउ, देश निकाला प्रक्रिया सुरु
‘नर्वेजियन एस्केप’ क्रुज पानीजहाज। तस्बिर: टिभाबुट्ज्कु१२३४/विकिमिडिया कमन्स
सीबीपी अधिकारीहरूले अमेरिकाको बोस्टन बन्दरगाहमा ‘नर्वेजियन एस्केप’ नामक क्रुज पानीजहाजबाट १० जना विदेशी कर्मचारीलाई नियन्त्रणमा लिई अमेरिकाबाट निष्कासनको प्रक्रिया अघि बढाएका छन्। पक्राउ पर्नेमा फिलिपिन्सका नौ जना र एक जना नेपाली नागरिक रहेका छन्।
बाल यौन शोषण तथा दुर्व्यवहारसम्बन्धी सामग्रीको ओसारपसार तथा प्रयोगविरुद्ध अमरीकी निकायहरूले सञ्चालन गरिरहेको ‘अपरेशन टाइडल वेभ’ अभियानअन्तर्गत अगस्ट ३१, २०२६ मा उनीहरूमाथि कारबाही गरिएको हो। अमरीकी अधिकारीहरूका अनुसार दोस्रो चरणको सोधपुछका क्रममा नेपाली नागरिकसहित सबै १० जना क्रुज कर्मचारीले बाल यौन शोषण तथा दुर्व्यवहारसम्बन्धी सामग्री हेरेको र प्रयोग गरेको स्वीकार गरेका थिए।
अधिकारीहरूले अमरीकी अध्यागमन तथा नागरिकता ऐनको धारा २१२(a)(२)(A)(i)(I) अन्तर्गत नैतिक पतन देखिने अपराधमा संलग्न भएको आधारमा उनीहरूको अस्थायी अवतरण अनुमति रद्द गरेका छन्। त्यसपछि उनीहरूलाई अमेरिकाबाट निष्कासन गर्ने प्रक्रिया अघि बढाइएको हो।
अमरीकी संघीय कानूनले बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीमा कुनै पनि प्रकारको संलग्नतालाई गम्भीर अपराधका रूपमा लिन्छ। यस्ता अपराधमा संलग्न व्यक्तिमाथि आपराधिक अभियोग लाग्न सक्ने र अमेरिकामा पुनः प्रवेशका लागि कम्तीमा १० वर्षसम्म अयोग्य ठहरिन सक्ने प्रावधान रहेको अधिकारीहरूले बताएका छन्।
बोस्टन फिल्ड अफिसका कार्यवाहक निर्देशक जुलियो कारावियाका अनुसार पछिल्लो दुई सातामा मात्रै बोस्टन बन्दरगाहबाट यस्ता सामग्री राखेको अभियोगमा २४ जना क्रुज कर्मचारीलाई अमेरिकाबाट हटाइएको छ।
‘अपरेशन टाइडल वेभ’ अमरीकी गृह सुरक्षा अनुसन्धान र बालबालिकाविरुद्ध हुने इन्टरनेट अपराधसम्बन्धी टास्क फोर्ससँगको सहकार्यमा देशभरका प्रमुख बन्दरगाहमा सञ्चालन भइरहेको अभियान हो।
यसअघि अप्रिलमा सान डिएगोबाट २७ जना र जुन तथा जुलाईमा सान हुआनबाट १४ जना क्रुज कर्मचारीमाथि यस्तै प्रकृतिको कारबाही गरिएको थियो।
अमरीकी बन्दरगाह हुँदै क्रुज पानीजहाजमा काम गर्ने वा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि यो घटनाले अमरीकी कानूनको कडाइ र गम्भीर आपराधिक गतिविधिबाट टाढा रहनुपर्ने आवश्यकतालाई उजागर गरेको छ।
विशेषगरी बाल यौन शोषण तथा दुर्व्यवहारसम्बन्धी सामग्रीसँग सम्बन्धित गतिविधिमा संलग्न हुँदा अध्यागमनसम्बन्धी कारबाहीसँगै आपराधिक अभियोग र भविष्यमा अमेरिकामा प्रवेशमा प्रतिबन्धसमेत लाग्न सक्ने भएकाले क्रुज लाइनमा कार्यरत विदेशी कामदारहरूलाई अमरीकी कानूनको पूर्ण पालना गर्न अधिकारीहरूले जोड दिएका छन्।





