‘डेथ जोनमा शेर्पाले आफ्नै अक्सिजन दिएर बचाए’ : दुवै खुट्टा गुमाएर सगरमाथा चढ्ने विश्वकै पहिलो आरोही हरि बुढामगर


प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार

न्युजर्सीमा आयोजित ‘हरि बुढामगरसँग एक साँझ’ कार्यक्रममा आफ्नो सगरमाथा आरोहण र सेभेन समिट्स यात्राबारे अनुभव सुनाउँदै विश्व कीर्तिमानी आरोही हरि बुढामगर। तस्बिर : राजन काफ्ले/खसोखास

सगरमाथाबाट फर्किंदै गर्दा करिब ८,६०० मिटर उचाइको डेथ जोनमा अक्सिजन सकिएपछि आफूले मृत्यु नजिकबाट महसुस गरेको तर नेपाली शेर्पाको मानवताले आफ्नो जीवन जोगिएको आरोही हरि बुढामगरले आइतबार न्युजर्सीमा आयोजित कार्यक्रममा अनुभव सुनाए। टोलीका गाइडहरू अतिरिक्त अक्सिजनसहित अघि नै तल फर्किसकेकाले उनको उद्धारको सम्भावना पनि अनिश्चित बनेको थियो।

दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएपछि सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति तथा गिनिज वर्ल्ड रेकर्ड्सधारी बुढामगरले न्युजर्सीमा आयोजित ‘हरि बुढामगरसँग एक साँझ’ कार्यक्रममा उक्त अनुभव सुनाएका हुन्।

“सगरमाथा आरोहण गरेर फर्किंदै गर्दा डेथ जोनमा मेरो अक्सिजन सकियो। अचानक सास फेर्न गाह्रो भयो,” बुढामगरले भने। “मसँगै गएका गाइडहरू मलाई र मेरो शेर्पालाई छाडेर अघि नै फर्किसकेका थिए। गाइडसँग प्रायः अतिरिक्त अक्सिजन हुन्छ, तर उनीहरू नै नभएपछि अवस्था झन् अन्योलपूर्ण बन्यो।”

जीवन–मरणको क्षणमा परिवार, सगरमाथा चढ्न गरेको वर्षौंको सङ्कल्प र मेहनत तथा आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई प्रेरित गर्ने सपना सम्झिएको उनले बताए। परिवारले आफ्नो शवसमेत देख्न नपाउने र शव तल ल्याउन लाग्ने खर्चसमेत उनीहरूले बेहोर्न नपरोस् भन्ने सोच आएको उनले सुनाए।

“हिमालमा अप्ठ्यारो पर्दा सहयोग र उद्धार गर्छन् भन्ने आशा गरिएका आफ्नै टोलीका सदस्यहरूले साथ छाडेपछि र डेथ जोनमै अक्सिजन सकिएपछि जीवनमा दोस्रोपटक मलाई लाग्यो—अब साँच्चै मेरो जीवन सकियो,” उनले भने।

तर मिङ्मा शेर्पाले आफ्नो अक्सिजन दिएपछि बुढामगर बाँच्न सफल भए। “मलाई लाग्यो, नेपालीभित्र रहेको मानवताका कारण म बाँच्न सफल भएँ,” उनले भने। “त्यो डेथ जोनमा आफ्नो जीवन जोखिममा राखेर मलाई बचाउने नेपाली शेर्पाभन्दा मानवताको ठूलो उदाहरण अर्को हुन सक्दैन।”

आधार शिविरमा पुगेर बुढामगरले मिङ्मालाई आफूलाई किन बचाएको भनेर सोधेका थिए। मिङ्माले बुढामगरको छ वर्षको प्रयास र उनको उद्देश्यलाई सम्झेर सहयोग गरेको बताएका थिए। “मैले सोचेँ, मभन्दा तपाईं बाँच्नु महत्त्वपूर्ण छ,” मिङ्माले भनेका थिए।

एआरसी फर नेपालले न्युजर्सीमा आयोजना गरेको उक्त कार्यक्रममा बुढामगरले आफ्नो बाल्यकाल, ब्रिटिस गोर्खा सैनिक जीवन, अफगानिस्तानमा भएको विस्फोट, त्यसपछिको मानसिक सङ्घर्ष, बाल्यकालमै बुनेको सगरमाथा आरोहणको सपना तथा सातै महादेशका अग्ला हिमाल आरोहणसम्मको यात्रा–अनुभव सुनाए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युजर्सीमा आयोजित ‘हरि बुढामगरसँग एक साँझ’ कार्यक्रममा सेभेन समिट्स अभियानको अनुभव प्रस्तुत गर्दै हरि बुढामगर।
तस्बिर : राजन काफ्ले/खसोखास

करिब छ वर्षको लगातार प्रयासपछि २०२३ मे १९ मा सगरमाथाको चुचुरोमा पुग्न सफल बुढामगरलाई खुम्बु आइसफल मात्र पार गर्न ११ घण्टा लागेको थियो, जुन सामान्य आरोहीले पाँचदेखि छ घण्टामा पार गर्छन्। आरोहीहरू मध्यरातबाट यात्रा सुरु गरेर बिहान सबेरै खुम्बु आइसफल पार गर्छन्। तर अरू आरोहीको बाटो अवरुद्ध नहोस् र उनीहरूको जोखिम नबढोस् भनेर उनले साँझदेखि नै यात्रा सुरु गरेर रातभर आरोहण गरेका थिए।

त्यसैगरी, उनको सगरमाथा आरोहणको अन्तिम दिनको चुचुरो–यात्रा सबैभन्दा अन्योलपूर्ण, चुनौतीपूर्ण र अविस्मरणीय रह्यो। सामान्यतया सगरमाथा आरोहणको अन्तिम दिन चौथो आधार शिविर साउथ कोल (७,९५० मिटर) बाट राति १० देखि १२ बजेको बीचमा हिँड्न सुरु गरिन्छ र रातभर हिँडेर सकेसम्म बिहान सबेरै चुचुरो (८,८४८.८६ मिटर) मा पुगिन्छ। यो यात्रा सामान्यतया सातदेखि नौ घण्टाको हुन्छ।

तर उनी राति ९:५० बजेदेखि नै साउथ कोलबाट हिँड्न सुरु गरेका थिए र भोलिपल्ट दिउँसो ३:१० बजे मात्र चुचुरोमा पुगेका थिए। चुचुरो पुग्न मात्रै उनलाई १७ घण्टा २० मिनेट लाग्यो भने साउथ कोल फर्किन थप सात घण्टा ५० मिनेट लाग्यो। यसरी उनको कुल यात्रा २५ घण्टा १० मिनेटको भयो, जुन सामान्य आरोहीलाई लाग्ने समयको दोब्बरभन्दा धेरै हो।

उनी चुचुरोमा पुग्दा मौसम अत्यन्त खराब भइसकेको थियो। विश्वको सर्वोच्च शिखर सगरमाथामा दिउँसो हावाको वेग अत्यधिक बढ्छ, घाम लागेपछि हिउँ चिप्लो हुन्छ, मौसम बिग्रँदै जान्छ र शरीर पनि थाक्दै जान्छ। त्यसैले मध्याह्नपछिको समय आरोहणका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छ। तसर्थ, धेरै बेर चुचुरोमा बस्ने अवस्था थिएन। केही तस्बिर खिचेर उनी तुरुन्तै तल झर्न थाले।

हिमाल आरोहणमा ८,००० मिटरभन्दा माथिको क्षेत्रलाई डेथ जोन भनिन्छ, जहाँ अतिरिक्त अक्सिजनबिना धेरै बेर टिक्न सकिँदैन। चौथो आधार शिविर र चुचुरोको बीचमा बाल्कोनी (८,४०० मिटर) र साउथ समिट (८,७४९ मिटर) पर्छन्। बाल्कोनी र साउथ समिटको बीचतिरै उनको अक्सिजन सकिएको थियो।

सगरमाथाको चुचुरोमा कृत्रिम खुट्टाका साथ आरोही हरि बुढामगर (बीचमा), आफ्ना सहयोगीहरूसँगै ऐतिहासिक सफलताको उत्सव मनाउँदै।
(तस्बिर: जीतबहादुर तामाङ/हरि बुढामगरबाट प्रदान)

आफ्नो आरोहण सामान्यभन्दा लामो हुने भएकाले टोलीले सम्पूर्ण आरोहणका क्रममा करिब ५० हजार अमेरिकी डलर बराबरका १०६ वटा अक्सिजन सिलिन्डर प्रयोग गरेको थियो। तर आवश्यक समन्वयबिना पाँच जना गाइड बाल्कोनीबाट र एक जना साउथ समिटबाट अक्सिजन सिलिन्डरसहित तल फर्किंदा उनको ज्यान जोखिममा परेको थियो।

आरोहण गरेर फर्किने क्रममा उनीहरू मृत शरीर तल ल्याइँदै गरेको दृश्यसँग पनि आमनेसामने भए।

“हामी बाटोको एकातिर उभिएर शवलाई जान दियौँ। त्यतिबेला मैले सोचेँ—शेर्पा नभएको भए अहिले त्यो ठाउँमा म पनि हुन सक्थेँ। म पनि त्यही अवस्थाको नजिक पुगेर फर्किएको हुँ। त्यसैले मृत शरीरलाई सम्मानपूर्वक बाटो दिनुपर्छ भन्ने लाग्यो,” भावुक हुँदै उनले सुनाए।

पहाड जति सुन्दर छ, त्यसको अर्को पाटो त्यति नै क्रूर छ। गम्भीर चोट, स्थायी अपाङ्गता वा मृत्यु हुन सक्ने तथा शव उद्धार असम्भव वा अत्यन्त जोखिमपूर्ण हुन सक्ने अवस्था स्वीकारेरै आरोहीहरू यस्ता अभियानमा होमिन्छन्। सायद संसारमा यही एउटा यस्तो काम छ, जहाँ यी सबै जोखिमबारे अग्रिम जानकारी गराई सहीछाप गराइन्छ।

त्यस दिन करिब सय जनाले चुचुरो पुग्ने प्रयास गरे पनि ३० जना मात्र सफल भएको उनले बताए। त्यही सिजनमा आरोहणका क्रममा १७ जनाको मृत्यु भएको थियो।

“हिमालमा कुनै पनि बेला आफ्नो ज्यान जान सक्छ भन्ने हरेक आरोहीलाई थाहा हुन्छ,” बुढामगरले भने, “म गोर्खा सैनिक भएर मर्न तयार भएको मान्छे हुँ। म आफ्नो सपना पछ्याउँदै मर्न तयार छु, तर पछाडि बसेर गुनासो गर्दै मर्न चाहन्नँ।”

विस्फोटपछि ‘दोस्रो जीवन’

ब्रिटिस सेनामा कार्यरत बुढामगर २०१० अप्रिल १७ मा अफगानिस्तानमा पैदल गस्तीमा थिए। क्षतिग्रस्त संरचनाको अवस्था अध्ययन गर्न गएका इन्जिनियरहरूको सुरक्षाका लागि १६ जनाको टोली एउटै लाइनमा अघि बढिरहेको थियो। उनी दसौँ नम्बरमा थिए। अगाडिका नौ जनाले त्यही बाटो पार गर्दा केही भएन, तर उनले पाइला राख्नेबित्तिकै विस्फोट भयो।

“पहिलोपटक दायाँ कानमा ठूलो आवाज बजेको महसुस भयो,” उनले स्मरण गरे, “सुरुमा तालिममा जस्तै कुनै अभ्यास भइरहेको हो कि भन्ने लाग्यो। पछि मात्र यो वास्तविक घटना हो भन्ने थाहा पाएँ। त्यसपछि लाग्यो, अब म मरेँ। त्यसबेला मैले आफैँसँग गरेको पहिलो प्रश्न थियो—के म बाँच्छु? के म फेरि आफ्नो परिवारलाई भेट्न पाउँछु?”

अक्सिजन मास्क र सुरक्षा सामग्रीसहित हिमाल आरोहणको कठिन मार्गमा आरोहण गर्दै हरि बुढामगर। उनको यो यात्रा साहस र दृढताको प्रतीक बन्यो। (तस्बिर: अविरल राई/हरि बुढामगरबाट प्रदान)

सहकर्मीहरूले वरपर रहेका अन्य विस्फोटक पदार्थ पन्छाउँदै उनलाई प्राथमिक उपचार गरे। अवस्था गम्भीर भएपछि अर्कै उद्धार–अभियानमा गएको हेलिकोप्टर मोडेर १७ मिनेटभित्रै उद्धार गरिएकाले आफू बाँच्न सफल भएको उनले बताए।

“मेरा साथीहरूले मलाई दोस्रो जीवन जिउने अवसर दिए। उनीहरू नभएको भए आज मसँग न आरोहणको कथा हुन्थ्यो, न यो साँझ,” उनले भने।

विस्फोटमा उनले दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाए। दायाँ हातसहित शरीरका अन्य भागमा पनि चोट लाग्यो। एक महिना अस्पतालमा बसेका उनलाई कृत्रिम खुट्टाको सहायताले हिँड्न सक्न करिब साढे तीन वर्ष लाग्यो। उनले अस्पताल र पुनर्स्थापना केन्द्रमा गरी झन्डै चार वर्ष बिताए।

छोराको अनुहारले रोकेको जीवन अन्त्य गर्ने सोच

आफ्नो जीवनमा शारीरिक चोटभन्दा मानसिक अवस्थासँगको लडाइँ कठिन रहेको अनुभव बुढामगरले कार्यक्रममा सुनाए। आफूलाई परिवार र समाजको बोझ ठान्न थालेपछि पीडा र भावना दबाउन अत्यधिक मदिरा सेवन गर्न थालेको विगत उनले भावुक हुँदै सम्झिए। मदिरा नपिउँदा हात काम्ने, कुरा बिर्सने र आक्रामक बन्ने समस्या पनि उनमा देखिन थालेको थियो।

एकपटक बेलायतको क्यान्टरबरी सहरस्थित नदी किनारमा आफ्नो जीवन अन्त्य गर्ने सोचसहित गम्भीर अवस्थामा पुगेका बुढामगरलाई साथी तथा कल्याणकारी संस्थाका कर्मचारीले उद्धार गरेका थिए।

“घरमा आएपछि छोरा मेरो नजिक आयो। म त्यो अवस्थामा हुँदा पनि छोराले मबाट मायाको अपेक्षा गरेको थियो। त्यही छोराको अनुहार हेरेर त्यसपछि जीवन अन्त्य गर्ने विचार त्यागेँ,” उनले भने। “ह्वीलचेयरमा कुनामा बसेर भए पनि आफ्ना बच्चालाई केही सल्लाह दिन सक्छु, परिवारका लागि केही गर्न सक्छु भन्ने सोच आयो।”

त्यतिबेला उनका छोरा साढे दुई वर्षका थिए।

पछि उनलाई पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) भएको पहिचान भयो र लगातार छ हप्ता उपचार गरियो। फर्केर हेर्दा आफू त्यसबेला अत्यन्त जोखिमपूर्ण मानसिक अवस्थामा रहेको उनले बताए।

“त्यतिबेला मेरो आधा शरीर गइसकेको थियो। बाँकी आधा पनि गए कथा सकिन्छ भन्ने सोच थियो,” उनले भने। “मर्नु र बाँच्नुबीचको फरक नै थाहा हुन छोडेको थियो, डर भन्ने कुरा पनि हराइसकेको थियो।”

“त्यसैबेला मैले स्काइडाइभिङ गर्ने निधो गरेँ। त्यतिबेला लागेको थियो—त्यहाँबाट झरेर मरे पनि केही छैन, आखिर आधा शरीर त गइसकेको छ।”

तर १५ हजार फिटको उचाइमा विमानको ढोका खुलेपछि मर्न चाहेका उनीसमेत डराए। आँखा चिम्लेर विमानबाट हामफालेका उनी सुरक्षित रूपमा जमिनमा ओर्लिए।

“त्यतिबेला मैले खुट्टा नभए पनि केही गर्न सकिँदो रहेछ भन्ने महसुस गरेँ,” उनले भने, “त्यसपछि मनको शक्ति कति ठूलो हुन्छ भन्ने बुझ्न थालेँ।”

त्यसपछिका दिनमा उनले आफ्नो दैनिकी बिस्तारै बदल्दै लगे। उनी स्कीइङ, कायाकिङ, साइकलिङ, गल्फ, पौडी, आर्चरी तथा अन्य साहसिक खेलमा भाग लिन थाले। खेलकुदले बिस्तारै आत्मविश्वास फर्काएको र त्यही आत्मविश्वासले बाल्यकालदेखिको सगरमाथा चढ्ने सपना पुनः ब्युँताएको उनले सुनाए।

गोठमा जन्मिएका गाउँकै पहिलो एसएलसी उत्तीर्ण

१९७९ मा रोल्पाको दुर्गम मिरुल गाउँको गोठमा जन्मिएका बुढामगर विद्यालय पुग्न तीनवटा खोला पार गर्दै करिब ४५ मिनेट ओरालो हिँड्थे। फर्किंदा उकालो भएकाले अझ बढी समय लाग्थ्यो। जुत्ता–चप्पल र कापी–कलमसमेत नभएकाले उनले काठको पाटीमा खरीले लेखेर पढेको स्मरण गरे।

कक्षा आठमा अनुत्तीर्ण भई दुई वर्ष एउटै कक्षामा बसेका उनी एसएलसीको अंग्रेजी विषयमा पनि अनुत्तीर्ण भएका थिए। अर्को वर्ष पूरक परीक्षा दिएर उनी आफ्नो गाउँबाट एसएलसी उत्तीर्ण गर्ने पहिलो व्यक्ति बने।

गाउँमा खेतीकिसानी तथा दैनिक काम गर्नुपर्ने भएकाले परिवारले उनलाई ११ वर्षकै उमेरमा विवाह गर्न दबाब दियो। विवाहपछि श्रीमतीलाई घरको काममा लगाएर आफू पढ्न जाने वा आफैँले पढाइ छाड्नेमध्ये एक विकल्प रोज्न उनलाई भनियो। गरिबीबाट निस्कने बाटो शिक्षा, रोजगारी र अवसर नै हो भन्ने विश्वासले उनले विवाह स्वीकारे र पढाइलाई निरन्तरता दिए।

त्यतिबेला माओवादी द्वन्द्वको उद्गमस्थल मानिने रोल्पामा हुर्किएका उनका कतिपय साथी विद्रोही समूहमा लागे भने केही सेना र प्रहरीमा भर्ती भए। उनी भने १९ वर्षको उमेरमा १२ हजारभन्दा बढी प्रतिस्पर्धीबाट छानिएका २३० जनामध्ये पर्दै १९९९ मा ब्रिटिस गोर्खामा भर्ती भए।

प्रतिबन्धविरुद्ध कानुनी लडाइँ

बुढामगरले २०१८ मै सगरमाथा चढ्ने तयारी गरेका थिए। तर नेपाल सरकारले २०१७ डिसेम्बरमा दुवै खुट्टा गुमाएका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति नदिने व्यवस्था गरेपछि उनको अभियान रोकियो।

उनले उक्त व्यवस्थालाई विभेदकारी भन्दै अपाङ्गता अधिकारसम्बन्धी संस्था र माधव चम्लागाईलगायतका व्यक्तिसँग मिलेर कानुनी लडाइँ लडे। फलस्वरूप सर्वोच्च अदालतले प्रतिबन्ध हटाएपछि उनको आरोहणको बाटो खुल्यो। उनले २०२३ मे १९ मा सगरमाथाको चुचुरोमा पुगेर दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका व्यक्तिमध्ये सगरमाथा चढ्ने पहिलो व्यक्तिको विश्व कीर्तिमान कायम गरे।

“मलाई प्रतिबन्ध लगाउने सरकारका पर्यटनमन्त्री नै सगरमाथाबाट फर्किंदा विमानस्थलमा आधा घण्टा कुरेर बधाई दिन बसेका थिए,” उनले प्रोजेक्टरमा तस्बिर देखाउँदै हाँस्दै सुनाए। तर त्यतिबेलासम्म मन्त्री परिवर्तन भइसकेका थिए।

त्यसपछि निरन्तर चलेको उनको अभियान २०२६ जनवरी ६ मा अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गरेसँगै टुंगियो। उनले विश्वकै पहिलो सातै महादेशका अग्ला हिमाल, अर्थात् सेभेन समिट्स, चढ्ने ‘डबल एम्प्युटी’ (दुवै खुट्टा नभएको व्यक्ति) को कीर्तिमान बनाए।

चुचुरोमा हरि बुढामगर । मृत्युलाई नजिकबाट जितेर रचेको इतिहास। (तस्बिर: नन्द बुढामगर/हरि बुढामगरबाट प्रदान)

त्यसैगरी, सगरमाथा, डेनाली, कार्स्टेन्स पिरामिड र माउन्ट भिन्सन चढ्ने पहिलो ‘डबल अबभ–नी एम्प्युटी’ (घुँडामाथिबाटै दुवै खुट्टा गुमाएको व्यक्ति) का रूपमा उनले चारवटा गिनिज वर्ल्ड रेकर्ड पनि बनाए। यसरी पाँचवटा गिनिज वर्ल्ड रेकर्ड कायम गरेका मगरलाई धैर्य, साहस र कीर्तिमानमार्फत विश्वभर पारेको प्रेरणादायी प्रभावका आधारमा गिनिज वर्ल्ड रेकर्ड्सले २०२६ मा ‘गिनिज वर्ल्ड रेकर्ड्स आइकन’ का रूपमा सम्मानित गरेको छ। यो गिनिज वर्ल्ड रेकर्ड्सले विशेष प्रभाव छाडेका कीर्तिमानधारीलाई दिने विशिष्ट पहिचान हो।

“एउटा हिमाल चढेर मात्रै अपाङ्गतासम्बन्धी धारणा परिवर्तन गर्न पर्याप्त हुँदैन भन्ने लाग्यो,” उनले भने, “त्यसैले संसारभरका हिमाल चढेर सचेतना फैलाउने निर्णय गरेँ। अब जीवनभर अपाङ्गताबारे चेतना फैलाउन समर्पित हुनेछु।”

सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियान पूरा गरेपछि अब के गर्ने भन्ने प्रसङ्गमा बुढामगरले आफ्नो आत्मकथा ‘कन्करिङ ड्रिम्स’बारे जानकारी दिए।

उनको आत्मकथा २०२६ अगस्ट २७ मा बेलायतमा अंग्रेजी भाषामा सार्वजनिक हुँदै छ। मिरर बुक्सले प्रकाशन गर्ने यो पुस्तक पछि अमेरिका र नेपालमा पनि ल्याउने तथा नेपालीसहित अन्य भाषामा अनुवाद गर्ने योजना रहेको उनले बताए। त्यसैगरी, लस एन्जलसस्थित एउटा कम्पनीसँग मिलेर आफ्नो जीवन र अभियानमा आधारित वृत्तचित्र निर्माण भइरहेको जानकारी पनि उनले कार्यक्रममा दिए। वृत्तचित्र २०२७ मा सार्वजनिक गर्ने उनको लक्ष्य छ।

अपाङ्गतासम्बन्धी सचेतना अभियानलाई आफ्नो जीवनपछि पनि निरन्तरता दिने उद्देश्यले उनले एचबीएम फाउन्डेसन स्थापना गर्ने प्रक्रिया अघि बढाएका छन्।

“म नरहेपछि पनि पुस्तक, वृत्तचित्र र फाउन्डेसनले अपाङ्गतासम्बन्धी सचेतना फैलाइरहून् भन्ने चाहना छ,” उनले भने।

दुवै खुट्टा घुँडामाथिबाट गुमाएपछि सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति हरि बुढामगर न्युजर्सीमा आयोजित कार्यक्रममा सहभागीहरूसँग।
तस्बिर : राजन काफ्ले/खसोखास

कार्यक्रमका आयोजक तथा एआरसी फर नेपालका अध्यक्ष राजेन्द्र श्रेष्ठले बुढामगरको सेभेन समिट्स अभियानअन्तर्गतको अन्तिम आरोहण, माउन्ट भिन्सनमा, आफ्नो संस्था एक प्रमुख सहयोगी साझेदार बन्न पाएकोमा गर्व महसुस भएको बताए।

“हरिले हामीलाई एउटा शक्तिशाली सत्य देखाउनुभएको छ—केही पनि असम्भव छैन,” श्रेष्ठले भने, “आजको समारोह हिमाल आरोहणको कथा सुनाउने कार्यक्रम मात्र होइन। यो साहस, आशा, दृढता र कहिल्यै हार नमान्ने भावनाको कार्यक्रम हो।”

राजेन्द्र श्रेष्ठ आबद्ध एआरसी फर नेपाल र राजेन्द्र अञ्जना फाउन्डेसनले बालबालिकालाई सुरक्षित आवाससहित शिक्षा, प्रविधि, स्वास्थ्य सेवा र नेतृत्व विकासका अवसर प्रदान गर्दै आएका छन्।

“आजको परिस्थितिले मात्र भोलिको भविष्य निर्धारण गर्दैन भन्ने विश्वास हरेक बालबालिकामा विकास गराउन चाहन्छौँ। हरेक पलको लगन, मेहनत र इमानदार परिश्रमले भोलिको भविष्य सुन्दर हुन्छ भन्ने सन्देश दिन चाहन्छौँ,” श्रेष्ठले भने।

फेयर लनका पूर्वमेयर तथा रोटेरियन जोन कसग्रोभले कार्यक्रममा आरोही हरि बुढामगरलाई अन्तर्राष्ट्रिय नायक र राजेन्द्र श्रेष्ठ अर्थात् ‘रे’लाई स्थानीय समुदायका नायकका रूपमा चित्रित गरे। हरिले विश्वभरका मानिसलाई प्रेरित गरिरहेको र रेले स्थानीय समुदायलाई एकताबद्ध गर्दै नेपालमा ‘सम्सारा घर’जस्तो ठूलो परियोजना अगाडि बढाइरहेको उनले स्मरण गरे।

“रे सफल उद्यमी बनेपछि पनि उनले नेपाल र त्यहाँ छाडेर आएका बालबालिकालाई कहिल्यै बिर्सेनन्,” उनले भने।

एआरसी फर नेपालले नेपालको पर्वत जिल्लामा निर्माण गरिरहेको ‘सम्सारा घर’का लागि सहयोग जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो। निर्माण सम्पन्न भएपछि सम्सारा घरमा छात्रावास सुविधासहित करिब ५० जना विद्यार्थीको बसोबास, शिक्षा र संरक्षणको व्यवस्था हुने आयोजकले जनाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com