अमेरिकामा प्रेमिकाको हत्या गरी भागेका भारतीय नागरिक जर्मनीमा पक्राउ
Photo: AJ Colores/Unsplash
१९ वर्षीया प्रेमिका जुलिसा सालाजारको हत्या गरी अमेरिकाबाट भारत भाग्ने प्रयास गरेका २० वर्षीय भारतीय नागरिक वरुण ब्याचिगारी जर्मनीमा पक्राउ परेका छन्। संघीय अनुसन्धान एजेन्सीले उनलाई पहिलो डिग्री हत्याको अभियोगमा कानुनी कारबाहीका लागि एरिजोना सुपुर्दगी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
प्रहरीका अनुसार एरिजोना विश्वविद्यालय नजिकैको एक अपार्टमेन्टमा जुलिसा सालाजारको घाँटी थिचेर हत्या गरिएको थियो। हत्यापछि अभियुक्त वरुणले सालाजारको मोबाइल फोन र क्रेडिट कार्ड चोरेका थिए। घटना लुकाउन उनले प्रेमिकाको फोनबाट उनका परिवारलाई सालाजार स्वयं बनेर टेक्स्ट म्यासेज पठाएका थिए। म्यासेजप्रति शङ्का लागेपछि परिवारले प्रहरीलाई खबर गर्दा सालाजारको शव फेला परेको थियो।
हत्यालगत्तै वरुण ह्युस्टनबाट जर्मनी हुँदै भारत जाने विमानमा चढेका थिए। तर, एफबीआईको पूर्व सूचनाका आधारमा जर्मन अधिकारीहरूले उनलाई ट्रान्सिटका क्रममा नियन्त्रणमा लिएका हुन्।
अनुसन्धान अधिकारीहरूका अनुसार वरुण र सालाजारबिच लामो समयदेखि घरेलु हिंसा र विवाद चल्दै आएको थियो। वरुण जनवरी ८, २०२४ मा एफ-१ विद्यार्थी भिसामा लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रवेश गरेका थिए।
विश्वविद्यालयमा झगडा गरेपछि उनलाई एरिजोना विश्वविद्यालयबाट निष्कासन गरिएको थियो भने पछि उनले जागिर पनि गुमाएका थिए। अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अध्ययन निरन्तर राख्नुपर्ने नियम भए तापनि निष्कासनपछि पनि उनको भिसा कसरी रद्द भएन भन्ने विषयमा अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन्।





