‘हाम्रो मन नेपालसँगै छ’: न्युयोर्ककी गभर्नर होकुलद्वारा बाढीपीडितप्रति प्रार्थना र समर्थन


प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार

न्युयोर्ककी गभर्नर क्याथी होकुल। (सुसान वाट्स/गभर्नर क्याथी होकुलको कार्यालय)

न्युयोर्ककी गभर्नर क्याथी होकुलले नेपाल–तिब्बत सीमाक्षेत्रमा हिमनदी खस्दा आएको विनाशकारी बाढीपछि न्युयोर्कको नेपाली समुदायप्रति समर्थन व्यक्त गर्दै बिहीबार नेपालका लागि प्रार्थना गरेकी छन्।

“हाम्रो मन नेपाल र नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैसँग छ,” होकुलले एक्समा लेखेकी छन्। “ज्यान गुमाएकाहरूप्रति हामी शोक व्यक्त गर्छौं, अझै बेपत्ता भएकाहरूका लागि प्रार्थना गर्छौं र आफ्ना प्रियजन गुमाएका तथा नेपालमा रहेका परिवारको अवस्थालाई लिएर चिन्तित न्युयोर्कवासीहरूसँग हामी साथमा छौं।”

अमेरिकामा नेपाली आप्रवासीको ठूलो जनसंख्या रहेको राज्यमध्ये न्युयोर्क अग्रस्थानमा छ। विशेषगरी क्वीन्समा नेपाली समुदायको उल्लेख्य बसोबास रहेको छ।

गभर्नर होकुलको यो भनाइ हिमाली सीमाक्षेत्रमा उद्धार टोलीले बाँचेकाहरूको खोजी जारी राखिरहेका बेला आएको हो। अचानक आएको बाढी र लेदोले उक्त क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा विपद्ले ठूलो क्षति पुर्‍याएको छ। अधिकारीहरूका अनुसार अगस्ट २६ मा लेन्दे नदी आसपास करिब १ वर्ग किलोमिटर क्षेत्र ढाक्ने गरी ठूलो हिम–चट्टान पहिरो खसेपछि विपद् निम्तिएको थियो। उक्त घटनाबाट ५.२ म्याग्निच्युडको भूकम्प बराबरका भूकम्पीय संकेतसमेत उत्पन्न भएका थिए।

नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको स्थिति प्रतिवेदन अनुसार उद्धार टोलीले हालसम्म ३८९ जनाको शव फेला पारेको छ भने ९७७ जना अझै बेपत्ता छन्। बेपत्तामध्ये ५१७ जना विदेशी नागरिक रहेको प्रतिवेदनमा उल्लेख छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको बेपत्ता अमेरिकी नागरिकको सूची मा न्युयोर्कका केही बासिन्दासमेत छन्। न्युयोर्ककी १४ वर्षीया राशी शशिधरन र उनकी ५४ वर्षीया आमा रेखा शशिधरन विपद् आउनुभन्दा केही समयअघिदेखि सम्पर्कविहीन छन्।

त्यसैगरी अमेरिकी नागरिक ६५ वर्षीय रमेश शर्मा र ६४ वर्षीया नीलमकुमारी शर्मा पनि अझै सम्पर्कविहीन छन्। उनीहरूकी छोरी राधिका शर्माले उद्धार टोली, सरकारी निकाय तथा क्षेत्रीय सम्पर्क व्यक्तिहरूसँग सहयोगका लागि सामाजिक सञ्जालमार्फत तत्काल अपिल गरेकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहित १३ हजार २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि १५ वटा हेलिकप्टरसमेत प्रयोग भइरहेका छन्।

उद्धार टोलीले हेलिकप्टरमार्फत १ हजार ९७६ जनाको उद्धार गरिसकेको छ। घाइते १३० जनालाई काठमाडौंसहित विभिन्न क्षेत्रका अस्पतालमा उपचार गरिएको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले थप विपद्को जोखिम अझै उच्च रहेको चेतावनी दिएका छन्। भू–उपग्रहबाट प्राप्त तस्बिरमा रसुवागढी सीमा नाकाबाट करिब १८ किलोमिटर माथि लेन्दे नदी थुनिएर ०.११ वर्ग किलोमिटर क्षेत्रफलको नयाँ ताल बनेको देखिएको छ।

उक्त तालको बाँध फुटेमा थप ठूलो बाढी आउन सक्ने जोखिम रहेको भन्दै अधिकारीहरूले नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्तीलाई तत्काल सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन चेतावनी दिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com