अमेरिकाको मिनेयापोलिसको अपार्टमेन्टमा गोलीहानाहान: दुई जनाको मृत्यु, दुई प्रहरीसहित चार जना घाइते
Photo: Josh Hild/ Unsplash
अमेरिकाको मिनेसोटा राज्यस्थित डाउनलोड मिनेयापोलिसमा बुधबार दिउँसो भएको भीषण गोलीहानाहानमा दुई जनाको मृत्यु भएको छ भने दुई प्रहरी अधिकारीसहित चार जना घाइते भएका छन्। घटनामा संलग्न बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
मिनेयापोलिस कन्भेन्सन सेन्टरभन्दा केही दूरीमा रहेको लोडिङ पार्क क्षेत्रस्थित १५ इस्ट ग्रान्ट स्ट्रिटमा रहेको एक अपार्टमेन्ट भवनमा दिउँसो ४:३६ बजे यो घटना घटेको हो। गोली चलेको सूचना पाउनासाथ ठूलो संख्यामा प्रहरी टोली घटनास्थल पुगेको थियो।
मिनेयापोलिस प्रहरी विभागका प्रवक्ता सार्जेन्ट ग्यारेट पार्टेनका अनुसार आक्रमणकारीको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
घटनास्थलमा खटिएका दुई प्रहरी अधिकारीलाई गोली लागेको छ। जसमध्ये एक जनालाई पेटमा दुई ठाउँमा र अर्का अधिकारीलाई खुट्टामा दुई ठाउँमा गोली लागेको छ। पेटमा गोली लागेका अधिकारीको शल्यक्रिया गरिएको र अवस्था स्थिर रहेको जनाइएको छ। अर्का एक प्रहरी अधिकारी गोलीबाहेक अन्य कारणले घाइते भएका छन्।
अपार्टमेन्टकी बासिन्दा उमेकुआ एग्न्युका अनुसार लिफ्टमा जाँदै गर्दा उनले लगातार गोली चलेको आवाज सुनेकी थिइन्। पछि प्रहरीले उद्धार गरेर उनलाई सुरक्षित स्थानमा पुर्याएको थियो।
मिनेसोटाका गभर्नर टिम वाल्जले सामाजिक सञ्जालमा लेख्दै राज्यका सुरक्षा अधिकारीहरू स्थानीय प्रहरीलाई सहयोग गर्न घटनास्थलमा परिचालन गरिएको बताएका छन्।
यसअघि सेप्टेम्बर २०२५ मा पनि सोही अपार्टमेन्ट भवनभित्र लिफ्टबाट निस्कने क्रममा दुई पुरुषको गोली हानी हत्या गरिएको थियो।





