चर्चित गायक यम बराललाई रक्त क्यान्सर, उपचारका लागि अमेरिकामा ‘गोफन्डमी’
प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार
“बादलुको घुम्टोले”, “निष्ठुरीले छाडेर”, “मन रहे पो माया प्रीति” जस्ता दर्जनौँ कालजयी गीतका गायक यम बराल रगतको एक प्रकारको क्यान्सर ‘मल्टिपल मायलोमा’बाट पीडित भएका छन्। तीन दशकभन्दा लामो समयदेखि नेपाली सुगम र चलचित्र संगीतमा सक्रिय ५६ वर्षीय बरालको हाल काठमाडौँस्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
चिकित्सकहरूका अनुसार बराललाई तीनदेखि चार चरणसम्मको किमोथेरापी, लक्षित मोनोक्लोनल एन्टिबडी उपचार तथा त्यसपछि ‘अटोलोगस स्टेम सेल’ प्रत्यारोपण गर्न सिफारिस गरिएको छ।
प्रारम्भिक अनुमान अनुसार किमोथेरापी तथा लक्षित उपचारका लागि करिब २८ लाख रुपैयाँ र स्टेम सेल प्रत्यारोपणका लागि थप १६ देखि २० लाख रुपैयाँ लाग्नेछ। यसबाहेक नियमित परीक्षण, औषधि, अस्पताल बसाइ र उपचारपछिको पुन:स्वास्थ्यलाभका लागि पनि ठूलो धनराशि आवश्यक पर्ने देखिएको छ।
बरालको उपचार प्रक्रियामा आर्थिक अभावका कारण रोकावट नहोस् भन्ने उद्देश्यका साथ साथीभाइ तथा शुभेच्छुकहरूको पहलमा ‘गोफन्डमी’ मार्फत आर्थिक सहयोग अभियान सुरु गरिएको छ। अभियानमार्फत संकलन हुने सम्पूर्ण रकम सिधै गायक यम बरालको बैंक खातामा पठाइनेछ। उक्त रकम किमोथेरापी तथा लक्षित क्यान्सर उपचार, अटोलोगस स्टेम सेल प्रत्यारोपण, औषधि, परीक्षण, अस्पताल बसाइ खर्च तथा उपचारपछिको नियमित निगरानी, यात्रा र स्वास्थ्यलाभमा खर्च गरिने जनाइएको छ।
तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला।
इलामको फिक्कलमा जन्मेका बरालले रेडियो नेपालमा “सागरभन्दा पनि गहिरो” गीत रेकर्ड गराएर सांगीतिक यात्रा सुरु गरेका थिए। गोरखा दक्षिण बाहूलगायत दर्जनौँ राष्ट्रिय सम्मानबाट विभूषित बरालका “अब चोटहरूले”, “दिलमाया दिलमाया”, र “माया बस्यो मुटुमा” जस्ता गीतहरू नेपाली श्रोतामाझ अत्यन्त लोकप्रिय छन्।
देश–विदेशमा रहेका सम्पूर्ण नेपाली, सामाजिक संघसंस्था तथा संगीतप्रेमीहरूलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न र यो अभियानलाई व्यापक रूपमा सेयर गरिदिन गोफन्डमीमार्फत अपिल गरिएको छ। “उहाँले हामीलाई जीवनभर सम्झिरहने गीतहरू दिनुभयो। अब हामी सबै मिलेर उहाँलाई आशा, साहस र पुनः गाउने अवसर दिऔँ,” आर्थिक अभियान टोलीले भनेको छ।





