नेपालको बाढीबाट प्रभावित न्यूयोर्कका बासिन्दालाई सांसद ओकासियो–कोर्टेजको सहयोग प्रस्ताव


प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार

अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज। (फ्रानमारी मेट्जलर/अमेरिकी प्रतिनिधिसभा फोटोग्राफी कार्यालय)

नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित आफ्ना मतदातालाई अमेरिकी प्रतिनिधि अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले सहयोग र आवश्यक स्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्। बाढीमा परी सयौँ मानिसको ज्यान गएको छ।

न्यूयोर्कबाट डेमोक्र्याटिक पार्टीकी प्रतिनिधि ओकासियो–कोर्टेजले बिहीबार सामाजिक सञ्जालमार्फत सहयोगको प्रस्ताव सार्वजनिक गर्दै भनेकी छन्, “हिजो नेपाल र तिब्बतमा आएको घातक आकस्मिक बाढीबाट प्रभावित मानिसहरू मेरो प्रार्थनामा छन्। यस त्रासदीबाट प्रभावित न्यूयोर्कको १४औँ निर्वाचन क्षेत्रका मतदातालाई सहयोग गर्न मेरो कार्यालय तयार छ।”

ओकासियो–कोर्टेजको निर्वाचन क्षेत्रमा क्वीन्स र ब्रोंक्सका केही भाग पर्छन्। यी क्षेत्रमा अमेरिकामै सबैभन्दा ठूलो नेपाली तथा तिब्बती आप्रवासी समुदायमध्ये एक बसोबास गर्छ। ज्याक्सन हाइट्स र वुडसाइडलगायतका क्षेत्रमा बसोबास गर्ने धेरै नेपाली तथा तिब्बतीको प्रभावित हिमाली क्षेत्रसँग पारिवारिक सम्बन्ध रहेको छ।

नेपाल प्रहरीले बिहीबार दिउँसो सार्वजनिक गरेको आधिकारिक अवस्था विवरण अनुसार बाढी तथा पहिरोपछि ३५९ जनाको शव फेला परेको छ। २८ जना प्रहरी अझै सम्पर्कविहीन छन् भने खोज तथा उद्धार अभियानका लागि ८ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ।

यसैबीच, ६३ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। उनीहरूमध्ये केहीको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलगायतका अस्पतालमा उपचार भइरहेको छ।

ओकासियो–कोर्टेजले अगस्ट २६ मा काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको आपत्कालीन सुरक्षा निर्देशन समेत आफ्ना मतदातासँग साझा गरेकी छन्।

अमेरिकी दूतावासका अनुसार तिब्बतबाट आएको ठूलो आकस्मिक बाढी नेपाल प्रवेश गर्दै रसुवाको रसुवागढी, टिमुरे, स्याफ्रुबेसी तथा आसपासका क्षेत्रमा पुगेको थियो। बाढीले भवनहरूमा क्षति पुर्‍याउनुका साथै महत्वपूर्ण सडक, पुल, विद्युत् संरचना र सञ्चार प्रणालीमा समेत क्षति पुर्‍याएको छ।

नेपाली अधिकारीहरूले भोटेकोसी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन्। रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी आसपासका समुदायलाई विशेष सावधानी अपनाउन भनिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रमुख यातायात मार्गहरूमा अझै आवागमन प्रतिबन्ध कायम रहेको छ। पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

अमेरिकी दूतावासले अमेरिकी नागरिकलाई तत्काल अग्लो तथा सुरक्षित स्थानमा जान, स्थानीय अधिकारीले जारी गरेका उद्धार तथा स्थानान्तरणसम्बन्धी निर्देशन पालना गर्न र बाढी प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ। प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई परिवार तथा आफन्तको अवस्थाबारे जानकारी लिन पनि दूतावासले आग्रह गरेको छ।

रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, लाङटाङलगायत प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई सुरक्षित भएपछि आफ्नो नाम, स्थान र अवस्थासहित अमेरिकी दूतावासमा जानकारी गराउन भनिएको छ।

आपत्कालीन सहायता आवश्यक परे काठमाडौंस्थित अमेरिकी दूतावासमा ९७७–१–४२३–४००० वा [email protected] मा सम्पर्क गर्न सकिनेछ। अमेरिकी विदेश मन्त्रालयको कन्सुलर मामिला शाखामा अमेरिकाभित्रबाट ८८८–४०७–४७४७ र अमेरिकाबाहिरबाट २०२–५०१–४४४४ मा सम्पर्क गर्न सकिन्छ।

नेपालभित्र आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १००, सरकारी विपद् हटलाइन १२३४ र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिनेछ। यात्रु तथा अमेरिकी नागरिकलाई सुरक्षा तथा आपत्कालीन सूचनाका लागि अमेरिकी विदेश मन्त्रालयको स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम (एसटीईपी) मा दर्ता हुनसमेत आग्रह गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com