२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

सान फ्रान्सिस्को विमानस्थलमा ठूलो लापरबाही: शौचालयमै बन्दुक छाडेर हिँडे अमेरिकी अध्यागमन अधिकारी

Photo: Duke Cullinan/ Unsplash

गत महिना सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलको सार्वजनिक शौचालयमा एक आइस अधिकारीले आफ्नो बन्दुक छाडेको अवस्थामा एक उडान परिचारकले फेला पारेका छन्।

विमानस्थलका सूचना अधिकारी डग याकेलका अनुसार जुलाई २१ को साँझ टर्मिनल २ को सुरक्षा जाँच  पार गरेपछिको पुरुष शौचालयको एउटा स्टलमा सो बन्दुक भेटिएको थियो। उडान परिचारकले यसबारे सुरक्षा कर्मचारीलाई जानकारी गराएपछि शौचालय सर्वसाधारणका लागि बन्द गरी ९११ मा खबर गरिएको थियो।

सान फ्रान्सिस्को प्रहरी टोली मिनेट भरमै पुगेको र पछि ती आइस अधिकारी बन्दुक खोज्दै फर्किंदा प्रहरी घटनास्थलमै उपस्थित थिए। तर, सो हतियार कति समयसम्म त्यसरी बेवारिसे अवस्थामा रहेको थियो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। विमानस्थलले यो घटनाबारे थप कारबाहीका लागि यातायात सुरक्षा प्रशासनलाई जानकारी गराएको छ।

ती अधिकारी के कामले विमानस्थल पुगेका थिए र उनलाई कुनै कारबाही भयो कि भएन भन्ने कुरा आइसले स्पष्ट पारेको छैन।

यस घटनाको लगत्तै भोलिपल्ट सोही विमानस्थलबाट युक्रेनी नागरिक इरिना गोर्बलाई आइसले पक्राउ गरेको थियो। उनी सन् २०१० मा वैध रूपमा अमेरिका प्रवेश गरे पनि भिसा अवधि सकिएपछि १५ वर्षभन्दा बढी समय गैरकानुनी रूपमा बसेको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जनाएको छ। सूचनाको हकमार्फत प्राप्त आन्तरिक इमेलबाट नै बन्दुक छुटेको घटना बाहिर आएको हो।

सान फ्रान्सिस्को विमानस्थलका अनुसार मार्च महिनायता यस्ता तीनवटा अध्यागमन गिरफ्तारी भएका छन्। यद्यपि, विमानस्थल प्रशासनले आफूहरू आइस वा डीएचएसका कार्यहरूमा संलग्न नरहेको र ‘स्यान्क्चुअरी सिटी’ नीति अनुसार अध्यागमन कारबाहीमा सहयोग नगर्ने स्पष्ट पारेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।