लागुऔषधको अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ बन्दै नेपाल, सञ्जालमाथिको कारबाही तीव्र


प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार

गत मे महिनामा नेपाल प्रहरीले लागु औषध खैरो हेरोईन ५५९ ग्राम र नगद रु १६ लाख ६३ हजार ५५० सहित १० जना व्यक्तिहरु पक्राउ गरेको थियो।

बाँके प्रहरीले १५ दिनको अवधिमा १ किलो ब्राउन सुगर बरामद गर्‍यो। हालैका रिपोर्टहरूमा बाँकेमा छुट्टाछुट्टै घटनाहरूमा सयौं ग्रामसम्म बरामद भएको देखिन्छ; एकै पटक ठूलो परिमाणको सटीक पुष्टि सार्वजनिक स्रोतमा सीमित छ। नेपालगञ्जबाट दुई महिला ४ सय ग्राम खैरो हेरोइनसहित पक्राउ परे। झापाको कन्काई नगरपालिकास्थित सेकुवा कर्नरबाट लागुपदार्थसहित २ भारतीय पक्राउ परे।

काठमाडौँमा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागुपदार्थ बरामद गर्दै तीन जनालाई नियन्त्रणमा लियो। यो घटनामा १ जना भारतीय र २ नेपाली पक्राउ परे। मधेस प्रदेशको धनुषामा भने प्रहरीले लागुपदार्थ कारोबारीलाई नियन्त्रणमा लिन गोली नै चलाउनुपरेको छ। रुपन्देहीको मंगलापुर चोकबाट ४६ वर्षीय इकबाल देवानलाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ। पछिल्लो एक महिनाको अवधिमा लागुपदार्थ कारोबारमा संलग्नहरू पक्राउ परेका यी प्रतिनिधिमूलक घटनामात्र हुन्।

झापादेखि सिरहा, धनुषा, धनकुटा, काठमाडौँ र रुपन्देहीसम्म गरिएका छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा खैरो हेरोइन, गाँजा तथा प्रतिबन्धित औषधि बरामद हुनुका साथै नेपाली र भारतीय नागरिकसहित एक दर्जनभन्दा बढी व्यक्ति पक्राउ परेका छन्।

गत अप्रिलमा नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोद्वारा नियन्त्रणमा लिइएको १९१ ग्राम खैरो हेरोईन । यो सहित २ जना व्यक्तिहरु पक्राउ गरिएको थियो ।

संगठित ओसारपसार र अन्तर्राष्ट्रिय ट्रान्जिट

नेपालमा अझै पनि लागुपदार्थको अवैध ओसारपसार र कारोबार संगठित रूपमै भइरहेको देखिन्छ। ‘ग्लोबल अर्गनाइज्ड क्राइम इन्डेक्स’ को रिपोर्ट २०२३ र २०२५ अनुसार नेपाल विशेष गरी हेरोइन र कोकिनको प्रमुख ट्रान्जिट देश बन्दै गएको छ, जहाँ अफगानिस्तान र भारत हुँदै हङकङ तथा पूर्वी एसियासम्म लागुऔषध पुर्‍याउने गरिन्छ।

नेपाल प्रहरीको गत वैशाखदेखि असारसम्मको तथ्यांक हेर्ने हो भने देशभरबाट विभिन्न मुद्दामा फरार रहेका ७ हजार २५१ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये लागुपदार्थ कारोबारमा संलग्नहरूको संख्या पनि उल्लेख्य रहेको छ। प्रहरीका अनुसार कर्तव्य ज्यान, लागुपदार्थ, जबरजस्ती करणी, बैंकिङ कसूर, ठगी लगायतका गम्भीर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको हो।

पछिल्ला दिनमा भएका यी कारबाहीहरूले नेपाललाई लागुपदार्थ ओसारपसारको ट्रान्जिट र बजारका रूपमा प्रयोग गर्न खोज्ने गिरोहमाथि प्रहरीको निगरानी थप कडा भएको देखाउँछ। युएनओडीसी र साउथ एसिया क्षेत्रीय विश्लेषणहरूले दक्षिण एसियालाई अफगानी ओपिएट्सको दक्षिणी मार्गमा महत्त्वपूर्ण ट्रान्जिट क्षेत्र भनेका छन्; कोकिन व्यापारमा पनि हवाई मार्गमार्फत नयाँ गन्तव्य/ट्रान्जिट बन्दै गएको उल्लेख छ।

विशेषगरी भारतीय सीमावर्ती जिल्लाबाट हुने अवैध आवतजावत, फलफूल तथा अन्य सामानको आडमा हुने तस्करी र अन्तरजिल्ला नेटवर्कमार्फत फैलिएको लागुपदार्थ कारोबार नियन्त्रण गर्न सुरक्षा निकायले संयुक्त रूपमा अभियान सञ्चालन गरिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले बताए।

लागुपदार्थ नियन्त्रण ब्युरोको तथ्यांक र हवाइमार्गको प्रयोग

नेपालमा लागुपदार्थ कारोबार र ओसारपसार नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा पछिल्लो एक वर्षमा ठूलो परिमाणमा विभिन्न प्रकारका लागुपदार्थ बरामद भएको छ। लागुपदार्थ नियन्त्रण ब्युरोका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै २३ केजी १४१ ग्राम खैरो हेरोइन, १३ केजी ३४७ ग्राम कोकिन, ७ केजी ८ सय ग्राम सेतो हेरोइन, ४३ केजी अफिम तथा २०४ केजी गाँजा बरामद गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बरामद गरिएका सबै लागुपदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ८५ करोड ७७ लाख ५४ हजार रुपैयाँ रहेको ब्युरोले जनाएको छ। अर्गनाइज्ड क्राइम इन्डेक्स र नेपालको जर्नल अफ ड्रग कन्ट्रोल अनुसार कोकिन बरामद त्रिभुवन विमानस्थलमा २०२३ को ११.८ केजीबाट २०२४ मा ३० केजीभन्दा बढी पुगेको थियो।

लागुपदार्थ नियन्त्रण ब्युरोका अनुसार नेपाल खैरो हेरोइनको मात्र नभई कोकिन र सेतो हेरोइनको अन्तर्राष्ट्रिय ट्रान्जिट मार्गका रूपमा समेत प्रयोग हुन थालेको छ। पछिल्लो एक वर्षमा १३ केजी ३४७ ग्राम कोकिन र ७ केजी ८ सय ग्राम सेतो हेरोइन बरामद गरिएको छ। प्रतिवेदनहरूका अनुसार कोकिन मुख्यतः कोलम्बिया र बोलिभियाजस्ता ल्याटिन अमेरिकी मुलुकहरूबाट अफ्रिका (नाइजेरिया, इथियोपिया) तथा दोहा वा दुबई हुँदै नेपाल भित्रिने गरेको छ।

नेपालमा यसको घरेलु खपत कम भए पनि भारत लगायत अन्य देशका लागि यो मुख्य ट्रान्जिट बन्दै गएको छ। यसै सन्दर्भमा ‘काठमाडौँ जर्नल २०२६’ ले नेपाललाई “कोकिन तस्करहरूको नयाँ ट्रान्जिट लाउन्ज” को रूपमा व्याख्या गरेको छ।

ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी दुर्गाराज रेग्मीका अनुसार थाइल्यान्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याइएको गाँजासमेत नियन्त्रणमा लिइएको छ। यस अवधिमा ब्युरोले कुल १३ प्रकारका लागुपदार्थ बरामद गरिएको जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले काठमाडौंको जमलबाट केहीबर्ष अगाडि संखुवासभाका ५४ वर्षीय सोम प्रसाद राईलाई ४,९५० एम्पुल नियन्त्रित लागुऔषध सहित पक्राउ गरेको थियो, जो प्रारम्भिक अनुसन्धानका अनुसार सीमापार लागुऔषध कारोबार संजालका मुख्य व्यक्ति थिए।

उनका अनुसार लागुपदार्थको अवैध ओसारपसार स्थलमार्गमा मात्र सीमित छैन। गत असार ३१ गते कतार एयरवेजको उडानमार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौँ आएकी कोलम्बियन नागरिक ४ किलोभन्दा बढी परिमाणको कोकिनसहित पक्राउ परेपछि हवाईमार्गमार्फत पनि नेपालमा लागुपदार्थको कारोबार भइरहेको तथ्य फेला परेको हो।

सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने मेडिकल ड्रग्सको कारोबार पनि चिन्ताजनक देखिएको छ। ब्युरोले एक वर्षमा ५ लाख ४१ हजार क्याप्सुल ट्रामाडोल, ३४ हजार नाइट्राभेट ट्याब्लेट तथा ५५० ग्राम एम्फेटामाइन बरामद गरिएको जनाएको छ।

पक्राउ र कानुनी कारबाहीको अवस्था

आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा लागुपदार्थ कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने संख्या ५.५५ प्रतिशतले वृद्धि भएको छ। ब्युरोका अनुसार पछिल्लो एक वर्षमा लागुपदार्थ कारोबारमा संलग्न १ हजार ७६८ जना पक्राउ परेका छन्। उनीहरूमाथि सरकारी वकिल कार्यालयमार्फत ९ सय ९३ वटा मुद्दा दायर गरिएको छ।

अदालतमा प्रस्तुत गरिएका १ हजार ३१५ जना आरोपीमध्ये १ हजार ११३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। नेपालमा लागुपदार्थसम्बन्धी कसूरलाई लागुपदार्थ (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत कडा सजायको व्यवस्था गरिएको छ। लागुपदार्थको उत्पादन, सेवन, सञ्चय, ओसारपसार र कारोबारमा पदार्थको प्रकृति र परिमाणका आधारमा कैद र जरिवानाको वर्गीकरण गरिएको अधिवक्ता गोकर्णराज बञ्जाडे बताउँछन्।

उनका अनुसार खैरो हेरोइन, अफिम, कोकिन आदिको सेवनमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। २५ ग्रामसम्म हेरोइन, कोकिन, अफिम आदिको कारोबार/ओसारपसारमा ५ देखि १० वर्षसम्म कैद र ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था रहेको अधिवक्ता बञ्जाडेको भनाइ छ। ऐन अनुसार परिमाण र पदार्थअनुसार सजाय फरक हुन्छ; ठूलो परिमाणमा अझ कडा सजाय लाग्न सक्छ।

जनस्वास्थ्यमा गम्भीर असर र चालकहरूमाझ लागुपदार्थ सेवन

लागुपदार्थ नियन्त्रण ब्युरोका अनुसन्धान अधिकृतहरूका अनुसार लागुपदार्थको फैलँदो अवैध सञ्जालले जनस्वास्थ्यमा गम्भीर चुनौती सिर्जना गरिरहेको छ। प्राविधिक विश्लेषणअनुसार १ ग्राम खैरो हेरोइनले १० जनासम्मको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यही आधारमा १०० ग्राम खैरो हेरोइनले करिब १ हजार व्यक्तिलाई प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ।

पहिला मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति थियो। तर अहिले भने सीमावर्ती क्षेत्रमा सवारी चलाउने व्यावसायिक चालकहरूले नै लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको पाइएको छ। बितेको एक वर्षमा लागुपदार्थ सेवन गरेर सवारी चलाएका १७ जना चालकहरू रुपन्देहीमा पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार सवारी चलाइरहेका चालकहरूको ड्रग किटमार्फत उनीहरूले लागुपदार्थ सेवन गरे/नगरेको परीक्षण हुने गरेको छ।

अगस्त ६ मा २० किलोग्राम चरेस सहित पक्राउ परेका २ जना।

लागुपदार्थको सेवनले मानिसलाई क्रमशः मानसिक र शारीरिक रूपमा कमजोर बनाउँदै लगेर अन्ततः मृत्युको मुखमा पुर्‍याउने वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठक बताउँछन्। उनका अनुसार लागुपदार्थ सेवन र सेवनकर्ताहरूबाट टाढा रहनु नै सबैभन्दा उपयुक्त विकल्प हो। डाक्टर पाठकका अनुसार युवा अवस्थामा हृदयघात गराउने कारणमध्ये कोकिनको सेवन प्रमुख हो। कडा खालका लागुपदार्थको सेवनले मुटुका रोगहरू छिटो निम्त्याउने गर्दछ। लागुपदार्थको सेवनले व्यक्ति, परिवार, समाज हुँदै देशलाई समेत हानि पुर्‍याउने भएकाले घरमा रहेका अभिभावकले आफ्ना छोराछोरीको व्यवहार र क्रियाकलापमा विशेष ध्यान दिनुपर्ने फिजिसियन डाक्टर पाठकको सुझाव रहेको छ।

चेतनामूलक पहल र समाजमा पर्ने प्रभाव

लागुपदार्थ नियन्त्रणका लागि कतिपय विद्यालयहरूले स्कुलमै चेतनामूलक कार्यक्रम सञ्चालन गरेको पाइन्छ। रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेको भगलापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भुसालका अनुसार कक्षा ५ देखि नै विद्यार्थीहरू लागुपदार्थको कुलतमा लाग्ने जोखिम हुन्छ। स्थानीय सरकार, स्थानीय प्रहरी प्रशासन, सामाजिक परिवर्तन केन्द्र जस्ता सामाजिक संघसंस्थाहरूसँगको सहकार्यमा विद्यालयमै लागुपदार्थको सेवनले आफू, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावका बारेमा विद्यार्थीहरूलाई बेलाबेलामा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रधानाध्यापक भुसाल बताउँछन्।

ब्युरोले एक वर्षमा बरामद गरेको २३ केजीभन्दा बढी खैरो हेरोइन अवैध बजारमा पुगेको भए त्यसले २ लाख ३० हजारभन्दा बढी व्यक्तिको स्वास्थ्य र जीवनमा प्रत्यक्ष असर पार्न सक्ने जोखिम रहेको प्रहरीको निष्कर्ष छ। लागुपदार्थको अवैध कारोबार नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी बढाइएको, विशेष अपरेसनलाई निरन्तरता दिइएको तथा अन्तरदेशीय समन्वयलाई थप प्रभावकारी बनाइएको ब्युरोले जनाएको छ।

गतबर्ष झण्डै २ किलो कोकेन सहित १ जना ब्राजिलियन नागरिक पक्राउ परेका थिए।

लागुऔषधको लतमा परेका व्यक्तिहरूमा विभिन्न शारीरिक, मानसिक तथा सामाजिक परिवर्तन देखिन सक्छन्। उनीहरूमा असामान्य व्यवहार देखाउने, एक्लै बस्न रुचाउने, क्रमशः दुब्लाउँदै जाने, अध्ययनप्रति रुचि गुमाउने, आपराधिक गतिविधिमा संलग्न हुने, आर्थिक रूपमा कमजोर बन्दै जाने तथा पारिवारिक र सामाजिक सम्बन्ध बिग्रँदै जाने जस्ता लक्षण देखापर्न सक्छन्। यसको असर व्यक्तिमा मात्र सीमित नरही समाजमा अपराधका घटना बढ्ने र सामाजिक मूल्य-मान्यता कमजोर बन्ने जोखिम पनि बढ्ने गरेको छ।

दुर्व्यसनका कारण र ऐतिहासिक तथा कानुनी पृष्ठभूमि

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण-२०७६ अनुसार लागुऔषध दुर्व्यसनका प्रमुख कारणहरूमा साथीसँगीको दबाब सबैभन्दा अगाडि रहेको छ। त्यसबाहेक मनोरञ्जनको खोजी, उत्सुकता, खुसीको अनुभूति प्राप्त गर्ने चाहना, मानसिक तनाव, पारिवारिक समस्या, डिप्रेसन तथा अध्ययनसम्बन्धी समस्या पनि युवालाई लागुऔषधतर्फ आकर्षित गर्ने महत्त्वपूर्ण कारणका रूपमा उल्लेख गरिएका छन्।

नेपालमा वि.सं. २०३३ सालअघि गाँजाजन्य पदार्थहरूको खुला बिक्री-वितरण हुने गरेको थियो। तर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ लागू भएपछि यस्ता पदार्थको उत्पादन, बिक्री-वितरण र प्रयोगमाथि कानुनी प्रतिबन्ध लगाइएको हो। विश्वव्यापी रूपमा भने लागुऔषध नियन्त्रणको प्रयास संयुक्त राष्ट्रसंघको पहलबाट अघि बढेको मानिन्छ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को पहलमा सन् १९६१ मा लागू गरिएको सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्सले अन्तर्राष्ट्रिय स्तरमा लागुऔषध नियन्त्रणका लागि साझा कानुनी आधार तयार गरेको थियो। त्यसयता विभिन्न मुलुकले आ-आफ्ना कानुनमार्फत लागुऔषध नियन्त्रण, दुर्व्यसन न्यूनीकरण र जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com