व्यावसायिक उडानमा नयाँ क्रान्ति, एयरलाइन्सहरूबीच अत्याधुनिक बिजनेस क्लास सुइटको होडबाजी
Photo: Frugal Flyer/ Unsplash
कोरोना महामारीपछिको मन्दीलाई पछाडि पार्दै व्यावसायिक उडान क्षेत्र पुनः तीव्र गतिमा पुरानै लयमा फर्किएको छ। व्यावसायिक यात्रीहरूसँगै आरामदायी उडानका लागि अतिरिक्त खर्च गर्न तयार पर्यटकीय यात्रीहरूको सङ्ख्या बढेपछि विश्वभरका एयरलाइन्सहरूले आफ्ना प्रिमियम क्याबिनमा ठूलो लगानी गरिरहेका छन्।
कतारी एयरवेजको ‘क्युसुइट’ र डेल्टाको ‘डेल्टा वन सुइट’ले लगातार उत्कृष्ट स्थान हासिल गरिरहेका भए पनि बजारमा नयाँ तथा आधुनिक बिजनेस क्लास सुइटहरू प्रतिस्पर्धाका लागि आइसकेका छन्।
विभिन्न एयरलाइन्सहरूले भित्र्याएका र छिट्टै सञ्चालनमा ल्याउन लागेका केही प्रमुख बिजनेस क्लास सुइटहरू,युनाइटेड एयरलाइन्सले भर्खरै आफ्नो नयाँ ‘पोलारिस एलिभेटेड’ सुइट सार्वजनिक गरेको छ। सिल्भर रङको कपडा, काठ र नक्कली मार्बलको फिनिसिङ तथा १९ इन्चको ४के स्क्रिन रहेको यस सुइटमा पूर्ण गोपनीयताका लागि ढोकाको व्यवस्था गरिएको छ। यो सेवा हाल सान फ्रान्सिस्कोबाट सिङ्गापुर र लन्डन (हिथ्रो) उडान भर्ने बोइङ ७८७-९ ड्रिमलाइनर विमानहरूमा उपलब्ध छ।
एयर इन्डियाले आफ्नो ब्रान्ड र सेवामा व्यापक सुधार गरिरहेको छ। एयरलाइनको नयाँ ‘एयरबस ए३५०-९००’ मा १-२-१ को अति-निजी कन्फिगरेसन, बन्द हुने ढोका, क्लासिक भारतीय परिकार, फेरागामो एमेनिटी किट र आरामदायक पोशाकको सुविधा रहेको छ। यो उडान नयाँ दिल्लीबाट न्युयोर्क, नेवार्कि र लन्डनका लागि सञ्चालन भइरहेको छ।
स्विस एयरलाइन्सले आफ्ना नयाँ एयरबस ए३५० विमानहरूमा ‘स्विस सेन्सेस’ नाम दिइएको बिजनेस र फर्स्ट क्लास क्याबिन प्रस्तुत गरेको छ। ४५ वटा सेन्स बिजनेस क्लास सिट रहेको यस विमानमा १८ देखि २४ इन्चसम्मका स्क्रिन र सिटको स्थिति, प्रकाश तथा तापक्रम नियन्त्रण गर्न ट्याब्लेट उपलब्ध गराइएको छ। हाल यो उडान ज्युरिखबाट बोस्टन र सियोलका लागि भइरहेको छ।
साना विमानहरूमा पनि प्रिमियम सुविधा दिने उद्देश्यले एतिहाड एयरवेजले आफ्ना नयाँ ए३२१ विमानहरूमा १-१ को विशिष्ट लेआउटमा बिजनेस क्लास सिटहरू जडान गरेको छ। झ्यालतिर फर्किएका यी सिटहरूमा मार्बल फिनिसिङ, वायरलेस चार्जिङ र १७.३ इन्चको ४के स्क्रिन राखिएको छ। यसले आबुधाबीबाट एम्स्टर्डम, बैङ्कक, पेरिस, ज्युरिखलगायतका सहरहरूमा उडान भरिरहेको छ।
एयर न्युजिल्यान्डले आफ्ना बोइङ ७८७-९ विमानहरूमा ७९ इन्च लामो पूर्ण रूपमा सोझिने सिट र २४ इन्चको मनोरञ्जन स्क्रिनसहितको ‘बिजनेस प्रिमियर’ सिट ल्याएको छ। यसका साथै अग्रपङ्क्तिमा अझ बढी ठाउँ र ढोकासहितको ‘प्रिमियर लक्स’ सिट पनि उपलब्ध छ।
ताइवानको स्टारलक्स एयरलाइन्सले आफ्नो ए३५० विमानमा अत्याधुनिक बिजनेस क्लास सञ्चालन गरिरहेको छ। यसमा प्राइभेसी ढोका, २४ इन्चको स्क्रिन, ७७ इन्चको सोझिने बेड र विशेष ककटेल सेवा समावेश छ। कम्पनीले ताइपेईबाट लस एन्जलस, सान फ्रान्सिस्को र सियाटल जस्ता अमेरिकी सहरहरूमा यो सेवा दिइरहेको छ।
हवाई सेवालाई अझ बढी सहज र प्रविधियुक्त बनाउनका लागि विभिन्न एयरलाइन्सहरूले भविष्यका लागि नयाँ सुइटहरू निर्माण तथा विस्तार गरिरहेका छन्। यसैक्रममा, क्वान्टास एयरलाइन्सले सिड्नीबाट लन्डन र न्युयोर्कसम्मको सीधा उडानका लागि ‘प्रोजेक्ट सनराइज’ अन्तर्गत आफ्ना नयाँ एयरबस ए३५०-१०००विमानहरूमा ढोकासहितको ८० इन्च लामो सोझिने सिट निर्माण गरिरहेको छ। त्यसैगरी, डेल्टा एयरलाइन्सले पनि आफ्ना नयाँ एयरबस ए३५०-१००० विमानहरूका लागि अझ फराकिलो र पूर्ण गोपनीयता प्रदान गर्ने ढोकासहितको नयाँ ‘डेल्टा वन सुइट’ ल्याउने घोषणा गरिसकेको छ।
यसका साथै, क्याथे प्यासिफिकले हङकङबाट लन्डन, लस एन्जलस र सान फ्रान्सिस्को जाने उडानहरूमा २४ इन्चको ठूलो मनोरञ्जन स्क्रिन र प्रसिद्ध बामफर्ड ब्रान्डका छालाको हेरचाह गर्ने उत्पादनहरूसहितको विलासी ‘एरिया सुइट’ सञ्चालनमा ल्याउँदैछ। यी अत्यन्तै महँगा र लक्जरी सुइटहरूमा यात्रा गर्न ठूलो रकम खर्च गर्नुपर्ने भए तापनि चेस, एरोप्लान, र युनाइटेड माइलेजप्लस जस्ता फ्रिक्वेन्ट फ्लायर माइल्स तथा क्रेडिट कार्ड पोइन्टहरूको सही प्रयोग गरेर निकै सस्तो वा किफायती दरमै टिकट बुक गर्न सकिने ट्राभल विज्ञहरू बताउँछन्।





