ट्रम्प अर्गनाइजेसनको अन्तर्राष्ट्रिय लाइसेन्स व्यवसायमा उछाल: खाडी मुलुकबाट मात्रै ६० प्रतिशत आम्दानी
Photo:Mason Hassoun/ Unsplash
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्षमा उनको निजी कम्पनी ट्रम्प अर्गनाइजेसनको विदेशी घरजग्गा लाइसेन्स व्यवसायमा ठूलो वृद्धि भएको छ। सन् २०२५ को वित्तीय विवरण अनुसार, अन्तर्राष्ट्रिय विकासकर्ताहरूले आफ्ना विलासी टावर, गल्फ कोर्स र रिसोर्टहरूमा ट्रम्प नाम प्रयोग गरेबापत ५ करोड ९५ लाख अमेरिकी डलर (५९.५ मिलियन) भुक्तानी गरेका छन्।
यो वैदेशिक लाइसेन्स आम्दानी सन् २०२४ को तुलनामा ७१ प्रतिशतले बढी हो भने सन् २०२३ को तुलनामा झन्डै १० गुणा बढी हो।
ट्रम्प अर्गनाइजेसनको वैदेशिक लाइसेन्स आम्दानी बढाउन खाडी क्षेत्रका विलासी घरजग्गा तथा ब्रान्डिङ आयोजनाहरूको योगदान मुख्य रहेको छ, जसले कुल आम्दानीको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ।
यस क्षेत्रका मुलुकहरूमध्ये संयुक्त अरब इमिरेट्सबाट सबैभन्दा बढी करिब २ करोड २० लाख डलर प्राप्त भएको छ। बाँकी आम्दानीमध्ये सउदी अरेबियाका आयोजनाहरूबाट ९० लाख डलर र कतारबाट ५० लाख डलर भित्रिएको छ।
नैतिकता सम्बन्धी विज्ञहरूले राष्ट्रपतिको सार्वजनिक पद र निजी व्यापारिक लाभबिच गम्भीर द्वन्द्व उत्पन्न भएको टिप्पणी गरेका छन्। केही विदेशी विकासकर्ताहरूले अमेरिकामा ठूला लगानी, सरकारी अनुमति वा कूटनीतिक सुविधा खोजिरहेको समयमा नै ट्रम्पको ब्रान्ड प्रयोगका लागि करोडौँ डलर भुक्तानी गरेका हुन्।
यद्यपि, अनुसन्धानका क्रममा लाइसेन्स भुक्तानीले ट्रम्प प्रशासनको नीतिगत निर्णयमा प्रत्यक्ष प्रभाव पारेको वा कुनै कम्पनीलाई विशेष सुविधा दिएको प्रमाण भने भेटिएको छैन। अर्कोतर्फ, ट्रम्प अर्गनाइजेसनले व्यवसाय र राष्ट्रपतिको पदलाई पूर्ण रूपमा अलग राख्दै नैतिक नियमहरू पालना गरिरहेको दाबी गरेको छ। राष्ट्रपति ट्रम्प स्वयंले पनि आफ्ना व्यापारिक सम्झौताहरूबाट कुनै कानुन वा नियमको उल्लङ्घन नभएको बताएका छन्।





