क्यानडामाथि ५०% भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा तीन दिनका लागि स्थगित
अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एलेक्स ब्रान्डन/एपी-रासस
अमेरिका र क्यानडाबिच व्यापार सम्झौता अन्तिम चरणमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाली वस्तुहरूमा ५० प्रतिशत नयाँ भन्सार शुल्क लगाउने निर्णयलाई तीन दिनका लागि स्थगित गरेका छन्।
लगभग २० अर्ब डलर बराबरका क्यानडाली सामानहरूमा अतिरिक्त महसुल लागू हुन दुई घण्टाभन्दा कम समय बाँकी छँदा ट्रम्पको यो घोषणा आएको हो। ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भनेका छन्, दस्तावेजहरूलाई अन्तिम रूप दिने सर्तमा अमेरिका र क्यानेडाबिच सम्झौता भएको छ, त्यसैले भोलि बिहानदेखि लागू हुने भनिएको ५० प्रतिशतको भन्सार शुल्कलाई ३ दिनका लागि रोकेको छु।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि वार्तामा उल्लेख्य प्रगति भएको तर अझै केही महत्त्वपूर्ण काम बाँकी रहेको बताएका छन्। यो सम्झौतासँगै लामो समयदेखि विवादित बनेको किस्टोन एक्सएल आयोजना पुनर्जीवित हुन सक्ने सङ्केत ट्रम्पले दिएका छन्। दैनिक ८ लाख ३० हजार ब्यारेल तेल ओसारपसार गर्ने क्षमताको सो पाइपलाइन परियोजनालाई जो बाइडेन प्रशासनले रद्द गरेको थियो।
अमेरिका र क्यानडाबिच सवारी साधनमा लाग्ने कर, मदिरा बिक्री तथा दुग्धजन्य उत्पादनका कोटा विषयमा मतभेद रहँदै आएको थियो। यो अस्थायी स्थगनले दुवै देशका व्यवसायी तथा उद्योगीहरूलाई ठुलो राहत पुर्याएको छ।





