केन्यामा हेलिकप्टर दुर्घटना: इक्वेडरका जासुसी प्रमुख र अमेरिकी पत्रकारसहित ७ जनाको मृत्यु
Photo: Mathurin NAPOLY / matnapo / Unsplash
केन्याको साम्बुरु काउन्टीमा भएको हेलिकप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर निकाय प्रमुख मिचेल सेन्सी-कोन्टुगी र उनकी पत्नी स्टेफनी होलिहानसहित सात जनाको निधन भएको छ। यो दुर्घटना बुधबार स्थानीय समय अनुसार बिहान ०९:१३ बजे भएको थियो।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार दुर्घटनामा ज्यान गुमाउने अन्य पाँच जना अमेरिकी नागरिक थिए। मृतकमध्ये एनबीसी युनिभर्सलका पत्रकार जोसे अल्बर्टो सुआरेज र मियामीका रेष्टुरेन्ट व्यवसायी रोजर दुआर्टे रहेका छन्। अन्य तीन जना अमेरिकीको पहिचान अझै खुल्न सकेको छैन।
केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त ‘युरोकोप्टर इसी १३० बी फोर हेलिकप्टर लोइसाबा वन्यजन्तु संरक्षण क्षेत्रबाट एवासो न्याइरो नदीतर्फ मनोरम दृश्य अवलोकनको लागि उडान भरिरहेको थियो। माउन्ट ओलोलोक्वेको जङ्गलमा भएको दुर्घटनापछि लेडी लरी हेलिकप्टर्सले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
इक्वेडर सरकार र पूर्व राष्ट्रपति गुइलेर्मो लासोले सेन्सी-कोन्टुगीको निधनप्रति शोक व्यक्त गरेका छन्। सन् २०२४ मा रणनीति गुप्तचर केन्द्रको महानिर्देशक नियुक्त भएका ४४ वर्षीय सेन्सी-कोन्टुगीको निधनको विस्तृत विवरण भने इक्वेडरले सार्वजनिक गरेको छैन।





