अमेरिकी निजी क्षेत्रको रोजगारी वृद्धिमा मन्दी, स्वास्थ्य क्षेत्र अग्रस्थानमा
Photo: Wonderlane/Unsplash
अमेरिकाका निजी कम्पनीहरूमा अगस्ट महिनामा रोजगारी सिर्जनाको गति केही सुस्त बनेको छ। अटोमेटिक डाटा प्रोसेसिङले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, समीक्षा अवधिमा स्वास्थ्य क्षेत्र लगायतका निश्चित उद्योगहरूमा मात्र सीमित मात्रामा नयाँ रोजगारी थपिएका छन्।
अटोमेटिक डाटा प्रोसेसिङका अनुसार अगस्टमा निजी क्षेत्रले ३८,००० नयाँ श्रमिक थपेका छन्। यो अघिल्लो महिना जुलाईको संशोधित ४६,००० भन्दा कम हो भने डाउ जोन्सको ४७,००० को अनुमानभन्दा पनि न्यून हो।
समग्र रोजगारी वृद्धि सकारात्मक रहे पनि जनवरी यताकै यो सबैभन्दा कम वृद्धि हो, जसले अमेरिकी श्रम बजारमा व्यापक मन्दी आएको संकेत गर्दछ। यस बाहेक, थपिएका धेरैजसो रोजगारी तीनवटा क्षेत्रमा मात्र सीमित छन् भने अन्य धेरै क्षेत्रहरूमा कटौति देखिएको छ।
क्षेत्रगत अवस्थालाई हेर्दा, अगस्ट महिनामा रोजगारीको वृद्धि मुख्यतया तीनवटा क्षेत्रमा मात्र सीमित रह्यो। शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्र ४५,००० नयाँ रोजगारी थप्दै सबैभन्दा अगाडि रह्यो। यसैगरी, अतिथिसत्कार तथा मनोरञ्जन क्षेत्रमा १६,००० र निर्माण क्षेत्रमा १२,००० रोजगारी सिर्जना भए। यद्यपि, अन्य धेरै क्षेत्रहरूमा भने गिरावट दर्ता भयो; जसअनुसार उत्पादन क्षेत्रमा १७,००० तथा व्यावसायिक सेवा क्षेत्रमा १६,००० रोजगारी घटे। साथै, प्राकृतिक स्रोत तथा खानी र व्यापार, यातायात तथा उपयोगिता दुवै क्षेत्रमा ५-५ हजारका दरले रोजगारीमा कटौति भयो।
कम्पनीको आकारका आधारमा विश्लेषण गर्दा, रोजगारीको लगभग सम्पूर्ण वृद्धि ठूला व्यवसायहरूमा नै केन्द्रित देखियो। ५०० वा सोभन्दा बढी कर्मचारी भएका ठूला कम्पनीहरूले ३४,००० नयाँ रोजगारी थपेका छन्। यसको तुलनामा, ५० भन्दा कम कर्मचारी भएका साना कम्पनीहरूमा भने समीक्षा अवधिमा ३,००० मात्र रोजगारी थपिएको छ।
एडिपीको प्रतिवेदन अनुसार तलब वृद्धिको दर भने स्थिर रहेको छ। रोजगारी कायम राखेका श्रमिकहरूको आधारभूत तलब वार्षिक ३% र कूल तलब ४.४% ले बढेको छ।
यो एडिपी प्रतिवेदनलाई शुक्रबार सार्वजनिक हुने अमेरिकी श्रम तथ्याङ्क ब्यूरोको ‘नोन-फार्म पेरोल’ रिपोर्टको पूर्वसङ्केतका रूपमा हेरिएको छ।बिएसएलको प्रतिवेदनले अगस्टमा ५३,००० रोजगारी थपिने र बेरोजगारी दर ४.१% मा स्थिर रहने अनुमान गरिएको छ।





