२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

गर्मी लहर र द्वन्द्वका कारण विश्वव्यापी खाद्य मूल्य साढे तीन वर्षयताकै उच्च विन्दुमा

Photo: Heiko Janowski/Unsplash

अत्यधिक गर्मी तथा युक्रेन र मध्यपूर्वमा जारी द्वन्द्वका कारण बाली उत्पादनमा असर पर्दा विश्वव्यापी खाद्य सामग्रीको मूल्य साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार जुलाई महिनामा खाद्य वस्तुको मूल्य सूचकांक अघिल्लो महिनाको १३०.३ विन्दुबाट बढेर १३१.१ विन्दु पुगेको छ। यो जनवरी २०२३ यताकै उच्च विन्दु हो। खासगरी खाद्यान्न, चिनी र वनस्पति तेलको मूल्य बढेका कारण समग्र सूचकांक उकालो लागेको हो।

एफएओका अनुसार जुलाईमा खाद्यान्नको मूल्य ३.४ प्रतिशतले बढेको छ, जसमा गहुँको मूल्यमा मात्रै ५.८ प्रतिशतको वृद्धि भएको छ। रुस र युक्रेनबीचको आक्रमण तीव्र बनेसँगै काला सागरबाट हुने निर्यातमा आएको अवरोध र पूर्वाधारमा पुगेको क्षतिले गहुँको मूल्य बढाउन मुख्य भूमिका खेलेको छ। त्यस्तै, अमेरिकाको ‘कर्न बेल्ट’ मा खडेरी र गर्मीका कारण मकैको मूल्य ३.६ प्रतिशतले बढेको छ। युरोपमा परेको भीषण गर्मीका कारण गहुँ, जौ र मकैजस्ता करिब ९० लाख टन बाली नष्ट भएको अनुमान गरिएको छ।

जुलाई महिनामा चिनीको मूल्य ५.६ प्रतिशतले बढेको छ। युरोपेली संघमा परेको सुक्खा मौसम, ‘एल निन्यो’ मौसम प्रणालीको प्रभाव र ब्राजिलमा इथानोल उत्पादनका लागि चिनीको माग बढेका कारण यसको मूल्य प्रभावित भएको हो। यस्तै, वनस्पति तेलको मूल्य २ प्रतिशतले वृद्धि भएको छ। इरान क्षेत्रको युद्धका कारण रासायनिक मल आपूर्ति हुने प्रमुख जलमार्ग ‘हर्मुज जलडमरूमध्य’  प्रभावित हुँदा पनि खाद्य उत्पादन लागत बढेको छ।

अर्कोतर्फ, जुलाईमा मासुको मूल्य २.८ प्रतिशत र दुग्धजन्य पदार्थको मूल्य०.७ प्रतिशतले घटेको छ। यद्यपि, पनीरको मूल्यमा भने १.७ प्रतिशतको वृद्धि दर्ता भएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा खाद्य सामग्रीको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर आगामी महिनाहरूमा उपभोक्ता मूल्यमा पर्ने देखिन्छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले एल निन्योका कारण आउने वर्षको अन्त्यसम्ममा मध्य तथा दक्षिण अमेरिका, क्यारिबियन र दक्षिणी अफ्रिकाका करिब ५ करोड मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।