ल कलेजहरूको मान्यता प्रक्रियाबाट अमेरिकन बार एसोसिएसनलाई हटाउने तयारी
Photo: Andy Feliciotti/ Unsplash
अमेरिकी शिक्षा मन्त्रालयले कानुन संकायहरूको सम्बन्धन तथा मान्यता प्रक्रियामा ‘अमेरिकन बार एसोसिएसन’को सात दशक लामो एकाधिकार अन्त्य गर्ने प्रस्ताव गरेको छ। ‘वाल स्ट्रिट जर्नल’ को रिपोर्टअनुसार, विगत ७० वर्षदेखि करिब २०० ल कलेजहरूलाई मान्यता दिँदै आएको एबीएको अधिकार कटौती गर्न मन्त्रालयले औपचारिक कदम चालिसकेको छ।
सहायक शिक्षा मन्त्री डेभिड बार्करले विद्यमान मान्यता प्रक्रियालाई ‘सिन्डिकेट’ को संज्ञा दिँदै, प्रतिस्पर्धाको अभावमा यस्ता निकायहरूले आफ्नो राजनीतिक एजेन्डा लाद्ने गरेको आरोप लगाएका छन्। अर्कोतर्फ, एबीएको ‘एक्रिडिटेसन काउन्सिल’ की अध्यक्ष मेलिसा हर्टले भने यो नियमित पुनरावलोकन प्रक्रियाको एक भाग मात्र भएको र आगामी सुनुवाइमा मन्त्रालयका सबै चासोहरूलाई सम्बोधन गरिने दाबी गरेकी छन्।
अमेरिकामा संघीय विद्यार्थी ऋण प्राप्त गर्न तथा अधिकांश राज्यहरूमा बार परीक्षामा सहभागी हुन एबीएबाट मान्यता प्राप्त कलेजमै अध्ययन गरेको हुनुपर्छ। पछिल्लो समय एबीएमाथि वामपन्थी राजनीतिक झुकाव राखेको र ‘विविधता तथा समावेशिता’ का नाममा आफ्ना एजेन्डाहरू जबर्जस्ती लागू गरेको आरोप लाग्दै आएको छ। ट्रम्प प्रशासनले शैक्षिक संस्थाहरूमाथि नियन्त्रण कायम गर्न चालेका शृङ्खलाबद्ध कदमहरूकै एक भागका रूपमा यस निर्णयलाई हेरिएको छ।





