२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकामा यस्ता ट्याटू बन्न सक्छन् पक्राउ, भिसा रद्द र देशनिकालाको कारण

A man with a tattoo on his arm holding a gun

Photo by Chloe Boulos

अमेरिकामा युएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) र अन्य सङ्घीय निकायहरूले आपराधिक गिरोहहरूसँगको संलग्नता रोक्ने क्रममा आप्रवासीहरूको शरीरमा रहेका ट्याटूहरूलाई समेत मुख्य सूचकका रूपमा प्रयोग गर्दै आएका छन्।

कलात्मक वा व्यक्तिगत अर्थमा बनाइएका सामान्य ट्याटूलाई समेत सुरक्षा अधिकारीहरूले गिरोहको प्रतीक मानेर धरपकड गर्ने, ग्रिन कार्ड वा भिसा रद्द गर्ने तथा देश निकालासम्मका कारबाही अघि बढाउने गरेको मानवअधिकारवादी तथा कानुनी विशेषज्ञहरूले जनाएका छन्। सङ्घीय निकायहरूले विशेष गरी सङ्गठित अपराध र अन्तर्राष्ट्रिय आपराधिक समूहहरूसँग जोडिएका सङ्केतहरूलाई आफ्नो इन्टेलिजेन्स डाटाबेससँग भिडाएर हेर्ने गर्छन्।

आइसको उच्च निगरानीमा मुख्यतः भेनेजुएलाली आपराधिक समूह ट्रेन दे अरागुआसँग जोडिएका मानिएका मुकुट, निश्चित समय देखाउने घडी तथा गोजी–घडी, पाँचकुने तारा, एके–४७ राइफल तथा बाघ वा सिंहजस्ता हिंस्रक जनावरका ट्याटूहरू परेका छन्। यद्यपि मानिसहरूले यी चित्रहरू सौन्दर्य, परिवारको सम्मान वा बालबालिका जन्मिएको समयको सम्झनाका लागि समेत बनाएका हुन्छन्।

यसैगरी, मध्य अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय गिरोहसँग जोडिएका सङ्केतहरू, जस्तै एमएस–१३सँग सम्बन्धित एमएस, अङ्क १३, रोमन अङ्क तेह्र (XIII) वा सैतानको सिङ, बारियो १८सँग सम्बन्धित अङ्क १८ वा रोमन अङ्क अठार (XVIII), तथा रङ्गभेदी समूहहरूसँग जोडिएका १४/८८ जस्ता आकृतिमाथि पनि कडा निगरानी राख्ने गरिएको छ।

अधिकारकर्मीहरूका अनुसार जोकर वा हँसाउने र रुने अनुहार स्माइल नाउ, क्राइ लेटर”, जन्मथलो वा फोनको एरिया कोड जनाउने अङ्कहरू, तथा मेक्सिकन र दक्षिण अमेरिकी आदिवासी कलाकृति वा एजटेक र माया सभ्यताका प्रतीकहरूजस्ता सामान्य सांस्कृतिक र भावनात्मक ट्याटूहरूलाई पनि आइसले गलत अर्थ लगाई गिरोहसँग जोड्ने गरेको पाइएको छ।

इमिग्रेसन कानुनी क्षेत्रका विज्ञहरूका अनुसार आइसले आन्तरिक अङ्क प्रणाली वा स्कोरकार्डअनुसार ट्याटू वा पहिरनका आधारमा आप्रवासीहरूलाई गिरोह सदस्य ठहर गर्ने गर्छ। यसरी ट्याटूकै कारण गिरोहसँग सम्बन्ध रहेको आशङ्का गरिएमा जमानत नपाइने वा शरणको आवेदन खारेज हुन सक्छ भने अमेरिकी दूतावास वा कन्सुलर कार्यालयहरूले सुरक्षाको कारण देखाउँदै भिसा र ग्रिन कार्ड आवेदनसमेत रद्द गर्न सक्छन्। अझ गम्भीर कुरा त, गिरोह सदस्य भएको आशङ्कामा अदालतमा विस्तृत सुनुवाइबिनै तत्काल देश निकालाको प्रक्रियामा पठाइने जोखिमसमेत रहन्छ।

अधिवक्ताहरू र समाजशास्त्रीहरूका अनुसार भेनेजुएला वा मध्य अमेरिकी मूलका अधिकांश युवामा ट्याटू बनाउने चलन सामान्य फेसन र संस्कृतिको हिस्सा भएकाले केवल ट्याटूकै आधारमा उनीहरूलाई अपराधी वा गिरोह सदस्य भन्नु न्यायसङ्गत हुँदैन।

त्यसैले आप्रवासीहरूले आफ्नो शरीरमा घडी, नाम वा मितिसँग सम्बन्धित कुनै ट्याटू भएमा त्यो बच्चाको जन्ममिति, विवाह वा परिवारको सम्झनामा बनाएको हो भन्ने पुष्टि गर्ने जन्मदर्ता, फोटो वा ट्याटू कलाकारको बिलजस्ता प्रमाणहरू सुरक्षित राख्नु उपयुक्त हुन्छ। साथै, आइसको नियमित चेक–इन वा अन्तर्वार्तामा जानुअघि शरीरमा रहेका त्यस्ता चिन्हहरूबारे अनुभवी इमिग्रेसन कानुनी व्यवसायीसँग कानुनी सल्लाह लिनु आवश्यक मानिन्छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।