नेपालको विनाशकारी बाढीपछि अमेरिकास्थित नेपाली समुदाय शोक र सहयोगमा
प्रकाशित मिति : १० भदौ २०८३, बुधबार
नुवाकोटमा बाढीबाट प्रभावित बासिन्दाको उद्धार गर्दै सुरक्षाकर्मी तथा स्थानीय सहयोगीहरू। तस्बिर: दीपेन्द्र ढुङ्गाना/खसोखास
नेपालको रसुवागढी नाकाबाट सुरु भई त्रिशूली नदी करिडोर हुँदै नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा फैलिएको विनाशकारी बाढीले ठूलो जनधन र पूर्वाधारमा क्षति पुर्याएपछि अमेरिकामा बसोबास गर्ने नेपालीहरूले शोक र चिन्ता व्यक्त गर्नुका साथै सहयोगको अपिलमा समेत एकजुट भएका छन्। अहिलेसम्म ९५ जनाको मृत्यु भएको सरकारी पुष्टि भए पनि प्रभावित क्षेत्रमा उद्धार जारी रहेकाले मृत्यु, बेपत्ता र विस्थापितको संख्या अझै परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।
न्यु जर्सीमा बसोबास गर्ने डा. विष्णुमाया परियारले बाढीको समाचारले आफू अत्यन्त दुःखी भएको बताएकी छन्। उनले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै पीडामा रहेकाहरूले यस कठिन अवस्थामा शक्ति र सान्त्वना पाऊन् भन्ने कामना गरेकी छन्।
न्युयोर्क निवासी नर्बदा क्षेत्रीले प्राकृतिक विपद् रोक्न नसकिए पनि व्यक्तिगत तथा सामाजिक आचरणलाई संयमित बनाउन सकिने बताएकी छन्। देश शोकमा रहेका बेला मदिरासहितको तीज प्रदर्शन नगरी केही दिन प्रार्थना र सहानुभूति व्यक्त गर्न उनले आग्रह गरेकी छन्।
नर्थ क्यारोलिनामा बसोबास गर्ने नेपाली कलाकार सीताराम कट्टेलले २०७२ सालको भूकम्पको स्मरण गर्दै त्यतिबेला अमेरिकामा रहँदा नेपालको पीडा देखेर स्वदेश फर्किएको बताएका छन्। अहिले फेरि नेपाल रोइरहेको र आफूहरू विदेशबाटै पीडा हेर्न बाध्य भएको उनको भनाइ छ। उनले जोखिममा रहेका र प्रभावित सबैलाई सतर्क रहन, सुरक्षित रहन तथा एकअर्काको ख्याल गर्न आग्रह गरेका छन्।
मेरिल्यान्ड निवासी लोक तिवारीले भोटेकोशी तटीय क्षेत्र तथा नुवाकोट, धादिङ, चितवन र गोरखालगायतका स्थानमा भएको क्षतिको खबरले आफूहरू मर्माहत र स्तब्ध भएको बताएका छन्। “देशलाई दुःख्दा हामीलाई पनि दुःख्छ,” भन्दै उनले टाढा रहे पनि आफ्नो ठाउँबाट सक्ने हरेक मानवीय सहयोगका लागि तत्पर रहेको जनाएका छन्।
तिवारीले बाढीपहिरोमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना, मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेवक र अन्य सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
न्युयोर्क निवासी आनन्द बिष्टले रसुवाको लेन्दे खोलाको बाढी र त्रिशूली नदीमा त्यसको प्रभावका कारण देशका विभिन्न भागमा क्षति पुगेको उल्लेख गर्दै पीडितको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्नु सबैको मानवीय, नैतिक र सामाजिक दायित्व भएको बताएका छन्।
बिष्टले विपद् राहत कोषमा आफ्नो तर्फबाट आर्थिक सहयोग समेत गरेका छन्। उनले देश तथा विदेशमा रहेका नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक, व्यवसायी, संघसंस्था र आम नेपालीलाई क्षमता अनुसार राहत कोषमा योगदान गर्न अपिल गरेका छन्। “सानो सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो आशा र भरोसा बन्न सक्छ,” उनको भनाइ छ।
यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि अमेरिकास्थित नेपाली दूतावास र महावाणिज्यदूतावासले आर्थिक सहयोग गर्न अपिल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको अपिलअनुसार २०८३ भदौ १० गते बुधबार बिहान ८ः४० बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्र प्रभावित भएका छन्। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।
सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम तीव्र बनाएको उल्लेख गर्दै पीडितलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको बताएको छ।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोष मा आर्थिक योगदान गर्न सबै नेपाली तथा सहयोगी मनहरूलाई आग्रह गरिएको छ।
न्यूयोर्कस्थित नेपालको महावाणिज्यदूतावासले पनि सामाजिक सञ्जालमार्फत बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै राहत कोषमा सहयोग गर्न अपिल गरेको छ। सहयोगकर्तालाई प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेका बैंक खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ।
उद्धार अभियान जारी रहेकाले क्षतिको विस्तृत विवरण बाढीको पानी घट्दै गएपछि र प्रभावित क्षेत्रमा पहुँच सहज भएपछि मात्र यकिन हुने अधिकारीहरूको भनाइ छ। बाढी चीनतर्फबाट भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गरेको हो।
नेपालका परराष्ट्रमन्त्रीका अनुसार चीनको क्षेत्रमा गएको भूकम्पबाट ठूलो पहिरो खस्दा भोटेकोशी नदी थुनिएको र पछि पानी एक्कासि नेपालतर्फ बगेको हुन सक्छ। अन्य प्रारम्भिक आकलनले हिमनदी आसपासको बरफ–ढुंगा हिमपहिरोले सहायक नदी थुनेर अस्थायी ताल बनेको र बाँध फुटेपछि आकस्मिक बाढी आएको हुन सक्ने देखाएका छन्। यद्यपि बाढीको यथार्थ कारणबारे अनुसन्धान जारी छ।
बाढी करिब बिहान ९ बजे रसुवागढी सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गरी टिमुरे, स्याफ्रुबेँसी र रसुवाका अन्य बस्तीमा फैलिएको थियो। त्यसपछि त्रिशूली नदी किनार हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनतर्फ क्षति पुर्याएको थियो।
प्रारम्भिक रूपमा रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा सबैभन्दा गम्भीर क्षति भएको विवरण आएको छ। बाढीले घर, होटल, पसल, प्रहरी चौकी, पर्यटक बस, मालवाहक सवारीसाधन र व्यापारिक सामग्री बगाएको छ। चीनबाट आयात हुने वस्तुको प्रमुख प्रवेशद्वार रसुवागढी भन्सार यार्डसमेत ध्वस्त भएको बताइएको छ।
व्यवसायीहरूको प्रारम्भिक अनुमानअनुसार २०० भन्दा बढी मालवाहक ट्रक तथा आयात गरिएका ५०० देखि ७०० सम्म विद्युतीय सवारीसाधन बाढीले बगाएको हुन सक्छ। चिलिमे, मैलुङ, बेत्रावती, त्रिशूली बजार, देवीघाट, गल्छी, गजुरी र मलेखुमा समेत बाढीको प्रभाव परेको छ। रसुवा सीमा क्षेत्रदेखि गल्छीसम्म २० भन्दा बढी पुल बगेको प्रारम्भिक विवरणले जनाउँछ, जसका कारण नदीवारि–पारि जोड्ने सडक सम्पर्क अवरुद्ध बनेको छ।

सञ्चार, सडक, पुल र विद्युत् प्रणालीमा क्षति पुगेकाले दुर्गम तथा सबैभन्दा प्रभावित बस्तीमा उद्धारकर्मी पुग्न कठिन भएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पर्यटक प्रहरी र स्थानीय बासिन्दाले खोजी, उद्धार, स्थानान्तरण तथा क्षति विवरण संकलनको काम गरिरहेका छन्। हेलिकोप्टर परिचालन गरिए पनि केही अत्यधिक प्रभावित पहाडी बस्तीमा खराब मौसम तथा कठिन भूबनोटका कारण अवतरण गर्न नसकिएको जनाइएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार ४०३ जना सम्पर्कविहीन छन्, जसमध्ये ३४१ विदेशी र ६२ नेपाली नागरिक छन्। सम्पर्कविहीन सूचीमा १३३ भारतीय, ४७ अमेरिकी, ३४ अष्ट्रेलियाली, ३३ बेलायती, २४ क्यानेडियन तथा १९ मलेसियाली नागरिक छन्। तीमध्ये २०३ पुरुष र २०० महिला रहेको विवरण छ।
ऊर्जा मन्त्रालयका अनुसार चिलिमे, रसुवागढी, त्रिशूली–३ए र त्रिशूली–३बी सबस्टेसनसहित १३ देखि १५ जलविद्युत् आयोजना तथा सम्बन्धित विद्युत् संरचना प्रभावित भएका छन्। करिब ४३० मेगावाट विद्युत् आपूर्ति अवरुद्ध हुँदा रसुवा र नुवाकोटका धेरै भागमा अन्धकार छाएको छ। टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा पीडित परिवारसँग सम्पर्क गर्न र क्षतिको यकिन विवरण संकलन गर्न पनि समस्या भएको छ।





