२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकाको जर्जियामा हराएका व्यक्तिको खोजीमा पुगेको प्रहरीको गोलीबाट गधाको मृत्यु

Photo: Indraadityan Logamurugan/ Unsplash

अमेरिकाको जर्जिया राज्यमा एउटा दुखद घटना सार्वजनिक भएको छ। मध्यराति एउटा परिवारको निजी जमिनमा खोजी अभियान चलाउने क्रममा प्रहरी अधिकारीले परिवारको प्रिय घरपालुवा सानो गधालाई गोली हानेर मारेका छन्। घटनापछि सम्बन्धित प्रहरी अधिकारीलाई बिदामा राखिएको छ भने घटनाको छानबिन सुरु गरिएको छ।

घरधनी हन्ना इजरायलका अनुसार आइतबार बिहान करिब १२:४५ बजे प्रहरीहरू पूर्वजानकारी वा अनुमतिविना नै रकज्याकस्थित उनको ‘एल्सबेरी फार्म’ को चरण क्षेत्रमा प्रवेश गरेका थिए। प्रहरीहरू हराइरहेका एक व्यक्तिको खोजीमा त्यहाँ पुगेका थिए।

हन्नाले सामाजिक सञ्जाल फेसबुकमा लेखेअनुसार मध्यराति अपरिचित मानिसहरूलाई देखेर ‘हीह’  नाम गरेको उक्त सानो गधा कराउँदै उनीतर्फ अघि बढेको थियो। त्यसपछि आफूलाई खतरा महसुस भएको दाबी गर्दै एक प्रहरी अधिकारीले गधामाथि गोली चलाएका थिए, जसका कारण उसको घटनास्थलमै मृत्यु भयो।

गधाकी धनी हन्नाले उक्त गधालाई घरभित्रै बोतलबाट दूध खुवाएर हुर्काएको र ऊ मानिसहरूसँग निकै घुलमिल हुने बताएकी छन्। उनले भनिन्, “हीहले कहिल्यै कसैलाई हानि पुऱ्याएको थिएन। आफ्नो चरन क्षेत्रमा अपरिचित व्यक्ति देखेपछि सचेत गराउनु गधाको स्वाभाविक व्यवहार हो। आफ्नै घरमा यसरी गोली हानिनु कुनै पनि हालतमा कानुनी हुन सक्दैन।”

घटनापछि सिडारटाउन प्रहरी प्रमुख जेमी न्युसमले घटनामा संलग्न प्रहरी अधिकारीलाई प्रशासनिक बिदामा राखेर आन्तरिक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। यद्यपि, प्रहरी विभागले औपचारिक रूपमा सार्वजनिक विज्ञप्ति जारी नगरेका कारण सामाजिक सञ्जालमा नागरिकहरूको आक्रोश बढ्दै गएको छ।

यसैबीच, हन्ना इजरायलले कानुनी लडाइँका लागि सुरु गरेको अनलाइन आर्थिक सहयोग अभियानमा ३५,००० डलरभन्दा बढी रकम सङ्कलन भइसकेको छ। घटनाप्रति पोल्क काउन्टी शेरिफको कार्यालयले शोक व्यक्त गर्दै अनुसन्धानमा सहयोग गर्ने जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।