टेक्सासमा गोली लागेका अमेरिकी सेनाका सुनिल थापाको मृत्युबारे अमेरिकी सेनाद्वारा फरक खुलासा


प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार

न्यूयोर्कको वान्तागमा आयोजित अन्त्येष्टिका क्रममा अमेरिकी सेनाका सुनिल थापाको तस्बिर। (तस्बिर: राजन काफ्ले / खसोखास)

टेक्सासमा ज्यान गुमाएका अमेरिकी सेनाका २५ वर्षीय सुनिल थापाको मृत्युबारे अमेरिकी सेनाले ‘खसोखास’सँग फरक खुलासा गरेको छ। अमेरिकी सेनाको ग्यारिसन फोर्ट हुड फर्स्ट क्याभलरी डिभिजनका प्रवक्ताले थापाको मृत्यु ब्यारेक र बेस बाहिर भएको तथा यो कुनै तालिम दुर्घटनासँग सम्बन्धित नभएको बताएका छन्।

यसअघि विभिन्न नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा पारिवारिक स्रोतलाई उद्धृत गर्दै थापाको मृत्यु टेक्सासको एक सैन्य प्रशिक्षण अभ्यासका क्रममा टाउकोमा गोली लागेर भएको उल्लेख गरिएको थियो। कतिपय सञ्चारमाध्यमले तालिमका क्रममा दुर्घटनावश अमेरिकी सेनामा कार्यरत अर्को व्यक्तिले चलाएको गोली लागेर उनको मृत्यु भएको जनाएका थिए। तर अमेरिकी सेनाको फर्स्ट क्याभलरी डिभिजनका प्रवक्ताले यसअघि सार्वजनिक विवरणहरूको खण्डन हुने गरी भनाइ सार्वजनिक गरेका हुन्।

प्रवक्ताले खसोखाससँग भनेका छन्, “सर्जेन्ट सुनिल थापा फोर्ट हुड, टेक्सासस्थित थर्ड क्याभलरी रेजिमेन्टमा कार्यरत एक इन्फेन्ट्रिमेन थिए। उनको निधन ब्यारेक र बेस बाहिर भएको हो। यो कुनै तालिम दुर्घटनासँग सम्बन्धित छैन। यो घटना बेस बाहिर भएको हुनाले यसको परिस्थिति वा अनुसन्धानसम्बन्धी थप सोधपुछका लागि किलीन, टेक्सास प्रहरी र सेनाको आपराधिक अनुसन्धान विभागमा सम्पर्क गर्नुपर्नेछ।”

यो समाचार तयार पार्दासम्म किलीन, टेक्सास प्रहरी र सेनाको आपराधिक अनुसन्धान विभागबाट थप विवरणहरू सार्वजनिक भएका छैनन्। फर्स्ट क्याभलरी डिभिजनका प्रवक्ताका अनुसार थर्ड क्याभलरी रेजिमेन्टका सिपाहीहरू र नेतृत्व यस अत्यन्तै कठिन समयमा सर्जेन्ट थापाको परिवार, साथीभाइ र आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछन्।

बुबा हेम थापाको शङ्का र भावुक सन्देश

सुनिलका शोककुल पिता हेम थापाले बुधबार एक भावुक टिकटक भिडियोमार्फत आफ्नो छोराको निधनप्रति सार्वजनिक आशङ्का व्यक्त गरेलगत्तै खसोखासले अमेरिकी सेनाको ग्यारिसन फोर्ट हुडमा घटनाबारे सोधपुछ गरेको थियो। हेम थापाले आफ्नो अन्तरात्माले “केही गडबड भएको” भनिरहेको बताएका थिए।

नेपाली भाषामा बोलिएको भिडियोमा हेम थापाले आफ्ना छोरा सुनिलको मृत्युप्रति गहिरो पीडा व्यक्त गरेका थिए। परिवारका अनुसार २६ औँ जन्मदिनभन्दा ठीक तीन दिनअघि, जुन २९ मा, टाउकोमा गोली लागेर सुनिलको मृत्यु भएको थियो।

न्यूयोर्कको वान्तागमा सोमबार आयोजित अन्त्येष्टिका क्रममा अमेरिकी सेनाका स्व. सुनिल थापाका मातापिता हेम थापा र माया थापा शोकमा । फोटोः राजन काफ्ले

भिडियोमा भावुक हुँदै थापाले भनेका छन्, “मेरो छोरा त्यत्तिकै मरेन, केही न केही गडबड भएको छ। यो छोरा मर्नुमा कसै न कसैको हात छ। केही न केही गडबड छ भन्ने लाग्छ। मैले देखेको छैन, जानेको छैन र आधिकारिक रिपोर्ट नआएसम्म थाहा पनि हुँदैन। म कसैलाई दोष दिइरहेको छैन, तर म बाबु हुँ, मेरो आत्माले भन्छ— केही गडबड छ। मेरो आँसु झरेको छ, म बहुला जस्तै भएको छु, विचलित भएको छु। छोरा मर्दा हामी सबै परिवार मरेजस्तै भएका छौँ। मेरो छोरा त्यसै मरेको जस्तो लाग्दैन, केही न केही तलमाथि छ।”

परिवारले आधिकारिक अनुसन्धानको प्रतिवेदन पर्खिरहेकाले आफूले कसैलाई सीधा आरोप नलगाएको थापाले स्पष्ट पारे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्त्येष्टि र परिवारको स्थिति

छोरा सुनिल थापाको अन्त्येष्टिको नौ दिनपछि पिताको यो भिडियो भनाइ सार्वजनिक भएको हो। सुनिलको जुलाई १३ मा न्यूयोर्कको वान्टाघस्थित एक फ्युनरल होममा अन्तिम संस्कार गरिएको थियो, जहाँ परिवारका सदस्य, साथीभाइ र समुदायका अगुवाहरू हेम थापा र उनकी पत्नी माया थापासँगै शोकमा सहभागी थिए।

श्रद्धाञ्जलीपछि सर्जेन्ट थापाको पार्थिव शरीरलाई दाहसंस्कारका लागि लगिएको थियो र फार्मिङडेलस्थित लङ आइल्यान्ड नेसनल सेमेटरीमा सैन्य सम्मानका साथ ‘ट्याप्स’ धुन र सलामी अर्पण गरिएको थियो।

न्यूयोर्कको वान्तागमा आयोजित अन्त्येष्टि सेवाका क्रममा अमेरिकी सेनाका सार्जेन्ट सुनिल थापाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै परिवारका एक सदस्य। (तस्बिर: राजन काफ्ले / खसोखास)

हेम र माया थापाका कान्छा छोरा सर्जेन्ट थापा हालै पदोन्नति भएको पारिवारिक स्रोतको भनाइ छ। परिवारका सदस्यहरूले सैन्य अधिकारीहरूले न्यूयोर्कमा आफूहरूलाई भेटेको तर थोरै मात्र विवरण दिएको बताएका छन्। औपचारिक अनुसन्धान पूरा हुन नौ महिनासम्म लाग्न सक्ने उनीहरूले जानकारी दिएको हेम थापाले खसोखासलाई बताए। परिवारले अहिलेसम्म मृत्युको प्रमाणपत्र, मृत्युको सूचना वा अन्य कुनै आधिकारिक कागजात प्राप्त नगरेको जनाएको छ।

हेम थापा र माया थापा गैर-नाफामूलक संस्था ‘हेममाया फाउन्डेसन’का संस्थापकका रूपमा स्थानीय नेपाली समुदायमा परिचित व्यक्तित्व हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com