केन्टकीका सुनिल श्रेष्ठले नेपालको बाढीमा गुमाए पाँच आफन्त, दाइ चमत्कारिक रूपमा बाँच्न सफल
प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार
केन्टकीको लेक्सिङ्टन निवासी सुनिल श्रेष्ठले नेपालमा आएको विनाशकारी बाढीमा ३ आफन्त गुमाएका छन् भने २ जना अझै बेपत्ता छन्।
सुनिल श्रेष्ठ केन्टकीमा ब्युँझिँदा उनको फोनमा नेपालबाट आएका दर्जनौँ सन्देश थिए।
भाइबरमा ९० भन्दा बढी सन्देश जम्मा भइसकेका थिए। उनकी सानी छोरीको जन्मदिन थियो। त्यसैले सुरुमा उनले ती सन्देशहरू छोरीलाई जन्मदिनको शुभकामना दिन पठाइएका होलान् भन्ने ठाने। फोनमा आएका सन्देशहरू उनले तुरुन्तै ध्यान दिएर हेरेनन्।
तर जब पढ्न थाले, उनको संसार नै बदलियो।
काठमाडौंको यात्रा गरेर गोसाइँकुण्ड जाँदै गरेका उनका आफन्त बेत्रावतीनजिकै आएको अचानकको बाढीपछि बेपत्ता भएका थिए।
“म मानसिक रूपमा विचलित भएँ,” श्रेष्ठले भने। “के सोच्ने, केही बुझ्न सकिनँ। आँखाबाट आँसु मात्रै आयो।”
न्युयोर्कबाट सरेर अहिले लेक्सिङ्टनमा बस्दै आएका श्रेष्ठले घण्टौँसम्म आफ्नो परिवारका सदस्यहरूमध्ये कोही बाँचे कि बाँचेन् भन्ने थाहा पाएनन्। उनका दाइ अनिल श्रेष्ठसँग पनि सम्पर्क हुन सकेको थिएन। अन्य आफन्तहरू पनि सम्पर्कविहीन थिए।
केही समयपछि नेपालबाट फोन आयो। अनिल जीवित भेटिएका थिए।

अनिल बाढीको भेलमा बगेका थिए। जंगल हुँदै हिँडिरहेका बेला उनले एक स्थानीय बासिन्दाको फोन मागेर परिवारसँग छोटो सम्पर्क गरेका थिए। पछि सुनिलले त्यो नम्बर पाए र दाइसँग करिब ४० सेकेन्ड कुरा गर्न सके।
“उसले ‘सानीमा सानोबुबा कहाँ हुनुहुन्छ?’ भनेर सोध्यो,” सुनिलले सम्झिए। “त्यसपछि फोन काटियो।”
दाइ जीवित रहेको त्यो पहिलो संकेत थियो।
तर त्यही क्षणदेखि सुरु भएको राहतको भावना केही दिनमै गहिरो शोकमा परिणत भयो।
एक हजारभन्दा बढीको ज्यान गएको विपत्ति
श्रेष्ठ परिवारको यो पीडा नेपालका विभिन्न क्षेत्रमा ठूलो मानवीय क्षति पुर्याएको विपत्तिको एउटा अंश हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सेप्टेम्बर १ साँझ ६ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी तथा सम्बन्धित विपद्मा १,०५० जनाको मृत्यु भएको, २२२ जना घाइते भएको र करिब ३,१९६ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।
विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या उच्च छ। चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ।
उद्धार अभियान पनि व्यापक रूपमा सञ्चालन भएको छ। हालसम्म ११,९९३ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। उद्धार गरिएकामध्ये २७३ जना विदेशी नागरिक छन् भने नेपाली सेनाका हेलिकप्टरमार्फत ४,०९१ जना नेपालीको उद्धार गरिएको छ।
तीर्थयात्राका लागि निस्किएको समूह
अनिल श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको विवरण अनुसार उनीहरू गोसाइँकुण्ड जाने योजनासहित काठमाडौंबाट निस्किएका थिए।
समूहमा सुनिलका नजिकका आफन्तहरू थिए—सुनिलकी सानिमा (आमाकी बहिनी) सुन्दरी श्रेष्ठ, सुन्दरीका श्रीमान् गोपाल महर्जन, सुन्दरी र गोपालकी १२ बर्षकी छोरी अर्सना श्रेष्ठ, सुनिलकी मामाकी छोरी कशिश श्रेष्ठ तथा सुनिलका फूपुका छोरा रोहन श्रेष्ठ।

आफन्त तथा अन्य यात्रुहरू गरी नौ जना बिहान करिब ६ बजे तीनवटा स्कोर्पियो गाडीमा काठमाडौंबाट निस्किएका थिए।
अनिलका अनुसार उनीहरू धुन्चेमा खाना खाने योजनामा थिए।
बिहान करिब ९ः१५ बजे बेत्रावती बजारमा प्रहरी चौकीनजिकै तीनवटै गाडी अन्य सवारीसाधनसँगै लाइनमा रोकिएका थिए। चालकहरूले सवारीसाधनको विवरण टिपाइरहेका थिए। सुन्दरी र गोपालसहित केही यात्रु गाडीबाट बाहिर निस्केर वरिपरि हेर्न थाले। अनिल, उनका कजनहरू र अन्य केही यात्रु गाडीभित्रै थिए।
कसैले पनि त्यहाँ आइरहेको खतराको अनुमान गर्न सकेन।
“एक सेकेन्ड अघिसम्म पनि हामीलाई कुनै संकेत थिएन,” अनिलले आफ्नो विवरणमा लेखेका छन्।
त्यसपछि बाढीको शक्तिशाली भेलले गाडीलाई हिर्कायो।
‘सोच्ने समय नै भएन’
अनिलका अनुसार उनी गाडीको पछाडिको भागमा बसेका थिए। पानीको भेलले गाडीमा प्रहार गरेपछि उनी अगाडिको ढोकाबाट बाहिर निस्किए। पानीको शक्तिले नै आफूलाई ढोकातर्फ धकेलेको हुन सक्ने उनले बताएका छन्। उनका अनुसार उनका दाइ पनि अर्को ढोकाबाट निस्किएका थिए।
“यति छोटो समयमा घटना भयो कि सोच्ने अवसरसमेत भएन,” अनिलले सम्झिएका छन्। “जे भयो, शरीरको आफ्नै रिफ्लेक्स एक्सनले काम गरिरहेको थियो।”
उनले आफ्ना सानोबुबा सानिआमालाई एउटा घरतर्फ जाँदै गरेको देखेको सम्झिएका छन्। वरिपरि बाढीको भेल बस्तीभित्र पसेको थियो। चारैतिरबाट मानिसहरूको चिच्याहट सुनिन्थ्यो।
बाढीको भेलले उनलाई माथितर्फको पर्खाल वा तटबन्धमा पुर्याएको थियो। उनले त्यसलाई समातेर आफूलाई जोगाउने प्रयास गरे।
त्यतिबेला बाढी यति ठूलो देखिएको थियो कि उनलाई बाँच्ने कुनै सम्भावना छैन जस्तो लाग्यो। माथितर्फ चढ्दै गर्दा उनले आफ्नो छोरा अंशुमान, श्रीमती सरु, दिवंगत आमा र अमेरिकामा बस्ने दाइ सुनिललाई सम्झिए।
तर आफूभन्दा तल रहेका आफन्त र अन्य यात्रुहरूको अवस्था उनले देख्न सकेनन्।
माथि चढ्दै जाँदा भने अनिललाई आफू बाँच्न सक्ने सम्भावना देखिन थाल्यो। तल हेर्दा उनले बाढीको भेलले गाडी, मानिस, घर, प्रहरी र बेत्रावती बजार क्षेत्रलाई नै बगाइरहेको देखे।
“हात, खुट्टा र शरीर सबै काँपिरहेका थिए,” उनले सम्झिएका छन्। “संसार नै अँध्यारो देखिन्थ्यो।”
आफूसँग यात्रा गरेका आफन्तहरू सायद गुमिसकेको ठाने पनि उनीहरूले कतै भेटिन सक्छन् भन्ने आशा भने उनले छाडेनन्। उनले भगवानसँग दयाको प्रार्थना गरिरहे।
तीन जनाको शव भेटियो, दुई अझै बेपत्ता
सुनिलका अनुसार पछि उनका तीन जना आफन्तको शव भेटियो—सानिमा सुन्दरी श्रेष्ठ, फुपुका छोरा रोहन श्रेष्ठ र मामाकी छोरी कशिश श्रेष्ठ।
उनीहरूको अन्तिम संस्कार भइसकेको छ।
रोहन र कशिश बाढी गएको करिब तीन दिनपछि पारिवारिक गाडीभित्र वा त्यसको आसपास भेटिएको सुनिलले बताए।
सुन्दरीको शव भने पछि गल्छीमा भेटिएको थियो। हातमा ‘गोपाल’ नामको ट्याटु तथा अन्य पहिचानयोग्य विवरणका आधारमा परिवारले उनको पहिचान गरेको सुनिलले बताए। शव काठमाडौंको शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको थियो। त्यसपछि उनको अन्तिम संस्कार गरिएको थियो।

सुन्दरीका श्रीमान् गोपाल महर्जन र उनकी छोरी अर्सना श्रेष्ठ भने अझै बेपत्ता छन्।
सुनिलका अनुसार सुन्दरी र गोपालकी ६ वर्षकी कान्छी बहिनी अहिले आमा, बुबा र दिदीविहीन भएकी छन्। ती बालिका अहिले वृद्ध हजुरआमासँग बसिरहेकी छन्।
“यो निकै कठिन अवस्था हो,” सुनिलले भने।
बाँचेर फर्किएका अनिलको अर्को संघर्ष
बाढीबाट जोगिएपछि अनिल रातभर हिँडेका थिए। सुनिलका अनुसार उनलाई पछि नेपाली सेनाका सुरक्षाकर्मीले फेला पारे। उनलाई उपचारका लागि बट्टारस्थित शिविरमा लगियो र त्यसपछि काठमाडौं पठाइयो।
अनिल अहिले काठमाडौंमा श्रीमतीसँग घरमै छन्, सुनिलले बताए।
बाढीबाट उनका हातखुट्टामा चोट लागेको छ भने अनुहारमा सुन्निएको थियो। तर शारीरिक चोटभन्दा गहिरो असर मानसिक रूपमा परेको परिवारको भनाइ छ। उनी अझै गहिरो तनावमा रहेकाले परिवारले परामर्श र अन्य सहयोग खोजिरहेको छ।
“ऊ आतंकित अवस्थामा छ,” सुनिलले भने। “रुन्छ, चिच्याउँछ र एउटै कुरा बारम्बार दोहोर्याइरहन्छ।”
दुई आफन्तको खबरको प्रतिक्षा
आफ्नै परिवार विपत्तिबाट गुज्रिरहेका बेला सुनिल श्रेष्ठ अहिले अमेरिकामा रहेका नेपाली समुदायलाई नेपालका बाढीपीडितका लागि सहयोग जुटाउन आग्रह गरिरहेका छन्।
उनले समुदायका सदस्यहरूलाई नेपाल सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा सिधै योगदान गर्न आग्रह गर्ने अभियानमा पनि सहभागिता जनाएका छन्।
हालैको बाढीपछि नेपाली समुदायका सञ्चारमाध्यम खसोखास र नेपयोर्कले ज्याक्सन हाइट्स, क्वीन्समा अभियान सुरु गरेका हुन्। अभियानले कुनै बिचौलिया, शुल्क वा प्रशासनिक खर्चबिना सरकारी आधिकारिक कोषमा सिधै सहयोग गर्न आग्रह गरेको छ।
सुनिलले केन्टकीमा पनि अभियानका पोस्टरहरू राखेका छन्। आफू काम गर्ने र स्वामित्वमा समेत हिस्सेदारी रहेको रेस्टुरेन्टमा पनि उनले पोस्टर राखेका छन्।

अभियानले विपत्तिको समयमा समुदायको सहयोग अत्यन्त महत्वपूर्ण हुने बताउँदै अनधिकृत रूपमा रकम उठाउने व्यक्ति, बिचौलिया र अप्रमाणित खातामार्फत सहयोग गर्दा राहत रकम गलत ठाउँमा पुग्न सक्ने जोखिमबारे सचेत गराएको छ। अभियानको उद्देश्य बाढी प्रभावित परिवारका लागि आपत्कालीन खाना, आश्रय तथा दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्याउनु हो।
सुनिलका अनुसार लेक्सिङ्टनस्थित ट्यान्डुर इन्डियन रेस्टुरेन्टका कर्मचारी र साझेदारहरूले पनि एक सातासम्म रेस्टुरेन्टमा संकलन हुने नगद तथा क्रेडिट कार्ड टिप्स नेपाल बाढी राहतका लागि पठाउने सहमति गरेका छन्।
केन्टकीबाट सुनिल हरेक दिन आफ्नो दाइ अनिललाई फोन गर्छन्।
एकातिर बाढीमा बेपत्ता भएका गोपाल महर्जन र अर्सना श्रेष्ठको खबर आउने प्रतीक्षा छ। अर्कोतिर, गोसाइँकुण्डको तीर्थयात्राबाट विपत्तिमा बदलिएको आफ्नो परिवारको कथा बोकेर उनी नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने प्रयासमा छन्।
उनका लागि त्यो ४० सेकेन्डको फोन कल अझै सम्झनामा ताजा छ—दाइ जीवित रहेको खबर दिने छोटो संवाद।
तर त्यसपछि आएका दिनहरूले त्यो राहतसँगै पाँच आफन्त गुमाएको पीडा पनि छोडेका छन्।
यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट तयार गरिएको हो।





