सप्ताहन्तमा देशव्यापी कारबाहीमा पक्राउ नेपालीलाई आइसद्वारा खराब उदाहरणका रुपमा प्रस्तुत
तस्वीर : आइस
अमेरिकी अध्यागमन एजेन्सी आइसले गत सप्ताहन्तमा देशभर सञ्चालन गरेको अभियानका क्रममा पक्राउ परेका एक नेपाली नागरिकलाई ‘सबैभन्दा खराबमध्येका खराब आप्रवासी’को उदाहरणका रूपमा प्रस्तुत गरेको छ।
विभिन्न गम्भीर अपराधमा दोषी ठहर भएका कागजातविहीन आप्रवासीहरूलाई पक्राउ गरेको आइसले वक्तव्यमार्फत सार्वजनिक गरेको १५ जनाको सूचीमा एक नेपाली नागरिकलाई पनि उदाहरणका रूपमा प्रस्तुत गरेको हो।
पक्राउ परेका नेपाली नागरिक दिनेश सापकोटा हुन्। आइसका अनुसार उनी एरिजोनाको कोकोनिनो काउन्टीमा यौन दुर्व्यवहार, अपहरण, सुरक्षाकर्मीमाथि ज्यान लिने मनसायले आक्रमण तथा जबर्जस्ती नियन्त्रणमा लिएर गम्भीर आक्रमण गरेको अभियोगमा अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति हुन्।
आइसको यस कारबाहीमा नेपालसहित लाओस, इक्वेडर, मेक्सिको, एल साल्भाडोर, जमैका, क्युबा र डोमिनिकन रिपब्लिकका नागरिकहरू पक्राउ परेका छन्। उनीहरूमाथि पहिलो दर्जाको हत्या, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ज्यान लिएको, बालबालिकामाथि यौन शोषण तथा यौन दुर्व्यवहार र लागुऔषध तस्करीजस्ता गम्भीर अपराधमा दोषी ठहर भएको वा अभियोग लागेको आइसले जनाएको छ।
होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मल्लिनले अमेरिकामा गैरकानुनी रूपमा रहेका र सर्वसाधारणको सुरक्षाका लागि खतरा बनेका अपराधीहरूलाई खोजी–खोजी पक्राउ गरी देशनिकाला गर्ने अभियानलाई तीव्र पारिएको बताएका छन्।
यसका अतिरिक्त, होमल्यान्ड सेक्युरिटीले सञ्चालन गरेको ‘खराबमध्येका अति खराब’ अपराधीहरूको सूची राखिएको वेबसाइटमा अहिलेसम्म थप १० जना नेपाली नागरिकलाई पनि सूचीकृत गरिएको छ।
सूचीमा ह्यारिसबर्ग, पेन्सिलभेनियाका शंकर कार्की, डलास, टेक्सासका टंक पराजुली र ब्रिजवाटर, म्यासाचुसेट्सका प्रसिद्ध बरुवाल रहेका छन्। उनीहरूमध्ये कार्कीलाई ठगी, पराजुलीलाई खतरनाक लागुऔषधसम्बन्धी अपराध तथा बरुवाललाई सार्वजनिक भवनमा आगजनी र लुटपाटको अपराधमा सूचीकृत गरिएको छ।
यसअघि सूचीमा विभिन्न राज्यबाट पक्राउ परेका सात जना नेपाली नागरिक यौन शोषण, ठगी, लागुऔषध ओसारपसार र हिंसात्मक आक्रमणजस्ता गम्भीर अपराधमा संलग्न रहेको उल्लेख गरिएको थियो। सूचीमा टेक्सास, न्युयोर्क, कोलोराडो र एरिजोनालगायत विभिन्न राज्यमा आपराधिक गतिविधिमा संलग्न नेपाली नागरिकहरूको नाम समावेश छ।
उक्त सूचीमा टेकन कँडेललाई कोलोराडोमा नाबालिगको यौन शोषण र बन्धक बनाएको अपराधमा सूचीकृत गरिएको छ। अनिल पन्थलाई डलासमा सञ्चारमाध्यममार्फत नाबालिगलाई लोभ्याएको अपराधमा सूचीकृत गरिएको छ। सयनम घिमिरेलाई न्युयोर्कमा यौन दुर्व्यवहारको अपराधमा सूचीकृत गरिएको छ।
सन्तोष दर्जीलाई एरिजोनामा खतरनाक लागुऔषध, परिचय चोरी र सवारीसाधन चोरीको अपराधमा सूचीकृत गरिएको छ। नबिन शाहलाई टेक्सासमा ठगी, कुटपिट र चोरीको अपराधमा सूचीकृत गरिएको छ। रातुल सिंहलाई डलासमा डकैतीको अपराधमा सूचीकृत गरिएको छ। रिकेश थापालाई लुइजियानामा ‘वायर फ्रड’ अर्थात् विद्युतीय ठगीको अपराधमा सूचीकृत गरिएको छ।
ट्रम्प प्रशासनको निर्देशनअनुसार गम्भीर तथा हिंसात्मक अपराधमा संलग्न गैरनागरिकहरूलाई प्राथमिकताका साथ देशनिकाला गर्ने उद्देश्यले यो कदम चालिएको हो। होमल्यान्ड सेक्युरिटीले राष्ट्रपति ट्रम्पको वाचाअनुरूप देशका लागि खतरा मानिएका तथा गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई लक्षित गर्दै सामूहिक देशनिकाला प्रक्रिया अगाडि बढाइएको जनाएको छ। आईसीईका अधिकारीहरूले गम्भीर अपराधमा संलग्न गैरनागरिकहरूलाई देशनिकाला गर्ने होमल्यान्ड सेक्युरिटीको निर्देशनअनुसार यी पक्राउ गरिएको बताएका छन्।
होमल्यान्ड सेक्युरिटीको वेबसाइटमा भनिएको छ, “होमल्यान्ड सेक्युरिटीले आईसीईद्वारा पक्राउ गरिएका ‘खराबमध्येका अति खराब’ आपराधिक विदेशीहरूलाई सार्वजनिक गरिरहेको छ। होमल्यान्ड सेक्युरिटीको नेतृत्वमा कर्मचारीहरूले राष्ट्रपति ट्रम्पको वाचा पूरा गर्दै ‘खराबमध्येका अति खराब’ बाट सुरु गरी सामूहिक देशनिकाला कार्य अगाडि बढाइरहेका छन्।”





